२९ आश्विन २०८३, बिहिबार

कांग्रेस महाधिवेशन : नीति र नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rishi Ram Gaireनेपाली कांग्रेस ७७ बर्षे इतिहास बोकेको परिपक्व राजनीतिक पार्टी हो । प्रजातन्त्र र समाजवाद कांग्रेसका मुख्य आदर्श हुन् । २००७, २०४६, २०६२/६३ र २०७२ सालमा भएका युगान्तकारी परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । पार्टी निर्माणको ७७ वर्षे इतिहासमा कांग्रेसले आफ्नो नेतृत्वमा मुलुकमा युगान्तकारी परिवर्तन गरेको छ । कांग्रेसले इतिहासमा गरेका कामको ब्याज खाएर मात्र भविष्यको सुन्दर तस्वीर कोर्न सक्दैन । अहिले २१ औं शताब्दीमा पुगेका मुलुकलाई सोही अनुसार लैजान कांग्रेसले नयाँ कार्यदिशा दिनुपर्ने हुन्छ । वर्तमानको जगमा उभिएर उज्यालो भविष्यको दीप जलाउन सक्नुपर्छ । कांग्रेसले अहिलेसम्म त देशमा भएका कम्युनिष्ट उत्ताउला र उग्र भएको नाताले मात्र भोट पाएर ठूलो पार्टी बनेकाले उसको राज चलेको हो । तर अहिले समय परिवर्तन भइसकेको छ । मुलुकमा आफूलाई मात्र प्रजातन्त्रवादी शक्ति मान्ने कांग्रेसलाई चुनौती दिने धेरै शक्तिहरु जन्मिसकेका छन् । पार्टीको १३ औं महाधिवेशनमा उपस्थित हुने नेता तथा कार्यकर्ताले अबको कांग्रेसको नेतृत्व २१ औं शताब्दी सुहाउँदो छान्नु जरुरी छ । जनताको चाहना बुझेर अघि बढ्ने नेतृत्व चयन गर्न सके मात्र कांग्रेसको अस्तित्व जनतामा रहन सक्छ । यस विषयमा १३ औं महाधिवेशनमा छलफल गर्नु आवश्यक हुन्छ ।

नीति:
वीपी कोइरालाले जनताको प्रत्येक घरमा एउटा दुहुनो गाई होस् र उसले सुखसँग बिहान–बेलुका खान पाओस् भनेर कांग्रेसको समाजवादप्रतिको नीतिलाई सबैले बुझ्ने भाषामा परिभाषित गरेको पाइन्छ । अहिलेका कांग्रेसीजनहरुले पनि त्यही कुरालाई मात्र उफ्री–उफ्री भट्याउने गरेका छन् । मैले राजनीतिमा चासो राखेका दिनदेखि करिब ३० वर्षमा पार्टीको महाधिवेसन, महासमिति बैठक, केन्द्रीय समितिका बैठकहरुबाट भएका निर्णय र निर्णयअघि कार्यकर्तामा छलफलमा पु¥याउनुपर्ने विषय थाहा पाउन सकेको छैन । कार्यकर्तामाझ छलफल नै नगर्ने कांग्रेसको नीति के हो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन । मुलुकका कांग्रेसइतरका वामपन्थी र राप्रपा नेपालले समेत महाधिवेसंनका बेला उनीहरुका सिद्धान्त, नीति तथा कार्यक्रम कार्यकर्ता र जनतासमेतले पढ्ने, सुझाव दिने गरी तल्लोस्तरसम्म दस्तावेजहरु पु-याउने गरेको हामीले देख्ने गरेका छौं । तर कांग्रेसमा त्यो संस्कार अझै विकास हुन सकेको छैन ।

१३ औं महाधिवेशनमा होमिएको कांग्रेसले अहिलेसम्म कुनै पनि त्यस्ता नीति तथा कार्यक्रम तय गरेको छैन । २०४७ सालपछि लामो समयसम्म सत्तामा रहेको कांग्रेसले वीपी कोइरालाको एउटा लैनो गाईको परिकल्पना पनि साकार पार्न सकेको छैन । अहिले पनि उही पुरानो विचारलाई बोकेर हिँड्ने कांग्रेसले के अब साँच्चिकै जनतालाई केही नयाँ स्वाद दिन्छ त भन्ने प्रश्न खडा हुँदै गएको छ ।

कांग्रेसले आफ्नो महाधिवेशनमा देशका विद्यमान समस्या समाधानका लागि स्पष्ट कार्ययोजना ल्याउन सक्नुपर्छ । जातीय छुवाछुत, सामाजिक विभेद, महिला बेचविखन, दाइजो, महिला हिंसालगायतका घटना न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिका बारे जनतालाई बुझाउन सक्नुपर्छ । वीपीको पालामै शुरु गरिएको भूमिसुधारलाई परिस्कृत गरि गरिब किसान र जोत्नेहरुको हितमा जमिनको वितरण कसरी गर्ने ? गरिब किसानले तिर्न नसक्ने ऋणबाट कसरी मुक्त गराउने ? लगायतका विषयमा पनि कांग्रेसले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न सक्नुपर्छ ।

