२९ आश्विन २०८३, बिहिबार

सपनासँग तथ्यको संयोगबिन्दु : ड्रिम्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dreams

सपनाहरु सम्भावना हुन् । सम्भावनाहरु त्यसमा मात्रै सीमित नभएर तथ्यमा पनि बदलिन सक्छन् भन्ने कथासार बोकेर गत शुक्रबारदेखि नेपालभर प्रखर अभिनेता भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’ प्रदर्शनमा आएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको ड्रिम्स निर्माणका क्रममा निर्देशक भुवन केसीले व्यापारिक दृष्टिकोणलाई बलियो बनाएका छन् भने छायांकन र कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । फिल्म क्षेत्रमा २ दशकभन्दा बढि समय विताएका भुवन केसीले ड्रिम्समार्फत आफुलाई पहिलो पटक निर्देशकका रुपमा पनि उतारेका हुन् । उनले यसअघि फिल्म निर्माण त गरेकै थिए । एउटा भनाई छ, तपाई पछाडी हुनुले त्यस्तो महत्व राख्छ जब तपाईले आफ्नो क्षमताका कारणले धेरैलाई अगाडी धकेल्न सक्नुहुन्छ । भुवन केसीको यहि क्षमताका कारणले नै ड्रिम्स र अनमोल केसी अझ अगाडी धकेलिएको अनुभुति हुन्छ, फिल्म हेरेपछि ।

कथासार

लेखक
लेखक

अविरप्रताप मल्ल (अनमोल केसी) र काभ्या (साम्राज्ञी राज्यलक्ष्मी राणा)को झगडादेखि अटुट प्रेम सम्बन्धको उतारचढावको कथा हो, ड्रिम्स । यहि उतारचढावको प्रमुख आधारविन्दु सपनासँग तथ्यको मिलनविन्दुलाई जोड्ने प्रयत्नको प्रतिफल हो, ड्रिम्स । अविरप्रतापको धनाड्य जीवनशैली, काभ्याको रमाइलो गर्ने बानी र समाजसेवी छवि दुवै फिल्ममा राम्रोसँग देखाउने प्रयत्न गरिएको छ । जीवनको तथ्यसँग सपनाको मिलनविन्दु हुनसक्छ भन्ने सम्भावित खोजलाई पर्दामा उतार्ने प्रयत्न गरिएको छ । यसका लागि वैज्ञानिक कारणहरुलाई प्रस्तुत गर्न खोजिएको छ । साथमा प्रेम, परिवार र व्यापार सवै विषयलाई जोड्ने प्रयत्न गरिएको छ । लेखक सामिप्य तिमिल्सिनाले नयाँ ढंगको कथा प्रस्तुत गर्न खोजेका छन् । केही संवादहरुले फिल्ममा निक्कै बलियो आधार खडा गरेका छन्, जसले दर्शकको मन छुन्छ । नेपाली समाजको ऐना बन्नसक्ने संवादहरु राखिएका छन् ।

कास्ट
फिल्मको बलियो पक्षमध्येको प्रमुख कलाकार छनौट नै हो । नेपाली सिनेमाका बहुमत दर्शकको आँखामा पर्ने अनमोल केसी र नयाँ अनुहारका रुपमा साम्राज्ञी राज्यलक्ष्मी राणा फिल्मका मुख्य अभिनेता हुन् । अन्य कलाकारहरु आवश्यकताअनुसार कथामा सुहाएका छन् । तर, फिल्मका मुख्य कलाकार भएका कारणले अनमोल र साम्राज्ञी सवल कलाकार हुन् । अनमोलको स्टारडम, साम्राज्ञीको नयाँ तर खारिएको अभिनय फिल्मको लागि बलियो पक्ष हो । यसकारण फिल्म दर्शकको संख्या गनेरै कलाकार छनौटमा सफल भएको छ । स्वभाविक कास्ट, अस्वभाविक नतिजाको मुल्यांकन फिल्म युनिटले गरेको थियो ।

प्रविधि
ड्रिम्सको सवैभन्दा सवल पक्ष सिनेम्याटोग्राफी हो । साना साना दृश्यहरुमा फिल्मको कन्टिन्युटीमा केही समस्या देखिएपछि छायांकनमा कुनै दाग देखिँदैन । हर दृश्यलाई खिच्ने प्रयास सफल छ । सिनेम्याटोग्रफीमा यो फिल्म उत्कृष्ट मध्येको एक हो ।

अन्ततः सस्पेन्ससहित स्टारडम भएका कलाकारको अभिनय र लुक्स, नयाँ अनुहारको अपेक्षाभन्दा बलियो अभिनय रहेका कारणले ड्रिम्स हेर्नुपर्ने फिल्म हो । फिल्मका केही दृश्यहरु लामो भएका कारणले दर्शकलाई हेर्दाहेर्दै भद्दाजस्तो पनि लाग्न सक्छ । तर, फिल्मको क्लाइमेक्स बलियो बनाइएको छ । अन्य दृश्यहरुमा कहीँ कतै अल्छी लाग्ने अवस्था आएपनि क्लाइमेक्सनजिक पुगेपछि दर्शकलाई भावनात्मक रुपमा छुवाउने प्रयासमा निर्देशक भुवन केसी सफल भएका छन् । फिल्मको मुख्य भाग नै क्लाइमेक्स भएका कारणले पनि यो फिल्म बलियो छ । नेपाली फिल्महरुमा ड्रिम्स हेर्दा आफुले खर्च गरेको पैसाको आनन्द उठाउन सकिन्छ भन्ने अनुभुती दर्शकले गर्नेछन्, साथमा कथामा उठाइएको विषयवस्तु आफ्नो जीवनमा पनि घटेको थियो की ? भन्ने समिक्षा पनि गर्नेछन् ।

हेर्नुस् ट्रेलरः