तिरुप्पुर, २ चैत । भारतको तमिलनाडुमा राजनैतिक रूपमा शक्तिशाली थेवर समुदायकी युवतीसँग विवाह गर्ने एक २३ वर्षीय दलित युवकलाई तिरुप्पुर जिल्लामा कुटपिट गरेर बीच बजारमा हत्या भएको छ ।
तेस्रो वर्षका इञ्जिनियरिङ विषयमा विद्यार्थी वी. शंकर र १९ वर्षीया कौशल्या आइतबार साँझ तिरुप्पुर जिल्लाको उदुमलाईपेट्टई शहरमा घुम्दै थिए । अचानक चार जनाले घुम्दै गरेको अवस्थामा शंकरमाथि सांघातिक आक्रमण गरेका थिए ।
आक्रमणकारीहरू मोटरसाइकलमा आएका थिए । उनीहरूको पहिचान हुन सकेको छैन । शंकरको हत्यापछि उनकी पत्नी कौशल्यालाई पनि कुटपिट गरिएको समाचारमा उल्लेख छ । कुटपिटबाट कौशिल्या पनि गम्भीर घाइते भएकी छिन् ।
आक्रमणकारीले शंकरलाई धारिलो हँसियाले पटक पटक प्रहार गरेका थिए । गम्भीर घाइते शंकरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
शंकर र कौशल्याको विहे आठ महिना अगाडि मात्रै भएको थियो । कौशल्याको माइती पक्ष आफ्नो जातभन्दा तल्लो जातको व्यक्तिसँग विहे गरेको भनेर रिसाएको थियो । शंकरसँग बदला लिन माइती पक्षले हत्या गराएको प्रहरी आशंका छ ।
कौशल्याको माइती पक्षले शंकरको हत्या गरेको प्रहरीले प्रराम्भीक अनुमान पनि गरेको छ । थेवर समुदाय तमिलनाडुको सत्तारुढ पार्टी अन्नाद्रमुकसँग नजिक मानिन्छ । राजनीतिक कारण शंकरका हत्याराले छुटकारा पाउन सक्ने भन्दै स्थानीय पत्रिकाहरूले समाचार सम्प्रेषण गरेका छन् । एजेन्सी















प्रतिक्रिया