
काठमाडौं, २६ फागुन । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल बुधबारदेखि मधेस प्रवेश गरेको छ ।
यसअघि आन्दोलनका बेला तराईमा तीन महिने जागरण अभियान नै चलाएको युवा संघ अहिले भने सहयोग हातहरु बोकेर मधेस पसेको हो ।
बुधबार अध्यक्ष राजीव पहारीको नेतृत्वमा मधेस पसेको युवा संघले सिरहाका आगलागी पीडितलाई सहयोग गरेको छ ।
आन्दोलनका बेला मधेसी जनताको मन जित्न चर्का नारा दिएका मधेसवादी दलले सहयोग गर्नुपर्ने बेला राजधानी बसेर वेवास्ता गरेपछि सहयोगी हात लिएर युवा संघ पुनः मधेसतिर लागेको हो ।

सिरहाबाट युवा संघका अध्यक्ष राजीव पहारीले टेलिफोनमा भने- पहिला हामी संविधानबारे फैलाइएको गलत भ्रम चिर्न मधेस आएका थियौं । अब हामी मधेसका गरिब, शोषित र पीडित परिवारलाई सहयोग गर्न आएका छौ ।

बुधबार युवा संघले सिरहाको विष्णुपुर कट्टी गाविसका अग्नीपीडितलाई सहयोग गरेको हो । फागुन ९ गते भएको भिषण आगलागीबाट कट्टीका ३२ घर ध्वस्त भएका थिए ।
उक्त गाविसमा युवा संघ नेपाल केन्द्रीय प्राकृतिक प्रकोप न्युनीकरण विभागले ३१ वटा घर परिवारलाई पाच लाख बराबरको राहत वितरण गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।

उनका अनुसार प्रत्येक घरलाई एक वोरा चामल, कम्बल, अस्थायी शौचालय, सिराक, डसना, पानी खाने भाडा लगायत सरसामन वितरण गरिएको छ ।
युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीको प्रमुख आतिथ्यतामा भएको उक्त राहत वितरणमा संघका उपाध्यक्षहरु दिलु पन्त, रमेश पौडेल, चन्द्र लामा, महासचिव किरण पौडेल, सचिव मञ्जु यादव, सिरहा नेकपा एमालेका अध्यक्ष प्रमोद यादव, युवा संघका सचिवालय सदस्य सञ्जीवकुमार झा लगायतले राहत वितरण गरेका थिए ।












प्रतिक्रिया