२९ आश्विन २०८३, बिहिबार

कथा : भासिएको आकास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sargam-bhattaraiकेही दिन भो मन खुशी छैन राहुलको । तारा एयरलाइन्सको विमान दुर्घटना भएर २३ जनाको देहावसान हुँदाको क्षण कति पीडादायक भयो होला ? पीडाले कति प्रताडित भए होलान यात्रु । मृत्युले २३ जनालाई एकैपटक जनाउ घन्टी दिँदा ती फक्रिनै नपाएका कोपिलाहरु कसो गरे होलान ? मनमा यस्तै यस्तै परिदृश्यहरुले उपस्थिति जनाइरहेको कुरा सुनायो मलाई । म पनि भावविभोर भएँ तर के नै गर्न सकिन्थ्यो र ?
राहुलको पनि जागिरै त्यस्तै सधैंजसो हावामा उडिरहनुपर्ने, आफू सँगसँगै यात्रुहरुको ज्यानको नैतिक जिम्मेवारी हुने । फेरि त्यसमाथि घरपरिवारको निरन्तर चासोको विषय चाहिँ उसकै जगिर बन्नुपर्ने ! नबनोस् पनि त कसरी ! चरी भन्दा पनि हलुका गरि हावामा उड्नु र उडाउनु कम्ति चुनौतीपूर्ण कहाँ हो र ?

हुनत हरेक काम चुनौतीपूर्ण छन्, एक दिन अवष्य मर्नुपर्छ । त्यसैले देशका लागि केही गर्नुपर्छ भन्ने भावले जहिले पनि उर्जा दिइरह्यो राहुललाई । जागिरबाट केही रकÞम समाजसेवाका लागि खर्च गर्ने मेरो सुझावलाई उसले एउटा मार्गदर्शनको रुपमा लिँदा मलाई लाग्थ्यो हामी पूर्वजन्ममै असल मित्र थियौं ।

‘कम अन राहुल, यू अलवेज थिंक अबाउट दि कन्ट्री । थिंक अबाउट योर बेटर लाईफ टू ! लाईफÞ ईज ब्युटिफूल ।’ कहिलेकाहिं हामी जमघट हुँदाको रोमान्टिक मूडमा केहीबेर ऊ टोलाउँदा मैले जहिले पनि उसको भावनात्मक मनलाई डाईभर्ट गरि बिषयवस्तु मोड्ने प्रयास गर्थें ।
राहुल साँच्चै नै वसन्त ऋतु जस्तै कोमल, खाईलाग्दो र अनुशासित मित्र हो मेरो । पहिलो पल्ट मैले आईएस्सी अध्ययनका क्रममा भेटेको थिएँ उसलाई । एउटा अन्तर्राष्ट्रिय गÞैरसरकारी संस्थाको जÞागिरमा म छिरेपछि उसको र मेरो भंट अलि पातलो भएको थियो । आज धेरै समयपछि भेट्दा हामी दुबै प्रफुल्ल थियौं ।

‘हेलो म्यान ! ह्वेयर आर यु लष्ट ? आर यु विद् मी ?’ मैले झपार्दा उ झसंग भएको मलाई याद छ । साँच्चै नै उ त हराएको रहेछ हाम्रो मित्रताको इतिहास सम्झेर ।

आज पहिलोपटक मेरै साथीले उडाएको जहाजमा जुम्ला जाँदै थिएँ म काम विशेषले । मध्यान्हको १२ः३५ मा जुम्लाको लागि प्रस्थान गर्नुपर्ने, मौसम त्यति अनुकुल पनि थिएन तर सबै तयारी भइसकेकाले उड़ान भर्ने निश्चित भो । राहुल र रोशन दुई जना चालक दल र हामी यात्रु ९ जना गरी ११ जना उड़्ने तयारी गर्यौं ।

नियमित जसो आकासमा उडिरहिन्थ्यो, त्यसैले कुनै त्यस्तो डर त लागेन । मलाई त अचम्मको अनुभूति भइरहेको थियो । गर्वले छाती प्रफुल्ल थियो । आफ्नै साथी पाइलट अनि उसले उडाएको जहाजमा सरर । तर कतिपय यात्रु डरले रातो पिरो देखिन्थे। सिट बेल्ट बाँध्ने आग्रह र उडानको सामान्य जानकारीपछि हामीले बिस्तारै जमिन छोड्यौं । तर अरु बेला जस्तो उ पटक्कै खुशी थिएन आज । त्यसैले घरमा फोन लगायो उड्नु पहिले । भोलि दिउँसो काठमाडौं फर्किने वाचा ग¥यो उसले ।

फागुनको पारिलो घाम, हल्का तुवालो र बादलको मौसम थियो । नेपालगन्ज शहर मनोरम देखिन्थ्यो । बिस्तारै उत्तरतर्फ हावामा हुईकियौं हामी ।

जुम्ला पुग्न धेरै समय थिएन, यात्रुहरु झ्यालबाट मनोरम दृष्य हेरिरहेका थिए । प्रकृतिले साँच्चै कति सुन्दर बनाएको छ नेपाललाई हगि ! मैले आफैसँग प्रश्न सोधें अनि जवाफ पाएँ– हो त दुलही जस्तै !

