काठमाडौं, १ चैत । वैदेशिक रोजगार विभागले करिब अढाइ वर्षअगाडि काठमाडौं प्रहरीलाई पठाएको पत्र काठमाडौं बूढानीलकण्ठका वैदेशिक रोजगार व्यवसायी केशबहादुर गुरुङको जाहेरीमा वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई डाक्टर ल्हारक्याल लामा, छिरिंग डोल्मा लामा र फुर्पा लामालाई पक्राउ गरेर बुझाइदिन अनुरोध गर्दै लेखेको पक्राउ पुर्जीसहितको पत्र वर्षौंदेखि महानगरीय प्रहरी परिसरमा अलपत्र रहेको पाइएको छ ।
वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर सञ्चालक गुरुङ र सयौं सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा विभागले २०७० साल भदौ १० गते गरेको अनुरोधलाई काठमाडौं प्रहरीका तत्कालीन प्रमुख एसएसपी सुबोध घिमिरेले नजरअन्दाज गरेका कारण कार्यान्वयन हुन नसकेको वैदेशिक रोजगार विभाग स्रोतको दाबी छ । आर्थिक दैनिकले समाचार छापेको छ ।
गुरुङको जाहेरी सम्बन्धमा वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले ल्हारक्याल (डा. लार्केल) लामासहित उनका आफन्तहरु खिना लामा, फुर्पा लामा र छिरिङ डोल्मा लामालाई वैदेशिक रोजगार कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी प्रहरी सुरक्षाका साथ विभागमा उपस्थित गराइदिन आग्रह गरेकोमा तत्कालीन एसएसपी घिमिरेले तीनपुस्ते नखुलेको हास्यास्पद कारण देखाउँदै ल्हारक्याललाई नै संरक्षण गरेको आरोप जाहेरीकर्ताको छ ।
घिमिरेको सरुवापछि काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएका एसएसपीद्वय रमेशप्रसाद खरेल र उत्तमकुमार कार्कीले पनि ल्हारक्यालविरुद्धको उक्त पक्राउ पुर्जी सम्बन्धमा ध्यान दिएनन् ।
आइतबार ल्हारक्यालको पक्राउपछि हाल काठमाडौं प्रहरीको कमाण्ड सम्हालिरहेका एसएसपी विक्रम सिंह थापालाई सोबारे जिज्ञासा गर्दा सो विषयमा आफूलाई जानकारी नरहेको बताउँदै वैदेशिक रोजगार विभागबाट सो किसिमको पत्र प्राप्त भएको भएमा हाल जारी रहेको अनुसन्धान सम्पन्न गरेपछि उक्त विषयलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।
अपच्र्युनिटी म्यानपावरका सञ्चालक गुरुङले वैदेशिक रोजगार विभागमा दर्ता गरेको जाहेरीमा ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसनबापत आफूसँग पटक–पटक गरी करिब सवा २ करोड रुपैयाँ लिएर ठगी गरेको उल्लेख छ ।
ल्हारक्यालले वैदेशिक रोजगारीमा मकाउका लागि हाउस किपिङ, क्लिनर, वेटर र सुुरक्षा गार्डमा ५ सय १० युवाका लागि भिसा प्रक्रिया र कमिसनबापत आफूसँग पैसा बुझेर ठगी गरेको दाबी गर्दै प्रमाणको रुपमा डोल्मा लामालाई दिएको ३३ लाख ५४ हजार रुपैयाँ, हङकङबाट पठाएको १ करोड ५४ लाख रुपैयाँ र ग्लोबल बैंक, ज्ञानेश्वर शाखाबाट डोल्माले उनको खाताबाट निकालेको १३ लाखको चेकको प्रतिलिपि पेस गरेका छन् ।
ल्हारक्यालको समूहले भिसा प्रक्रियाबापत २०६८ कात्तिक १५ मा ११ लाख ९८ हजार हङकङ डलर (१ करोड ५४ लाख रुपैयाँ) वेस्टर्न युनियनमार्फत पठाइदिएको रसिदसमेत जाहेरीसँगै पेस गरेका छन् ।
मकाउ र चीनका सरकारी अधिकारीसँग ल्हारक्यालको राम्रो सम्बन्ध रहेको र कामदारको डिमान्ड ल्याउन सजिलो हुने भन्दै गुरुङका नाममा रहेको अपच्र्युनिटी म्यानपावरका नाममा कोटा मगाउने भन्दै ल्हारक्याल समूहले सोही म्यानपावर प्रयोग गरेर ठगी गरेको आरोप गुरुङको छ ।
















प्रतिक्रिया