
– विकाश पराजुली
बुटवल, २७ फागुन । रुपन्देहीका विभिन्न स्थानमा लाग्ने हाटबजारहरु बाट ७० प्रतिशत स्वदेशी तरकारी खपत हुने गरेको छ ।
पछिल्लो समय रुपन्देही तरकारी खेतीमा आत्मनिर्भर हुँदै गएपछि स्थानिय उत्पादित तरकारी स्थानिय बजारमै खपत हुने गरेको हो । मागको तुलनामा ३० प्रतिशत तरकारी भारतीय उत्पादनले ओगटेको रुपन्देही हाटबजार व्यवसाय संघले जनाएको छ ।
गएको १० बर्ष यता ९० प्रतिशत तरकारी भारतिय बजारको खपत हुने गरेकोमा अहिले यो अनुपात ठिक उल्टो हुन पुगेको रुपन्देही हाटबजार व्यवसायी संघका अध्यक्ष भिमलाल ज्ञवालीले जानकारी दिए । उनले किसानहरुले व्यवसायीक रुपमा खेती सुरु गर्ने क्रम बढेपछि जिल्लामा स्वदेशी तरकारीको खपत बढेको समेत बताए ।
जिल्लाका करिव १ सय २० स्थानमा हाटबजार लाग्ने गर्दछ । अध्यक्ष ज्ञवालीले सानो लगानीबाट सुरु गरिने हाटबजार व्यवसायलाई स्थानिय निकायले वेवास्ता गर्दा हाटबजार क्षेत्र दिनप्रतिदिन कमजोर बन्दै गएको बताए ।बार्षिक ५० हजार देखि ३० लाख सम्म बैठकी कर असुल गर्ने गरेको भएपनि सो रकमको आधा हिस्सा पनि पुर्वधार निर्माणमा स्थानिय निकाय नलाएको अध्यक्ष ज्ञवालीको गुनासो छ ।
जिल्लामा सञ्चालित हाटबजार मध्ये केही बाहेक अन्य हाटबजारहरु स्थानिय विद्यालय, मठ मन्दिर वा कुनै व्यक्ति विशेषको माताहतमा सञ्चालनमा रहेका छन् । काठमाडौं पछिको दोस्रो ठुलो हाटका रुपमा लिईने बुटवल ७ को हाटबजार बाहेक अन्य हाटहरु व्यवस्थित हुन नसकेको संघ स्वय स्वीकार गर्छ ।
व्यक्ति विशेषको आग्रहमा हाटबजार गर्दा कृषक तथा व्यवसायी धारासायी हुने, व्यवसायीहरुले तिरेको बैठकी कर सम्बन्धीत उपमहानगरपालिका र नगरपालिकालाई नगाई सिमित व्यक्तिहरुलाई कमाई खाने भाडा बनेको अध्यक्ष ज्ञवालीले बताए । उनले अधिकांश हाटबजारहरुमा पुर्वाधार निर्माण नहुँदा व्यवसायीहरुले नाली तथा बर्षातको समयमा ढल माथी नै व्यापार व्यवसाय गर्न बाध्य भएको बताए ।
खानेपानी, शौचालय तथा विद्युत विनानै हाटबजारहरुमा व्यवसाय भइरहेको उनको भनाई छ ।
संघमा ४५ सय व्यवसायीहरुले सदस्यता ल्याएका छन् भने सदस्यता नलिएका मात्र करिव १० हजार व्यवसायीहरु रहेको संघले जनाएको छ । बुटवलमा मात्र ९ सय व्यवसायीहरुले व्यवस्थित रुपमा हाटबजार लाउने गरेका छन् ।
खुल्ला दिशामुक्त अभियान जिल्लामा चलिरहदा हाट लाग्ने क्षेत्रमा शौचालय नबन्दा खुल्ला दिशामुक्त अभियान समेत प्रभावित बन्ने देखिएको छ । हाटबजार क्षेत्रमा शौचालय ठेक्कामा दिदा भएका शौचालय समेत व्यवस्थापन हुन सकिरहेका छैनन् ।
बुटवल ७ मा रहेको हाटबजार, दिपनगर, योगिकुटी, कृषि उपज केन्द्र, देविनगर लगाएतका केही हाटबजार स्थानमा मात्र सामान्य पुर्वधार बनेको छ ।















प्रतिक्रिया