जहाजको ईन्जिनमा समस्या आयो । अब जुम्ला पुग्न सकिँदैन, तपाईहरु नआत्तिनोस है, एक्कासी एउटा कठोर तर सत्य आवाज सुन्नु पर्यो हामीले । सबैका नौ नाडी गले, हाम्रो मुटुको धड्कन बन्द भएजस्तै भयो ।

सिंगल ईन्जिन, प्रतिकूल मौसम, टावरसँगको सम्बन्धबिच्छेद र भौगोलिक विकटताले एकाएक सबैको आँखामा आँधीहुरी चलिरह्यो । तर उनीहरुले हामी यात्रुलाई सान्त्वना दिइरहेका थिए । हामी सबैको ज्यान उनीहरुकै हत्केलामा थियो । हामी सबै यात्रुमा रुवाबासी चल्यो । कोही भगवानको नाम त कोही बाबुआमा र छोराछोरीको नाम पुकार्दै हामीलाई बचाउनुस् हामीलाई बचाउनुस गर्दै थिए । अब बाँच्ने र बचाउने आशा झिनो मात्र थियो । सारा भगवानहरुलाई सम्झेर मैले पनि आँखा चिम्लिरहेँ ।

यात्रुहरु रोइरहेका थिए, चिच्याइरहेका थिए, सबैले बाँच्ने आशा मारिसकेका थिए । यस्तो कठिन घडीमा केही सान्त्वना र सहानुभूतिका कुरा त भन्नै पथ्र्यो । मलाई मेरो साथीले बचाउँछ भन्ने सोह्रैआना विश्वाश थियो । त्यसैले मैले पनि विश्वासका साथ भनें– नआत्तिनोस् केही हुँदैन ।

तपाईंहरु नआत्तिनुस हामी मरेरै भए पनि तपाईहरुलाई बचाउने छौं । प्लिज धैर्य गर्नुस, उनीहरुले लगातार सान्त्वना दिइरहे, तर बाँच्ने आश त कहाँ पो थियो र ?

इन्जिनमा देखिएको गम्भीर समस्याको एउटै मात्र उपाय फोर्सÞ ल्यान्डिङ थियो । तर त्यो विकट ठाउँमा कतै ल्यान्डिङ गर्ने उपाय थिएन, तर सास रहुन्जेल आस रहनेरहेछ । सुरक्षित अवतरणका हजारौं प्रयास गरिरहेका थिए उनीहरुले तर अझै कुनै भनेजस्तो ठाउँ भेटिएको थिएन ।

मन हारेकै थिएन, त्यसैले लगातार प्रयास जारी गरे उनीहरुले । उनीहरुकै आशा र भरोसामा जीवनको भीख मागिरहेका हामी यात्रुलाई आफू मरेरै भए पनि बचाउनु आफ्नो पेशाको धर्म हो भन्ने राहुलको विचार कति महान् रहेछ भन्ने मैले बल्ल बुझेँ ।

चित्कार जारी थियो । त्यो चित्कार त उनीहरुमा पनि अवष्य थियो होला । तर यात्रुको अभिभावक भएकोमा चिच्याउनुभन्दा बाँच्न सक्ने आधार चियाउनु थियो । त्यही प्रयासमा निरन्तर लागिरहे उनीहरु । सानो फाँटको कहिले वल्लो त कहिले पल्लो तर्फ हामी अनायास मच्चिरह्यौं, एक चिम्टि सासको आशमा । जीवन कति महत्वपूर्ण हुँदो रहेछ, बल्ल थाहा हुँदै थियो ।

अन्ततः जीवन बाँच्न पाइने मोडमा हामी आईपुग्यौं । बाँच्ने झिनो आधार देखियो, विकट पहाडको एउटा गहूँबारीमा । आकस्मिक ल्यान्डिङ गर्ने निधो गरे उनीहरुले । हामीलाई निरन्तर सहानुभूति दिँदै । मनमनै मेरो साथीलाई धन्यवाद दिईरहें मैले अनि भगवानलाई पनि ।
अन्ततः चील घुमेझै फनफनी घुमेपछि जमीनमा घिसारेर जहाजÞ बिसाउन सफल भए । तर नजिकैको कान्लामा जहाज नराम्रोसँग ठोक्कियो । अगाडिको भाग भाँच्चिएर रोशन र राहुल दुबैको ज्यानमाथि खनियो । म अचेत जस्तै थिएँ । मलाई आफ्नो पीडाभन्दा मेरै अनन्य मित्र राहुल र उसको सहकर्मी साथीको थियो ।

उठेर उनीहरु नजिक जान खोजें, सहयोगका लागि चिच्याउन खोजें तर आवाज निस्कन सकिरहेको थिएन । म उठ्न सकिनँ, केही यात्रुहरु विस्तारै बाहिर निस्कन खोजेको देखें ।