खेतीयोग्य जमिनमा कति बर्षभित्र सिचाईं सुविधा पु¥याउने, कृषिलाई जीविकोपार्जनको रुपमा मात्र नराखी व्यवसायिकरण कसरी गर्ने, पढ्न/पढाउन नसक्ने जनताका छोराछोरीलाई के व्यवस्था गर्ने, आधुनिक शिक्षा र प्रविधिलाई कसरी जिवनपयोगी बनाउनेलगायतका विषयमा पनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सक्नुपर्छ । बिरामी हुँदा उपचार गर्न नसक्ने जनतालाई स्वास्थ्यसम्बन्धी कार्यक्रममार्फत् उपचारको व्यवस्था गर्ने, पर्यटन क्षेत्रको विकास र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ पनि ठूलो, पुरानो र प्रजातान्त्रिक शक्ति भएका नाताले कांग्रेसले आफ्नो धारणा बनाउनुपर्ने आवश्यक देखिन्छ । महाधिवेशनमा होमिएको कांग्रेसले यी काम गरे मात्र जनताको भरपर्दो साथी बन्न सक्छ । सुख, दुःख र असुविधामा कांग्रेसले साथ दिन्छ भन्ने भावना जागृत गराउनु आवश्यक छ ।

नेपाली कांग्रेसलाई हुनेखाने र ठूलाबडाको पार्टीको रुपमा पनि सर्वसाधारणले बुझ्ने गरेका छन् । जनतामा रहेको यो भ्रम चिर्न कांग्रेसले महाधिवेशनबाट आफूलाई जनहितमा काम गर्ने पार्टीको रुपमा स्थापित गराउनु जरुरी छ । त्यसका लागि जनताको भावनाअनुसार नीति तथा कार्यक्रममा छलफल गरी दस्तावेज बनाउन सक्नुपर्छ । जनतालाई नेतृत्वको भन्दा पनि नीतिको खाँचो छ । तर महाधिवेशनमा नीति भन्दा बढी नेतृत्वले प्राथमिकता पाएको देखिन्छ ।

कांग्रेसलाई भारत परस्त पार्टीको आरोप पनि लाग्ने गरेको छ । आफूलाई कसैको निकट हुनु र कसैको पराधिनता आवश्यक छैन भन्ने स्पष्ट पार्न कांग्रेसले आफ्नो महाधिवेशनबाट छिनोफानो गर्नु जरुरी छ । सन् १९५० यता भारतसँग भएका सन्धि सम्झौता पारस्परिक हितमा पुनरावलोकन गर्न अग्रसरता पनि कांग्रेसले लिनुपर्छ । मुलुकको ठूलो र जेठो पार्टी भएको नाताले पनि सबै शक्तिलाई साथमा र विश्वासमा लिएर देशको परराष्ट्र नीति बनाउन कांग्रेसले सहयोग गर्न सक्छ । त्यसैगरी लोडसेडिङबाट जनतालाई मुक्त गर्ने योजना पनि कांग्रेसले घोषणा गर्न सक्नु पर्छ । तर अहिलेसम्म ती विषयले कांग्रेसमा स्थान नै पाउन सकेको देखिँदैन ।

नेपाली कांग्रेस लामो समयसम्म सत्ता सञ्चालन गरेको अनुभवी पार्टी हो । उसले मुलुकको दीर्घकालीन हितका लागि ५ देखि ५० वर्षसम्मका विकासका योजना सार्वजनिक गर्न सक्नुपर्छ । १३ औं महाधिवेशनमा होमिएको कांग्रेसले अहिलेसम्म कुनै पनि त्यस्ता नीति तथा कार्यक्रम तय गरेको छैन । २०४७ सालपछि लामो समयसम्म सत्तामा रहेको कांग्रेसले वीपी कोइरालाको एउटा लैनो गाईको परिकल्पना पनि साकार पार्न सकेको छैन । अहिले पनि उही पुरानो विचारलाई बोकेर हिँड्ने कांग्रेसले के अब साँच्चिकै जनतालाई केही नयाँ स्वाद दिन्छ त भन्ने प्रश्न खडा हुँदै गएको छ ।

कुहिरोको काग जस्तै आफू र मुलुकलाई दिशा पत्ता लगाउन नसक्ने परिस्थितिबाट कांग्रेस बाहिर आउन सक्नुपर्छ । त्यसका लागि महाधिवेशन लम्ब्याएर भए पनि मुलुकका यावत् विषयमा छलफल गरी ठोस धारणा सार्वजनिक गर्नु आम कांग्रेसीजनको हितमा देखिन्छ । मुलुकमा प्रजातन्त्र स्थापनाको लामो समयसम्म पनि कांग्रेसले मुलुकलाई कुन दिशामा अगाडि बढाउने भन्ने स्पष्ट पार्न सकेन । १३ औं महाधिवेशनबाट मुलुकको स्पष्ट नक्सा कार्न सक्यो भने मात्र कांग्रेस अगाडि बढ्न सक्छ ।

