१५ कार्तिक २०८३, आइतबार

सार्क राष्ट्रका विदेश मन्त्रीसहित विशिष्ट पाहुनाको बिदाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma-Swraj

पोखरा, ५ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पोखरा आउनुभएका सार्क सदस्य राष्ट्रका विदेश मन्त्रीसहित सहभागी पाहुनाको आज पोखरामा बिदाइ गरिएको छ ।

नेपालको इतिहासमा नै पहिलोपटक राजधानी काठमाडौँ बाहिर पोखरामा भएको बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मैमुन, श्रीलङ्काका विदेशमन्त्री मङ्ला सामरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज पोखरा आउनुभएको थियो ।

पोखरा आएसँगै मन्त्रिपरिषद्को बैठक, विभिन्न द्विपक्षीय र बहुपक्षीय भेटघाटमा व्यस्त रहनुभएका मन्त्रीहरू बैठक सम्पन्न गरी आज फर्कनुभएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज भारतबाट आफ्नै एयर फोर्सबाट पोखरा आउनुभएको र आज सोही विमानबाट भारत फर्कनुभएको परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी गराउनुभयो ।

अन्य सार्क राष्ट्रबाट आउनुभएका विदेश मन्त्रीसहित पाहुनाहरू काठमाडौँ भएर स्वदेश जाने कार्यक्रम भएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले बताउनुभयो ।

विशिष्ट पाहुनालाई पोखरा विमानस्थलमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, नायब शिष्टाचार महापाल राजाराम बर्तौला, क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालालगायतले बिदाइ गर्नुभएको थियो ।

पोखरामा सम्पन्न बैठकमा सार्कको प्रभावकारी भूमिका स्थापित गर्ने, नेपालमा सफल भएको सामुदायिक वन कार्यक्रम सार्क राष्ट्रमा सञ्चालन गर्ने, यस क्षेत्रको गरिबी निवारण गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण गर्ने, आठै राष्ट्रलाई जोड्ने यातायात सञ्जाल विस्तार गर्नेलगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो ।

बैठकले सार्कको १९औँ सम्मेलन, २०१६ को नोभेम्बर ८, ९ र १० तारिखमा पाकिस्तानमा हुने निर्णय गरेको छ ।

सार्क विपद् व्यवस्थापन केन्द्र भारतको राजधानी नयाँ दिल्लीमा राख्ने निर्णय गरेको छ भने प्राकृतिक व्यवस्थापन केन्द्रलाई पाकिस्तानको इस्लामावादमा रहेको ऊर्जा केन्द्रसँग गाभ्ने निर्णय गरिएको छ ।

त्यस्तै सार्क सम्मेलनको निरन्तरताका लागि बैठकले प्रत्येक दुई वर्षको नोभेम्बरमा सार्क शिखर सम्मेलन गरिने निर्णय पनि पोखरा बैठकले गरेको छ । रासस