२९ आश्विन २०८३, बिहिबार

११ हजार हाइड्रोसिल बिरामीको निःशुल्क शल्यक्रिया गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-manistry– कल्पना पौडेल
सरकारले चालु आर्थिक वर्षमा ११ हजार हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) का बिरामीको शल्यक्रिया गर्ने भएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसैवर्ष देशभरका सरकारी अस्पतालबाट करिब ११ हजार हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने कार्य सुरु गरिएको महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिनुभयो ।

उहाँले देशभरका सरकारी अस्पतालमा शल्यक्रियाको व्यवस्था गरिएको बताउनुभयो । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारीका अनुसार आजको मितिसम्म करिब २ हजार ५ सय बिरामीको शल्यक्रिया गरिएको छ । उहाँले भन्नुभयो– ‘चालु आर्थिक वर्ष २०७२÷७३ को असार मसान्तसम्ममा ११ हजार बिरामीको शल्यक्रिया गर्ने लक्ष्य हो । अहिलेसम्म २ हजार ५ सय बिरामीको शल्यक्रिया भइसकेको छ ।’

जाडो लागी ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने जस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ । साथै महिलामा यौनांग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजिवीको संक्र्रमणबाट फैलिएको पाइएको छ । संक्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेको सरी त्यसबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपांग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रुपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको हो । यसवर्ष यही फागुन २९ गतेदेखि यो कार्य सुरु गरिँदैछ ।

महाशाखाले नेपालका ३६ जिल्लाका १ करोड ३० लाख जनतालाई औषधि खुवाइँदै छ ।

गतवर्ष नेपालका एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएकामा यो वर्ष ३६ जिल्लाका एक करोड ३० लाख मानिसलाई औषधि खुवाउने लक्ष्य रहेको निर्देशक मरासिनीले बताउनुभयो ।

हालसम्म २५ जिल्लामा छ पटकसम्म आमऔषधि खुवाउने कार्यक्रम सम्पन्न भइसकेको छ ।

सन् २०२० सम्म नेपालबाट पूर्णरुपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य सरकारले राखेको छ । रासस