नेतृत्व :

नेपाली कांग्रेसको स्थापनाताका विश्व दुई ध्रुवमा विभाजित थियो । त्यस समयमा विश्व विख्यात शासक स्टालिन, माओत्सेतुङ, महात्मा गान्धी र जवाहरलाल नेहरु जस्ता नेताको टक्करमा बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादको ब्याख्या गर्दै उत्तर–दक्षिण दुवैलाई मान्य हुने खालको विचार सार्वजनिक गरेका थिए । आफूलाई फरक खालको वैचारिक नेता स्थापित गर्न सक्नु वीपीको त्यसबेलाको शाहसीक काम थियो । तर त्यसपछि वीपीको विचारलाई नै बोकेर हिँडेको कांग्रेसले आफूलाई रुपान्तरण गर्न सकेको छैन । पार्टीको विचारलाईसमेत परिस्कृत र समयसापेक्ष बनाउने नेतृत्व चयन गर्नु कांग्रेसको प्रमुख चुनौती बनेको छ ।

तर महाधिवेशनमा होमिएको कांग्रेसका नेताहरुलाई नीति भन्दा नेतृत्वको चिन्ता देखिएको छ । पुरानो नीति परिस्कृत गर्ने फुर्सद नेताहरुलाई छैन । गुटको राजनीतिक फस्टाइरहेको छ । आफूलाई कुन गुटमा राख्दा नेतृत्वमा पुगिन्छ भन्ने ध्यान नै नेताहरुमा देखिएको छ । आफ्नो मात्र भविष्य सुरक्षित गर्ने ध्याउन्नमा नेता लागेपछि कांग्रेसको भविष्य भने पक्कै सुरक्षित हुने छैन ।

महाधिवेशनमा होमिएका कांग्रेसका नेताहरुमध्ये रामचन्द्र पौडेल, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, सुजाता कोइरालालगायतमा नेतृत्वको आकांक्षा देखिएको छ । तर पनि पौडेल र देउवाबीचको लडाई निकै रोचक छ । गिरिजाप्रसाद कोइरालाको पालादेखि नै नेतृत्वका लागि लड्दै आएकाले शेरबहादुर देउवालाई तपाईं लड्न हुन्न त मैले भन्न मिल्दैन तथापि यी दुई बीचका बारेमा मे केही भन्न चाहन्छु ।
रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुवै नेपाल विद्यार्थी संघका सभापति हुँदै राजनीतिमा आएका व्यक्तित्व हुन् । गिरिजाबाबुले देउवालाई भन्दा पौडेललाई माया गर्ने भए पनि देशको अति पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पहिलो सरकारमै देउवालाई दोस्रो स्तरको नेताको हैसियत बनाउँदै गृहमन्त्री बनाएका थिए । कांग्रेसको दोस्रो वरियतामा रहेका रामचन्द्र, शेरबहादुर र शैलजा (आरएसएस भनेर चिनिने) मा अवसरको हिसाबले देउवा भाग्यमानी ठहरिए । पहिलो बरियातामै रहेका रामचन्द्र पौडेलभन्दा धेरै पछाडि रहेका खुमबहादुर खड्कालाई गिरिजाबाबुले सत्ता स्वार्थका लागि गृहमन्त्री बनाउँदा पनि पौडेल चुपचाप लागेका थिए । त्यति मात्र नभई देउवाले पार्टी फुटाएर जाँदा पनि पौडेलले संस्थापनलाई साथ दिएका थिए । कोइराला परिवारमा आफूभन्दा वरिष्ठ हुँदासम्म पौडेलले कहिल्यै पार्टीबाट दाम्लो चुडाल्ने काम गरेनन् ।

तर देउवाले सानै पार्टी भए पनि करिब ३ वर्ष पार्टीको सभापति भइसकेका छन् । पार्टीको सक्षम व्यक्तिले थोरै समयमै पनि मुलुकलाई यौटा दिशा दिन सक्छ । तर देउवाले त्यो देखाउन सकेनन् । त्यसैगरी पटकपटक देशको कार्यकारी प्रधानमन्त्री पनि भइसकेका देउवाले न त मुलुकलाई केही दिन सके न पार्टीलाई नै । त्यसैले देउवाले पार्टीको नेतृत्वमा भन्दा अभिभावकीय भूमिकामा बस्नु श्रेयस्कर देखिन्छ ।
पार्टीभित्रका अनेक दुःख कष्ट सहेर पनि संस्थापन पक्षलाई सधैं साथ दिँदै आएको हुनाले पौडेलले यस पटक कांग्रेसको नेतृत्व दावी गर्नु अन्यथा मानिँदैन । उनको दाबीलाई कार्यकर्ताले न्याय गर्नुनै बुद्धिमानी ठहर्छ ।

(लेखक जनसम्पर्क समिति अमेरिका इलोनोइज च्याप्टरका सचिव हुन्)