भक्तपुर, २० फागुन । जिल्ला मालपोत कार्यालय भक्तपुरले जग्गा नामसारी, दर्ता, रजिस्ट्रेसन पास लगायत जनताको काम अब अनलाइन सेवाबाट सुरु गरेको छ ।
भक्तपुरको साबिक गाविसअन्तर्गत अनन्तलिङ्गेश्वर नगरपालिकाको सिरुटार, गुण्डु र चाँगुनारायण नगरपालिकाको छालिङका बासिन्दाको जग्गाको राजीनामा, लिखित, रजिस्ट्रेसन पास, मुद्दाको रिपोर्टजस्ता जनताको काम अनलाइनबाटै सुरु गरेको मालपोत कार्यालयका प्रमुख मुक्तिप्रसाद आचार्यले बताउनुभयो ।
आगामी दुई वर्षभित्र भक्तपुरका जिल्लाभरिका जनतालाई अनलाइन सेवाबाटै यस्ता सेवा दिनेगरी काम सुरु गरेको र प्रारम्भमा साबिक तीनवटा गाविसका बासिन्दाको जग्गा सेवा अनलाइनबाट सुरु गरेको हो ।
भक्तपुर मालपोत कार्यालयले तीन लाख जग्गाधनीको विवरण अनलाइन सेवामा अद्यावधिक गरिसकेको र अरूको पनि गर्दै जाने जानकारी दिँदै प्रमुख आचार्यले अब आफ्नो जग्गाको विवरणसमेत घरमै बसेर अनलाइन सेवाबाट हेर्न सकिने व्यवस्थासमेत गरेको उल्लेख गर्नु भयो ।
एसियाली विकास बैंकको सहयोगमा देशभरका १४ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सञ्चालन गर्ने लक्ष्यअनुरुप भक्तपुरले पाँचाँै कार्यालयका रुपमा यो सेवा विस्तार गरेको हो । यसअघि कलङ्की, ललितपुर, धादिङ र मकवानपुर मालपोत कार्यालयमा यस्तो सेवा सुरु गरिसकेको छ ।
अनलाइन सेवाको बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्रालयका निमित्त सचिव नागेन्द्र झाले शुभारम्भ गर्नुभएको थियो । रासस















प्रतिक्रिया