२९ आश्विन २०८३, बिहिबार

१०६ औं महिला दिवस एक चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bindu-Thapa– बिन्दु थापा ‘निहारीका’ बुटवल

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ
महिलाको एउटा गल्ती तैरीन्छ तेल झैं
जति चिच्चाए पनि कराए पनि सहे पनि यहाँ
आखिर नारीको जीवनमा खेल्छन् खेल झैं
खुसी सुख लुकाएर बस्नुपर्ने घर पनि बनाएर जेल झैं

आज १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस । देशभरका महिला अधिकारकर्मी, जान्ने बुझ्ने अगुवा महिलाहरु यो दिवस मनाउन लागेका छन् । तर विचरा ऊ आफ्नो जन्मलाई दोष दिँदै आफ्नै भाग्यलाई सराप्दै बसेकी छ । आँँखाभरी आसु टिलपिल– टिलपिल पार्दै मनभरी हजारौं प्रश्नहरुको खातैखात राख्दै सोच्छे यदी म पनि पुरुष भएर जन्मेको भए यात म अलि पढेको भए । पढ्नुको कुरा त छोडौं नाम लेख्ने उपाएसम्म छैन उसँग । मनमनै ऊ भन्न थााल्छे ……मेरो भाई म भन्दा ८ वर्षले कान्छो उसलाई गाँउभरिकाले पुन्टे भनेर बोलाउँछन् । त्यही पुन्टे थियो कान्छो भाइ रमेश । सानैबाट पढ्न लेख्नमा उ अगाडि भयो । अहिले ठूलै मान्छे बन्यो । उसले मलाई कहाँ चिन्छ र ? सानो छँदा मेरो विवाह भइसकेको थियो । उसँग धेरै समय बिताउन पनि पाइएन फेरी । उ कहाँ सुट बुट लगाउने सबैले चिन्ने मान्छे म कहाँ बाटोमा फालिएको ……।

मनमा हिम्मत आयो आज । अहिले मेरो भाईलाई भनेर हेर्छु ‘म तिम्रो दिदी हो’ भनेर । बोलाई पनि तर भन्न सकिन किनकी उसलाई सबैले पागल भन्थे । तर बहानामा उसले भनी तिमी त कस्तो दिदी जस्तो सबै कुरा मिल्ने रहेछ । तर उ बोलेन । कसरी बोलोस् उसको दिदीका बारेमा कसैले भनेको थिएन । समय बित्दै थियो एकदिन उसले त्यही बाटोमा आफ्नो श्रीमान्लाई देखि । यता उता छोरा–छोरी श्रीमती (जो उसको सौता थिई) सँग रमाउँदै हिँडेको थियो । जसले उसलाई आजभन्दा १० वर्ष पहिले दाईजो नल्याएको र नराम्री भन्दै घरबाट निकालेको थियो । त्यही कारणले ऊ अहिले पागलको रुपमा बाटोमा बसेर आफ्नो नारकीय जिवन बिताउन बाध्य छे । त्यसपछि उसको मनमा बदलाको ज्वाला बल्न थाल्यो ।

उसको मनमा धेरै सवालहरु उठे अनि आफूले आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच्न थालि । भनिन्छ भाग्य कसैले देखेको हुँदैन । भाग्यमा होइन कर्ममा विश्वास गरे अवश्य पहाड पनि फोर्न सकिन्छ । समयको खेल हो रातपछि दिन आउँछ भने जस्तै उसले त्यो दिनबाट आफ्नो रुप परिवर्तन गर्न थाली । जसका कारण उसले घरबाट बाहिरीएकी थिई उसलाई चुनौति दिन थाली सोच्न थाली मेरो जीवन बर्बाद बनाउने उ मबिना यसरी खुसिका साथ जिए्रको छ । अनि म…. । उसले तुलना गरी अनि सुरु गरी संर्घषका दिन ।

