
– युवराज श्रेष्ठ
लमजुङ, १७ फागुन । पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोखरेलले हवाई सुरक्षाको लागी कार्ययोजना बनाएर लागु गर्ने बताएका छन् ।
नेपालको पहाडी तथा हिमाली क्षेत्र हवाई यात्राका लागी सधै खतरापुर्ण अवस्था रहेको भन्दै उनले यस्ता दृढता व्यक्त गरेका हुन् ।
लमजुङको २४ आँै जिल्ला परिषदको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षाका लागी विश्वमा चलेका प्रविधी प्रयोग गरिने बताए । उनले भने, मौसमको अवस्था जानकारी गराउन हवाई सुरक्षाका लागी प्रविधी प्रयोगमा कुनै कन्जुस्याई गर्दिन, विश्वमा चलेका प्रविधीको प्रयोग मार्फत सुरक्षित यात्राको व्यवस्था मिलाईन्छ ।
उनले निजगढ विमानस्थल स्वदेशी लगानीमा बनाउने समेत बताए । तामाकोशी जलविद्युत आयोजना नेपालीकै पैसाले बन्दैछ, उनले भने, अब निजगढ विमानस्थल बन्छ, त्यसका लागी प्रक्रिया अघि बढेको छ । अर्को प्रसंगमा उनले सिङ्गत ईन्जिन भएका जहाज चलाउन दिएर विगतमा ज्यान मार्ने लाईसेन्स दिएको आरोप लगाए । अब नेपालमा सिङ्गत ईन्जिन भएका जहाजले यात्रु बोक्दैनन्, उनले भने– मान्छे मार्न कसैले पाउँदैन ।
नेपालमा हालै जारी भएको संविधानले राष्ट्रिय एकता सुदृढ गरेको बताउँदै अब भारतले नाकाबन्दी लगाउन नसक्ने गरी अघि बढ्ने सरकारको तयारी रहेको खुलाए । अब भारतबेष्ठित नेपाल हुँदैन, भुपरिवेष्ठि स्वतन्त्र र सार्वभौम रुपमा दुबै छिमेकीसँग समान व्यवहार गर्छ ।
परिषद मार्फत आगामी आर्थिक बर्ष २०७३/०७४ को लागी जिल्ला परिषद मार्फत ३ अर्ब ५७ करोड ६५ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट पारित भएको हो । जिविस सभाहलमा भएको परिषदमा स्थानिय विकास अधिकारी शेखर पौडेलले आगामी बर्षको लागी तय गरिएको निति, कार्यक्रम तथा बजेट वक्तव्य पेश गरेका थिए ।
परिषदकै अवसरमा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङ सहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तीलाई सम्मान गरेको छ । गुरुङलाई नगद ६ हजार ८ सय रुपैयासहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । जिल्लाको विकास निर्माणका गतिविधिलाई पत्रकारीताको माध्ययमबाट नागरिकलाई सुसूचित गरि योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको जिविसले जनाएको छ ।
स्थानीय विकास अधिकारी पौडेलले चालु आर्थिक बर्षमा कार्यविधीसहित विकास पत्रकारीता पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने र हरेक बर्ष अक्षयकोषको ब्याजबाट जिल्ला परिषद्मा विकास पत्रकारीता पुरस्कार प्रदान गरिने बताए ।
सो अवसरमा जिल्ला विकास समितिले गुरुङ भाषा, कला र संस्कारसंस्कृतिको जगेर्ना गरेको भन्दै गिलुङका इन्द्रबहादुर गुरुङ, लोपुन्मुख ठाडो भाकाका गायन शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साइला), राष्ट्रिय महिला फुटवल खेलाडी सिम्पानीका सावित्रा भण्डारी, सुन्दरबजारका पशुपालक कृषक आशबहादुर लामा, श्रीमञ्ज्याङको लामामञ्ज्याङ कृषक समूह, चिती गाविसका सचिव शोभाकान्त पोखरेल र जिविसका कार्यलय सहयोगी केशर थापालाई सम्मान गरिएको छ ।















प्रतिक्रिया