काठमाडौं । दोस्रो संविधान सभा निर्वाचनमा अपमानजनक हार व्यहोरेको पार्टी हो, एमाओवादी । यही पार्टीका अध्यक्ष प्रचण्ड हिजोआज पार्टीलाई पहिलो शक्ति बनाएर देखाउने हुँकार गर्दै हिंडिरहेका छन ।
प्रचण्डले दावी गरे जस्तै उनको पार्टी अवको निर्वाचनमा पहिलो राजनीतिक दल बन्छ या बन्दैन ? यसको जवाफ आउने दिनहरुमा जनताले देलान नै । तर, प्रचण्डको यही कुरालाई कुरीकुरी गर्ने गरी एमाओवादी मुख्यालयमा एउटा घटना भएको छ । जहाँ प्रचण्ड स्वयंले इतिहासमै पहिलोपटक अपमानबोध र बेइज्जती दुवै सहनु परेको छ ।
प्रसंग, २०७२ फागुन २३ गते एमाओवादी मुख्यालयमै आयोजना गरिएको एमाओवादी निकट अखिल नेपाल खेलकुद महासंघको पहिलो राष्ट्रिय सम्मेलनको हो । कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । स्रोतका अनुसार, प्रमुख अतिथिका रुपमा निम्त्याइएका प्रचण्ड निर्धारित समयमै कार्यालय पुगेका थिए । प्रचण्डको त्यहाँ भव्य स्वागत पनि भयो । प्रचण्डले केहीबेर खेलकुद सम्वद्ध व्यक्तिहरुसँग भलाकुसारी पनि गरे । टिकेप्रथाबाट आफ्ना संगठनहरुको नेतृत्व चयन एमाओवादीका लागि नयाँ होइन ।
यसैगरी अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको सदसइ र पदाधिकारीको नाम पढ्ने योजना अनुरुप प्रचण्डलाई नाम पढ्न लगाइयो । १५१ सदस्यीय केन्द्रीय सदस्यको नाम पढिसकेपछि प्रचण्ड पदाधिकारीको नाम पढ्न थाले । अध्यक्षमा युवराज लामाको नाम पढ्न मात्रै प्रचण्डले के भ्याएका थिए, हल एकाएक अशान्त बन्यो ।
स्रोतका अनुसार अन्य नाम पढ्दा शान्त भएर बसेका सहभागी युवराज लामाको नाम सुनेलगत्तै आक्रोसित बन्न पुगे । सहभागीहरुले युवराज लामाविरुद्ध नाराबाजी गर्दै तत्काल हल नै छाडेका थिए ।
सहभागीहरुले हल छाडेपछि आफ्नै पार्टीको मुख्यालयमा आयोजित कार्यक्रमको हल रित्तिएको थियो, र त्यही रित्तिएको हलमा अपमान महसुस गर्दै प्रचण्ड टोलाइरहेका थिए, जसलाई युवराज लामालगायत केही एमाओवादी केन्द्रीय नेताहरुले साथ दिएको समाचार साँघु साप्ताहिकले छापेको छ । बाहिर युवराज लामाको भण्डाफोर गर्दै नाराबाजी हुन थालेपछि प्रचण्ड कार्यक्रमस्थलबाट बाहिरिएका थिए भने युवराज लामा पनि भागेका थिए ।















प्रतिक्रिया