– गणेश आचार्य
दाङ, २९ फागुन । दाङको घोराहीमा जारी महोत्सवमा डियुटिमा रहेका सशस्त्र प्रहरी र सादा पोशाकमा रहेका प्रहरीबीच झडप भएको छ ।
प्रत्यक्षदर्शी दिनेश केसीका अनुसार बेलुकी करिब ६ बजेतिर खुमन अधिकारीले गीत गाउँदै गर्दा सादा पोशाकमा रहेका जनपथ प्रहरीले होहल्ला गरेपछि सशस्त्र प्रहरीले शान्त रहन आग्रह गरेको थियोे । तर, जनपथ प्रहरीले आफूहरू पनि प्रहरी भएको भन्दै झन् होहल्ला गर्दै सशस्त्र प्रहरी बिरूद्ध जाइ लागेका थिए ।
सादा पोशाकमा रहेका जनपथ प्रहरी आफूमाथि जाइ लागेपछि सशस्त्र प्रहरीले बल प्रयोग गरेको थियो । सशस्त्र प्रहरीले राइफलको कुन्दाले हान्दा जनपथ प्रहरीका हवल्दार चन्द्रराज गिरी घाइते भएका छन् । गिरीको टाउको फुटेको छ ।
सिविलमा रहेका हवल्दारको टाउको फुटेपछी युनिफममै रहेको जनपथ प्रहरीको टोली सशस्त्र प्रतिवाद गर्न पुगेको र सशस्त्रको थप बल घटनास्थल पुगेपछि जनपथको टोली पछि हटेको प्रत्यक्षदर्शी केसीको भनाइ छ ।
जिप्रका दाङका प्रमुख एसपी कुबेर कडायतले प्रतिक्रिया दिन चाहेनन् । उनले महोत्सवको भिडमा जनपथ र सशस्त्र प्रहरीबीच सामान्य धकालाधकेल मात्रै भएको भन्दै फोन काटे ।
सशस्त्रका डिएसपी जीवन भण्डारी सँग भने सम्पर्क हुन सकेन । महोत्सव आयोजक दाङ उद्योग बाणिज्य संङ अध्यक्ष हेमराज बन्जाडेले सशस्त्र र जनपथ प्रहरीबीच सामान्य धरपकड भएको भन्दै भोलिदेखि हतियारसहितका प्रहरीलाई महोत्सव स्थलमा प्रवेश निषेध गरिएको जानकारी दिए ।
तस्बिर: निमुसंगम घर्तीबाट ।












प्रतिक्रिया