७ कार्तिक २०८३, शनिबार

लोमस फर्मास्युटिकलले यसरी बिक्री गर्छ गर्भपतनको औषधि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prajwal jung pandeyकाठमाडौं, २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे मालिक रहेको औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सले गर्भपतन प्रयोजनको लागि उत्पादन गरेको औषधि चिकित्सकको प्रेसक्रिप्सनविना अधिक मूल्य लिएर अवैध तवरले बिक्रीवितरण गर्ने गरेको रहस्य सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष सक्रियतामा गत शुक्रबार दिउँसो छापा मारेर सिलबन्दी गरिएको मध्येको लोमसले गर्भपतनको औषधि अवैध तरिकाले बिक्री गर्ने गरेको खुल्न आएको छ । आर्थिक दैनिकले समाचार छापेको छ ।

गर्भपतन प्रयोजनको लागि मेरी स्टोप्स इन्टरनेशनलसँगको सहकार्यमा लोमस फर्मास्युटिकल, गोठाटार काठमाडौँद्वारा उत्पादित ‘मेरीप्रीस्ट’ नामक औषधि आर्थिक दैनिकलाई प्राप्त भएको छ । चिकित्सकको सिफारिसविना बिक्री गर्न नपाउने सो औषधिको अधिकतम खुद्रा मूल्य पाँच सय ५० रुपैयाँ उल्लेख छ ।

ब्याच नम्बर एमएम–०२१५ उल्लेख भएको उक्त औषधि बानेश्वरस्थित एक मेडिकलबाट एक हजार पाँच सय रुपैयाँमा विना कुनै प्रेसक्रिप्सन खरिद गरिएको उक्त औषधिका खरिदकर्ता बताउँछन् ।

“मैले लोमसबाट उत्पादित गर्भपतनको औषधि पाउने भनिएको बानेश्वरको एक औषधि पसलमा गएर उक्त औषधि दिन आग्रह गरेँ, मेरो आग्रहपछि उक्त मेडिकलका सञ्चालकले उक्त औषधि दिँदै एक हजार पाँच सय रुपैयाँ मागे, मैले औषधिको अधिकतम खुद्रा मूल्य हेर्दा पाँच सय ५० रुपैयाँ मात्र लेखिएको पाएपछि किन यति धेरै रकम दिने ? भन्दा मेडिकल सञ्चालकले उही मूल्यमा पाउनको लागि श्रीमान/श्रीमतीको नागरिकताको फोटोकपी र चिकित्सकको प्रेसक्रिप्सन ल्याउनुस् होइन भने म आफैँले कम्पनीमा कागजपत्र मिलाउँछु, त्यति पैसा तपाईंले तिर्नुपर्छ भनेपछि बार्गेनिङ गरेर एक हजार दुई सय रुपैयाँमा लिएर आएको हुँ’, उक्त औषधि खरिदकर्ताले आफ्नो नाम गोप्य राख्ने शर्तमा आर्थिक दैनिकलार्ई भने ।

prawal jung pandeyयसैबीच, नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २१ को निर्णयअनुसार औषधिहरुको अधिकतम खुद्रा मूल्य तोकी नेपाल राजपत्रमा प्रकाशित सूचनालार्ई अटेर गरेर बढी खुद्रा मूल्य तोकी बिक्रीवितरण गरी कालोबजारी गरेको भन्दै उपभोक्ता मञ्च तथा सर्वसाधारणहरुले गरेको उजुरीको आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी र काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा नेतृत्वको संयुक्त टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित गैह्रीधारास्थित लोमस फर्मास्युटिकल र काठमाडौँ महानगरपालिका वडा नम्बर १ हात्तीसारस्थित देउराली जनता फर्मास्युटिकलमा छापा मारेर गोदाम तथा बिक्रीकेन्द्रमा सिलबन्दी गरेर सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लोमस फर्मास्युटिकलका सञ्चालक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व–अध्यक्ष प्रदीपजंग पाण्डेका पुत्रद्वय प्रज्वलजंग पाण्डे र प्रवलजंग पाण्डे रहेको महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार प्रहरीले देउराली जनता फर्मास्युटिकल्सका निलाराज आचार्य र निगम अधिकारी पक्राउ परेका छन् । पक्राउ परेका लोमसका सञ्चालक रहेका पाण्डे दाजुभाइलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ भने देउराली जनताका आचार्य र अधिकारीलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीको हिरासतमा राखिएको र शनिबार सार्वजनिक विदा परेकाले पक्राउ परेका चारै जनालार्ई कालोबजारी मुद्दामा म्याद थपको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने तयारी गरिएको एसपी कार्कीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा लोमस र देउराली जनता फर्मास्युटिकलबाट उत्पादित सेफ्पोडोक्सी, एजिथ्रोमाइसिन, सेफेक्सिन, ओफ्लोक्सिन र ओमेप्राजोल नामक औषधिहरुमा प्रतिट्याब्लेट चार रुपैयाँदेखि १० रुपैयाँसम्म बढी मूल्य लिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिट्याबलेट २५ रुपैयाँ अधिकतम खुद्रा मूल्य तोकिएको सेफ्पोडोक्सीको ३५ रुपैयाँ, प्रतिट्याबलेट ३० रुपैयाँ तोकिएको एजिथ्रोमाइसिनको ४० रुपैयाँ, प्रतिट्याब्लेट २० रुपैयाँ तोकिएको सेफेक्सिनको ३० रुपैयाँ, प्रतिट्याब्लेट आठ रुपैयाँ तोकिएको ओफ्लोक्सिनको १६ रुपैयाँ र आठ रुपैयाँ प्रतिट्याब्लेट मूल्य तोकिएको ओमेप्राजोलको ११ रुपैयाँसम्म मूल्यवृद्धि गरेर उपभोक्ता ठगी गर्दै कालोबजारीलाई प्रश्रय दिएको खुल्न आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।