ल, प्लिज मेरो साथीलाई बचाउनुस्, प्लिज गाउँलेहरुलाई खबर गर्नुस । मैले सासै सासले सहयोगको याचना गरिरहेको थिएँ । मेरै आँखाका अगाडि आफ्नो अनन्य मित्र मृत्युपथमा हिँडिरहेको टुलुटुलु हेर्नुपर्दा म आफैंलाई धिक्कारी रहेको थिएँ । केही गर्न नसक्दा । मेरै आँखा अगाडि जहाजको ठूलो टुक्राले च्यापिएका दुई जना होनहार युवाहरु रक्तश्रावले छट्पटाइरहेका थिए ।

राहुलले म तिर हेरेर भन्दै थियो– तपाईंहरु सबैजना सकुशल हुनुहुन्छ नि ? ल हेर्नुस हामी मरेर तपाईंहरुलाई बचायौं । यसो भन्दा मेरो मन भक्कानिएर आयो ।

म बाहिर निस्कन खोजेँ तर सकिन । एकैछिनमा गाउँलेहरु आईपुगे र मलाई बाहिर निकाले । मैले पाइलटहरुको ज्यान बचाईदिन याचना गरिरहें ।

प्लिज हेलिकोप्टर बोलाउनुस्, उनीहरु बाँच्छन, प्लिज रगत बग्न रोक्ने केही उपाय गर्नुस, .. म एकोहोरो बरबराईरहेको थिएँ ।
अन्ततः जे नहुनु थियो, त्यही भयो । एक होनहार पाइलट रोशन छटपटाउँदै आफ्नो प्राण त्याग गरेको यी आँखाले हेर्नुपर्यो । हेर्दा हेर्दै एउटा आकास भासियो ।

म राहुलको नजिक गएँ, मेरो हात समातेर उसले बर्र आँशु झा¥यो । अनि आर्तनादले चिच्यायो, मलाई बचाऊ, म बाँच्न चाहन्छु । मैले मेरो बाबाआमाको सपना पूरा गर्नु छ, मैले देशका लागि अझै धेरै काम फत्ते गर्नुछ । म भावविह्वल भएँ, दुर्घटित शरीर र मन लिएर साथीको जीवन बचाईदिन याचना गरिरहेँ ।

विकट गाउँ न थियो । साधन स्रोतले भ्याएसम्म गाउँलेहरुले सहयोग त गरेकै हुन् । तर मैले चाहेको हेलिकोप्टर मेरो साथीलाई लिन आएन । म उसको चित्कारको साक्षी बनेर लाचार भई अगाडि बसिरहें ।

राहुल ! तिमीलाई केही हुँदैन । केही बेरमै हेलिकोप्टर आउँछ, तिमीलाई केही भएको छैन, यस्तै यस्तै सहानुभूति दिँदै म उसकै समीपमा बसिरहें । तर मेरो धैर्यताको बाँध फुटिसकेको थियो ।

दुई घन्टा बितिसक्यो, राहुललाई लिन कुनै हेलिकोप्टर आएन । उसको स्वास्थ्यमा सुधार आएन, रगत निकै बगिसकेको थियो, क्रमश उसको शरीर चिसो भइसकेको थियो । अन्ततः मेरो मित्रताको आकास मेरै अगाडि भासियो । मेरै काखमा राहुलले प्राण त्याग ग–यो । हामी सबैलाई बचाएर उनीहरु दुबैले प्राणत्याग गरे ।

अब भने मलाई आफू बाँचेकोमा कुनै खुशी लागेन । आफ्नो मुटुभित्र बसेको साथी गुमाउनु र उसकै मृत्युको बयान गर्नुपर्ने पीडाले म मुर्छित भएँ । त्यसपछि के के भयो मलाई केही थाहा भएन ।

होस्मा आउँदा म नेपालगन्जको मध्यपश्चिमाञ्चल अस्पतालमा थिएँ । मेरो अनन्य मित्रको मृत शरीर फेरि हेर्न सक्ने मेरो हिम्मत भएन । अझ एउटा जवान छोराको चितामा दागबत्ती दिनुपर्दाको बाबुको हालत कस्तो होला, मैले कल्पना गर्नसमेत सकिँन ।

तर हुने हार दैव नटार भनेजस्तै यी सबै दृष्य निरीह भएर टुलुटुलु टिभीमा हेर्नुको कुनै विकल्प थिएन । पचपन्न बर्षे बाबुले राहुलको मृत शरीरमा दाग बत्ती दिँदा भक्कानिँदै अश्रु धारा बगाउँदै चिच्याउदै थिए– बाबु छोरा तिमीलाई पोल्यो कि ?आफू मरेर पनि अरुलाई बचाउने मेरो महान मित्रको लाशसँगै उडेको धुवाँभित्रबाट मेरो साथीले मलाई मलाई बोलाएजस्तो आवाज आयो ..सरगम… सरगम । म पुरै स्तब्ध भएँ । पुरै आकास म मुनि भासिएको प्रतीत भइरहेको थियो ।

– भृकुटी नगरपालिका–६, कपिलवस्तु