२९ आश्विन २०८३, बिहिबार

कथा : भोलि दुई दिन …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BB-shresthaतीव्र गतिमा मोटरसाइकलमा आइरहेको साथीलाई रोकेरे सोधें– ‘हैन कता हो ? एकछिन् बसौं न, यसो छलफल गरौं ।’ तत्कालै उसले जवाफ दियो– ‘हैन एकदिन बसौंला, अहिले निकै हतार छ ।’ हतारिएको साथीलाई रोक्दै सोधें– ‘हैन बसौं न बसौं एकछिन, एउटा कुरा गर्नु छ के ।’ साथीले स्पष्टिकरण दिँदै भन्यो– ‘अहिलेलाई एकदम हतार छ, पार्टी नभेटी भएको छैन ।’ खै कस्तो पार्टी भनेको हो बुझ्ने र बुझाउने प्रयत्न भएन । साथीको एकोहोरो ढिपीका अगाडि मेरो केही चलेन, साथीले जान्छु भन्दै हात हल्लायो । मैले पनि केही छोटो प्रतिक्रिया दिएँ । लाग्यो यो साथी जस्तै मलाई पनि कत्ति फुर्सद छैन । तर पनि नभेटी नहुने भए पनि अहिले त्यसै भयो । खैर ।

‘नमस्कार नेताज्यू’, दस औंला जोडेर नमस्कार गरें । नेताज्यू दाहिने हात हल्लाउँदै मुसुक्क हाँस्नुभयो । ‘नेताज्यू, नेताज्यू एकछिन हजुरसँग कुरा गर्नु थियो ।’ नेताज्यू केहीबेर अडिँदै भन्नुभयो– ‘के थियो भन्नु न’, अँ नेताज्यू मैले भनेको थिए नि, त्यो कुरा के भयो ? ‘कुन कुरा रे, फेरि मलाई एकचोटि सम्झाउनु त ।’ मैले पुनः सम्झाएपछि नेताज्यूले भन्नुभयो– ‘ए–ए त्यो कुरा, हुन्छ हुन्छ मैले भनेको छु, हुन्छ, पिर नमान्नु मैले भनेको छु भैहाल्छ नि, तपाईं नआत्तिनु न, भैहाल्छ नि त्यो काम । ल म लागें है । मेरो अहिले मिटिङ छ । केही दिनपछि भेटौं न है ।’ मैले पुनः भनें– ‘नेताज्यू फोन पनि उठ्दैन ।’ उहाँले तत्कालै जवाफ फर्काउनुभयो– ‘हैन कहिले काहीँ त्यस्तै हो, बढी व्यस्त भइन्छ ।’ नेताज्यू बाटो लाग्नुभयो । हिजोसम्म नभै नहुने नेताको यो व्यवहार देख्दा अचम्मै लाग्यो । तैपनि पछि लाग्नु नै थियो ।

नजिक गएर हेरें, आँशु रोकिएन, वेग्रल्ती झरिरह्यो । थाम्न सकिँन । भक्कानिएर रोएँ, साथी पनि नजिकै आँशुका धारा बगाउँदै रोयो । असंख्य मानिस गुनगुन र खासखुस गरिरहेका थिए, कानमा गुन्जिन पुग्यो, भोलि दुई दिन हुन्छ … ।

हिजो हामी सँगै खेल्थ्यौ, सँगै सुत्थ्यौ, सँगै हिड्ने, सँगै रुने साथी, हाम्रो मित्रता देखेर डाहा गर्नेहरु धेरै थिए । अचानक साथीको आमा रहनुभएन, म रातिराति सान्त्वना दिन गाउँ गएँ । त्यसपछि सिधै हस्पिटल, लाग्यो उसकोे आमा मेरो पनि आमा हो । मनमा धेरै पीडा बर्सन थाले । आफूलाई सम्हाल्दै साथीलाई सम्हाल्न थालें, शिक्षित साथी भए पनि आमा आमा नै हुनुहुन्थ्यो । मलाई त्यो अवस्था देखेर धुरुधुरु रुन मन लाग्यो । सँगै रोयौं, आत्मामा गडिरह्यो । भौगोलिक दुरी टाढा भए पनि म त्यहाँ गईरहने, त्यहीँ बस्ने । आत्मियता अति घनिष्ठ । उमेरमा नै आमा जानुभयो । तैपनि सहनुको विकल्प थिएन । सम्हालियौं । त्यसको लामो समयसम्म पनि उही व्यवहार । व्यवहारमा कुनै पनि किसिमको परिवर्तन थिएन । सकेको सहयोगले एक अर्कामा समाहित भएका थियौं । लाग्दथ्यो उसलाई चोट लाग्दा मलाई दुखेको थियो ।

समय वित्दै गयो । एकदिन साथीहरुसँग छलफलमा थिएँ । एक्कासी मेरा बारेमा विभिन्न प्रकारका लान्छना लागे । बाध्यता र विवसतामा रम्नुको विकल्प थिएन । आरोप र प्रत्यारोप चल्यो । लाग्यो आफ्नो कर्म भोग्दैछु । त्यतिखेर झसंग भएँ– जतिखेरा मैले मेरो अभिन्न मित्रका हस्तलिखित अक्षरहरु म माथि खनिरहेका थिए । सोच्नै सकिँन । आरोपले जति दुःखी थिएँ, साथीको त्यो अक्षरले झन मुच्र्छित बनायो । विश्वास नै लागेन । पटक–पटक घोरिएर सँगै पढेर लेखेका शब्दहरु नियालें । तिनै अक्षर, जुन अक्षर मेरा आफ्ना कपीहरुमा चम्किरहेका थिए । तिनै अक्षर आज मलाई झन् घायल बनाउन भूमिका खेलिरहेका छन् । केहीछिनको मौनतापछि एउटा साथीले यो सबैको मतियार उही साथी भएको सुनायो । सहनँ सकिन । लाग्यो यी कान त्यही सुन्नका लागि बाँकी थियो ।