पागल भनेर चिनिएकी उसँग न त कपडा किन्ने पैसा थियो न त कही केही गर्न कसैको साथ नै थियो । सानै छँदा आमाको मृत्यु, बाबुले बिहे गरि दिएपछि छोरी भनेरै कहिले वास्ता गरेनन् । भाईले चिन्दैन । गाउँलेले पागल भनेर चिन्छन् । तर उसको साहस र हिम्मतले आज उसलाई समाजसेवी भनेर चिनाएको छ । उसले अहिले धेरै पढेका पुरुषलाई चुनौति दिन सकेकी छ । छुट्टै पहिचान बनाएकी छ । कति रातहरु जंगलमा बिताएकी छ उसले । २ दिन खाई भने ५ दिन नखाएर पानीको भरमा बाँचेकी छ उ । तर पनि हिम्मत आफैंमा हुनुपर्छ भन्दै संघर्षमा उत्रेकी उ आज पागल होईन बुद्धिजीवीको रुपमा चिनिन्छे ।

कथा जस्तै लाग्ग्ने वास्तविकताहरु धेरै छन् । सुन्दा मनगणन्ते लाग्ने कुराहरु महिलाको वास्तविक जिवनमा काँडा बनेर घोचिरहेको छ तर हामी मौन छौं । हामीले हाम्रो सोच, परम्परा, संस्कृति परिवर्तन गर्न सकेका छैनौं । त्यसैले अहिलेसम्म हामी पछाडि परेका छौं । एकातिर नारा लागएका छौं । अर्कोतिर आत्महत्या गर्न बाध्य छौं की त मरेर बाँचेका छौं । तर यो कहिलेसम्म ?

प्रेमका नाममा महिलाहरु फसेका छौं । श्रीमती बनेर मारिएका छौं । प्रेमी बनेर मारिएका छौं अनि हाम्रो कानुन भन्छ– मारिएको होइन मरेको हो । हत्या होइन आत्महत्या हो । पुरुषका लागि कानुन परिवर्तन हुन्छ । पैसाले मान्छे किनिन्छ, काननु किनिन्छ । महिलाको हितका लागि भएको कानुनको कार्यान्वयन हुँदैन अनि हामी भन्छौं– महिला दोषी छन् । महिलालाई हेर्ने विभेदी मन कहिले परिवतर्तन हुन्छ ?

आजको विश्व विकासका सन्दर्भमा धेरै अगाडि पुगिसकेको छ । समाजका हरेक पक्षमा नयाँ नयाँ प्रयोग र अभ्यासले उपलब्धि हासिल भएका छन् । मानिसले जति धेरै उपलब्धी हासिल गरे पनि समाजमा अझै पनि समानताको र न्यायको खाँचो छ । लैंगिक हिँसा विरुद्ध धेरै आवाज उठेका छन् तर कार्यान्वयनमा शून्यता छ । हिंसाविरुद्धका कानुनहरु बन्नु तर त्यसको कार्यान्वयन नहुनाले मानव सभ्यताको विकासलाई खोक्रोपन दर्शाउँछ । महिला र पुरुषबीचको असमानता र अन्यायले मानवताको मुल्य र मान्यताको धज्जी उडाएको छ ।

नेपाली समाजमा अझै पनि महिला र पुरुषबीचको असमानताको खाडल पुरिन सकेको छैन । लैंगिक समानता कायम गर्न आफूलाई जतिसुकै ठूलो भनेकाहरुलाई पनि कठिन छ । पितृसतात्मक सोचमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गर्ने विभेदकारी व्यवहार नै भेदभावपूर्ण छ । अझै पनि महिलालाई दोसो दर्जाको रुपमा लिने गरिन्छ । जसका कारणले महिलामाथि शोषण, दमन, हिंसा गर्न थप बल पुग्छ र अपराधिक घटना भइरहन्छन् ।

पछिल्लो समयमा महिलामाथि विभिन्न किसिमले हिंसा भइरहेका छन् । जसमध्ये सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक हिंसा प्रमुख छन् । लैंगिक विकास सुचाकांकमा नेपाल विश्वको १० औं स्थानमा रहेको छ । तथ्यांकलाई विश्लेषण गर्दा नेपाली महिलाको अवस्था अझै पनि दयनीय छ । २०४६ सालको जनआन्दोलनपछि महिला समानता र न्यायको बारेमा छलफल भए पनि दशकौं बित्दासमेत राम्रो उपलब्धि हुन सकेको छैन ।

