
– नरेन्द्रसिह कार्की
दार्चुला, २९ फागुन । राप्लाको दुम्लीङबाट प्रहरीले हिउँ चितुवाको छाला र हड्डीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कालीकोट जिल्ला जुगेडा ८ का वर्ष ३९ का जनक शाही र सुनसेरा घर भएका कैलाश पार्की रहेका छन् ।
तिब्बत ढुवानीको लागि दुम्लीङ भण्डार गर्ने क्रममा प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । चितुवाको एक छाला र एक भारी हड्डीसहित शाही पक्राउ परेको स्रोतले जनाएको छ ।
प्रहरीले चितुवाको छाला र हड्डी जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको छ । स्रोतका अनुसार प्रहरीले शाहीलाई दुम्लीङबाट सुनसेरासम्म पुर्याएको छ । शनिबार रातीसम्म सदरमुकाम खलंगा पुर्याउने तयारी भएको छ ।
पटक पटक तस्करी भइरहने तिंकर नाकामा यो वर्षको यो पहिलो घट्ना हो । तस्करले नेपाल र भारतको भूमी भएर तिब्बतसम्म छाला हड्डी ओसार्ने गर्दछन् । हिउँ पग्लने वित्तिकै तिब्बत लिने उद्देश्यले अहिले तस्करले सामान ढुवानी गर्ने गर्छन् ।
तस्कर नियन्त्रणमा लिएकोबारे जिल्ला प्रहरी प्रमुख सुशिलसिह राठौरले स्वीकार गरेका छन् । सामान सहित खलंगा पुर्याएपछि पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी गराउँछु उनले भने ।












प्रतिक्रिया