१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको उपाधि भारतलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyball-e1424940502682चितवन, २७ फागुन । चितवनको पटिहानीमा चलेको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबलको उपाधि भारतको बिएमडब्लु क्लबले जितेको छ ।

बुधबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपिसी) लाई ३–१ ले पराजित गर्दै बिएमडब्लुले उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै बिएमडब्लुले रु एक लाख ५० हजार नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले रु एक लाखमा चित्त बुझाएको आयोजक पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढार्इंले जानकारी दिनुभयो ।

बेस्ट अफ फाइभका आधारमा खेलाइएको फाइनल खेलमा बिएमडब्लुले पहिलो, तेस्रो र चौथो सेटमा जित हात पा¥यो । प्रतिस्पर्धात्मक पहिलो सेटमा बिएमडब्लुले २५–२२ को जित निकाल्यो । तर, दोस्रो सेटमा एनपिसीले २५–१७ को सहज जित निकाल्यो ।

बाक्लो नेपाली दर्शकको साथ पाएपनि आपसी तालमेल मिलाउन नसक्दा एनपिसीले त्यसपछिका दुवै सेट गुमायो । बिएमडब्लुले तेस्रो र चौथो सेट २५–१६ र २५–२१ ले जित्यो ।

यसअघि, बुधबार सम्पन्न अर्को खेलमा बङ्गलादेशको वाटर डेभलपमेन्ट बोर्ड (डब्लुडिबी) लाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान प्राप्त गरेको छ ।

लगातार दुई सेट जितेको एपिएफले तेस्रो सेट गुमाएपनि चौथो सेटमा उत्कृष्ट पुनःआगमन गर्दै जित हात पारेको हो । एपिएफले २५–११, २५–१६, १८–२५ र २५–१९ को सेटमा जित हात पारेको हो ।

गत वर्षको विजेता एपिएफ सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । तेस्रो स्थानसँगै एपिएफले रु ५० हजार पुरस्कार पाएको आयोजक पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिनुभयो ।

महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलमा कुल छ टिम सहभागी थिए । त्यसमध्ये भुटानको साम्ची स्पोर्टस् क्लब र नेपाल आर्मी क्लब समूह चरणबाटै बाहिरिएका थिए ।

यही फागुन २३ देखि चितवनको पटिहानीमा भलिवल सुरु भएको थियो । नेपालका तीन विभागीय टिमसहित भारत, बङ्गलादेश र भुटानको टोलीसमेत सहभागी थियो ।

यहाँ क्लब स्थापना भएदेखि नै भलिबल प्रतियोगिता भएकोमा यसपटक राजधानी बाहिरकै पुरुषबीचको पहिलो ठूलो खेल भएको दाबी आयोजकको छ । रासस