२९ आश्विन २०८३, बिहिबार

कम्युनिष्टको मक्का मदिना सुखानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीर्थ सिग्देल
             तीर्थ सिग्देल

फागुन २१ र झापा परस्परमा मेल खाने शब्द हुन् । जब–जब फागुन २१ नजिकिँदै जान्छ, उति उति नेपाली कम्युनिष्टहरुमा रगत सल्बलाउन थाल्छ, रक्तसञ्चार हुन्छ, मुटुको चाल बढ्न थाल्छ ।

२०२९ साल फागुन २१ मा पाँच जना होनाहार क्रान्तिकारी युवालाई तत्कालीन पञ्चायती शासकले सिध्याए । आज त्यो दिन मात्र स्मरणयोग्य छैन, त्यो दिन बगेको रगतका कोषिका नेपाली कम्युनिष्टका नसा नसामा फैलिएका छन् । र, त्यो क्रान्तिको ज्वारभाटा आजसम्म उर्लिरहेको छ । झापा आन्दोलन र त्यसको प्रभावले देशलाई नै छ्वाप्प छोपेको छ ।

क्रान्ति मन, मस्तिष्कको क्षणिक आवेग मात्र होइन, सशरीर उपस्थिति पनि हो । मन, मस्तिष्क र तनको समागम नै क्रान्ति हो । त्यसलाई चलाउने विचारले हो । विचारको स्रोत तत्कालिन विद्रोही झापाली युवामा थियो । जसलाई उनीहरुले उत्पादन मात्र गरेनन्, सिञ्चित पनि गरे । विचार रोपे, उमारे र बाँडे पनि । आज नेपाली कम्युनिष्टहरु त्यही त्याग र समर्पणको बीउ उमारिरहेका छन् । आगो खाएर विद्रोहको ज्वाला ओकल्नेहरु आज पनि ज्यूँदै छन् । नेपाली कम्यूनिष्टहरुका प्रेरणापुञ्ज ती सुखानीका सहिदहरु जसलाई सहिदका रुपमा दर्ज हुन ४२ वर्ष लाग्यो ।

सुखानी शब्द आफैँमा कम्युनिष्टको शब्द जस्तो लाग्छ । क्रान्तिको विगुल फुक्ने युवा जसले झापा विद्रोहको आरम्भ गरेका थिए, आज त्यो सुखानी नेपाली कम्युनिष्टहरुका लागि मक्का मदिना सरह छ । जतिबेला नेपालका कम्युनिष्टहरुमा मेल थिएन, कम्युनिष्ट विचारको ठीक ढङ्गले विजारोपण भएको थिएन, त्यतिबेला ती युवाहरु जसले क्रान्तिरुपी तलाउमा ढुङ्गा फ्यालेका थिए । आज त्यो क्रान्तिको तलाउमा तरङ्ग आएको छ । त्यो रक्तकुण्डसरी मुलुकभरि सिञ्चित भएको छ ।

DSC09847

राजनीतिमा त्याग र समर्पणको भावसँगै विडम्बनायुक्त पीडा पनि मिसिएको हुन्छ । आज सुखानीको त्याग र समर्पणलाई विभाजित पार्ने र आआफ्ना पारामा व्याख्या गर्ने काम भइरहेको छ । प्रत्येक वर्ष फागुन २१ का दिन नेकपा एमालेका नेताहरु सुखानीमा पुग्छन् । पुष्प अर्पण गर्छन् र श्रद्धासुमन व्यक्त गर्छन् । नेकपा एमालेको जग झापा विद्रोह हो । झापा विद्रोहको जगमा उठेको नेकपा एमालेका लागि सुखानी आदर्शभूमि हो । पुण्यभूमि हो ।

क्रान्तिका नायकहरु जसलाई कायरतापूर्वक हत्या गरियो, आज तिनै क्रान्तियोद्धा र झापा संघर्षलाई कसले स्वामित्व ग्रहण गर्ने भन्ने विषयमा गम्भीर बहस र विवाद छ । जब २०५२ सालमा माओवादी जन्मियो, उसले धेरै पछि झापा संघर्षको कडीको रुपमा आफूलाई ठान्यो । र, फागुन २१ का दिन माओवादी पार्टी र त्यस पार्टीका नेता, कार्यकर्ता सुखानी पुग्छन् र श्रद्धाञ्जलि अर्पण गर्छन् ।

यी दुवै कम्युनिष्ट पार्टीले सुखानीका सहिदलाई सम्झन्छन् । तर, अलग–अलग समयमा । केही वर्षदेखि यो उपक्रम निरन्तर छ । बिहान माओवादीका नेता गए, दिउँसो एमालेका नेता । एक जना झापा आन्दोलनका ज्यूँदा सहिद मानकुमार तामाङ भन्छन्, ‘यस्तो अवस्था आउनु दुःखद् हो ।’

१७ वर्षसम्म विभिन्न जेलहरुमा पीडादायी जीवन बिताएका तामाङ आज पनि विपन्नतामा जीवन गुजार्दैछन् । फागुन २१ लाई सम्झँदै तामाङ भन्छन्, ‘त्यस दिन मलाई पनि मार्ने तयारी रहेछ । खै किन हो, अञ्चलाधिस छिरिङ तेन्जिङले मलाई बचाए ।’