महिलाहरु अझै पनि धेरै किसिमका हिंसा सहन त बाध्य छन् तर त्यसमध्ये पनि घरेलु हिंसाबाट अझै बढी महिलाहरु पीडित छन् । झन्डै ८० प्रतिशत महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । यसमा दाईजो, बहुविवाह, बोक्सी, बलात्कारलगायत पर्दछन् । त्यस्तै सार्वजनिक स्थलमा यौनदुव्र्यवहार र सामुहिक बलात्कार पनि महिलामाथि हुने अपराध हुन् । महिलामाथि हुने हिंसाका विषयमा धेरै संघसंस्था, महिला अधिकारकर्मीले अध्ययन अनुसन्धान गरिरहेका छन् । तर अपेक्षा गरिए जस्तो प्रतिफल पाउन सकिएको छैन ।

घरेलु हिंसालाई हिंसा नमान्ने प्रवृत्तिले पनि त्यस्ता घटनालाई घरेलु मामला भनेर थामथुम गराउने चलन छ । जसका कारण अझै पनि घरेलु हिंसाका घटना बाहिर आउन सकेका छैैनन् । भित्रभित्रै दबिएर बस्न बाध्य छन् महिलाहरु । समाजमा महिला अस्मिताको अवमूल्यनले गर्दा यस्तो भएको हो । विश्वका कतिपय देशहरु जस्तै श्रीलंका, भारत र जापानमा घरेलु हिंसासम्बन्धी छुट्टै कानुन बनिसकेका छन् । तर नेपालमा बनेका कानुन भएर पनि कार्यान्वयन नहुनु राज्यको लाचारी हो ।

संयुक्त राष्ट्रसंघीय साधारणसभाले २० डिसेम्बर १९९३ मा पारित गरेको महिला हिंसाविरुद्ध हिंसा उन्मुलनसम्बन्धी घोषणापत्र अनुसार महिला हिंसा भन्नाले सार्वजनिक वा निजी जिवनमा लिंगका आधारमा हुने हिंसाजन्य कार्य हो भनी परिभााषित गरेको छ । जसले महिलालाई शारीरिक, मानसिक, सामाजिक र यौनजन्य पीडा पु-याउँछ वा पु-याउने सम्भावना हुन्छ । जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की र दवावले महिलाको स्वतन्त्रतालाई बन्देज बनाउँछ । तर अझै पनि आम महिलालाई यो परिभाषाको निहितार्थ थाहा छैन । यतीसम्मकी हिंसा भनेको के हो र आफू हिंसामा परेको छ वा छैन भन्नेसमेत पत्तो पाउँदैनन् महिलाहरु ।

महिला हिंसा न्यूनीकरण गर्न संयुक्त राष्ट्र संघले विभिन्न अभियान र नारा प्रस्ताव गरी महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । सन् १९९९ मा डोमिनिकल गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभेम्वर २५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वागत गर्दै १९९९ को १७ डिसेम्बरमा पारित ग¥यो । सन् १९६० मा डोमिनिकल गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको त्यहाँको त्रुजिलो तानाशाही सरकारले हत्या गरेको सन्दर्भसँग यो दिवस जोडिएको छ ।

अहिले नेपालमा १६ दिने अभियानसँगै यो कार्यक्रम मनाईंदै आइएको छ । तर अझै पनि यस्ता कार्यक्रम औपचारिकतामा मात्र सिमित भएका छन् । यसलाई फरक किसिमबाट बनाउन सके साँच्चिकै माथिको पागल चरित्रकी उ ले जस्तै सारा महिलाले हिम्मत जुटाउन सक्नेछन् । अहिले राज्यका केही पदमा महिलाले नेतृत्व गरेका छन् यो सराहनीय छ तर यसैलाई सर्वश्व ठान्नु हाम्रो कमजोरी र गल्ति हुनेछ । र उ जस्ता पागल बनेर हिँड्ने महिला हजारौं भेटिनेछन् । जबसम्म समाजको विभेदकारी संरचना बदलिँदैन तबसम्म महिला हिँसा विरुद्धको अभियान जारी राख्नु जरुरी छ ।