त्यहाँबाट आएर सोधें– ‘यो सबै के गरेको ?’ उसले भन्यो– ‘यो सबै तेरै कारणले हो, मलाई के भन्छस् ।’ ‘अनि यो कुरा मलाई पहिला पनि भन्न सक्थिस् नि, तँलाई भेट्न कहाँ जाने, कहिल्यै भेट नै हुँदैनग्यो । अनि तैंले नै लेख्नुपर्ने किन ? अरुले जानेनन् । आहा यो संसारमा तँ जस्तो पढेको व्यक्ति कोही पनि रहेनछन् हैन ?’ उ नाजवाफ भयो । रातोपिरो हुँदै निक्लेर हिँड्यो । सोचे हिजोको साथी आज रहनेछ, संसारमा जन्मदिने आमाले त छोडेर जानुभयो भने उसले मलाई धोका दिनु सांसारिक निरन्तरताको उपज सम्झें । उसले कसरी लियो, भलै उसैले सोचोस् ।

‘हँुदैन हजुर, त्यो त फलानोका मान्छे, कहाँ हुनु । त्यो जस्तो योग्य साथी जति पनि छन् नि, सहयोग चाहिँ हामीले गर्ने अनि योग्यता र इमान्दारिताको कुरा गर्ने ?’ साथीहरु पड्किरहेका थिए । ‘त्यसो गर्ने भए हामी तपाईंलाई अबदेखि साथ दिँदैनौं ।’ विचरा निर्लज्ज हुँदै लाचारी प्रकट गरिरह्यो ।

‘हजुर एकछिन आउँ न’, यहाँ के गर्ने भन्ने बारेमा राय सल्लाह दिनुप¥यो । ‘त्यो त हुन्थ्यो तर के गर्नु एकछिन् पनि फुर्सद छैन । पसलमा कोही पनि छैन, म मात्र छु । एकछिनपछि आउँछु नि हुन्न ?’ उताबाट फोन राख्यो, बाटो हेरिरह्यौं, उ आएन । उसलाई फेरि फोन गरेर आउन भनें । ‘अब एकछिन् है म आउँदै छु । यहाँ कोही पनि नभएर हो ।’ लामो समयको अन्तरालमा पनि नआएपछि वहस त्यत्तिकै सकियो । अनि उसले भन्यो, एकछिन् पनि पर्खन सकिँदैन मान्छेलाई कति हतार छ । त्यस्तो पनि कुरो हुन्छ, एकोहोरो बोलिरहयो । सवै घोसोमुन्टो लाएर सुनिरह्यौं ।

‘हैन एकछिन त्यहाँ जाउँन’, मैले आग्रह गरें । ‘होईन मलाई त एकछिन् पनि फुर्सद छैन, मान्छेलाई कहाँ कहाँ जानुछ ।’ नजिकको घरमा नै दिन बिताउने भाइको यो जवाफले मलाई नाजवाफ बनायो । लाग्यो यो कहाँ जाँदैछ । सधै हतार मात्र गर्दछ । सोध्ने प्रयत्न कहिल्यै सफल भएन, सधैं हतारो मात्र । लाग्यो हुन त मान्छेको व्यक्तिगत जिन्दगीको के कुरा, अचेल सोधे पनि जवाफ सकारात्मक आउने होइन । एक्कासी झल्यास्स ब्युँझिएछु । सवै कुरा सपनामा पो देखेको रहेछु । चिट्चिट् पसिना आयो । सोचें अहिल्यै उठेर कहाँ जाउँ, सबै मस्त निन्द्रामा । सपना पनि कस्तो कस्तो देखेछु । उठेर कहिँ जाउँ भने अहिल्यै गएर कहाँ जाने, मान्छेले पनि के भन्लान् निन्द्रा पटक्कै लागेन । मनभरि कुरा खेलिरहयो । विहानै उठेर उता जान्छु, त्यसपछि अफिस जान्छु, अफिसमा केहीछिन् काम गरेर गाँउ जान्छु, त्यहाँ के–के समस्या होलान्, कतिबेला फर्कने होला ?

थकित मनस्थिति लिएर फर्किरहेको थिएँ । बाटोमा साथीले रोक्यो । मैले भनें– ‘मलाई एकदम हतार छ ।’ उसले पनि झर्कंदै भन्यो– ‘जाउँ न जाउँ हिड् ।’ जवर्जस्ती मोटरसाइकलमा चढ्यो, अनि सिधै लिएर हिँड्यो । त्यहाँ त सवै जना रोइरहेका थिए । म अचम्ममा परें । सबै स्तब्ध । नजिक गएर हेरें, आँशु रोकिएन, वेग्रल्ती झरिरह्यो । थाम्न सकिँन । भक्कानिएर रोएँ, साथी पनि नजिकै आँशुका धारा बगाउँदै रोयो । असंख्य मानिस गुनगुन र खासखुस गरिरहेका थिए, कानमा गुन्जिन पुग्यो, भोलि दुई दिन हुन्छ … ।