महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र दुइटा समूह प्रष्टसँग देखिएका छन् । एउटा संस्थापन समूह अर्थात् कोइराला समूह र अर्को देउवा समूह । देउवा समूहका प्रमुख नेता शेरबहादुर देउवा हुन् । आफ्नो समूहबाट उनी नै सभापतिका एक्ला उम्मेदवार पनि हुन् । तर कोइराला समूहबाट सभापतिको साझा उम्मेदवार को हो ? अहिलेसम्म टुंगो लागिसकेको छैन । महाधिवेशन आउन केही दिन मात्र बाँकी छ । तर, कोइराला समूहभित्रका सभापतिका आकांक्षी उम्मेदवारबीच को कति प्रतिशत कोइराला भन्ने वहस जारी छ । यस वहसको अन्त्यका लागि न्यायाधीशको भूमिका निर्वाहसमेत कसले गरिदिने भन्ने टुंगो लाग्न सकेको छैन ।
सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिका रुपमा पार्टीको जिम्मेवारी सम्हालेका रामचन्द्र पौडेल कोइराला समूहको स्वभाविक नेताका रुपमा सभापतिको पदमा आफ्नो हकदाबी पुग्ने तर्क गरिरहेका छन् । र, अनामनगरमा सम्पर्क कार्यालय खोलेर टीम निर्माणको गृहकार्यमा जुटेका छन् ।
पार्टी महामन्त्री प्रकाशमान सिंह पनि कोइराला समूहबाटै सभापतिको उम्मेदवारीमा आफ्नो हकदाबी प्रस्तुत गरिरहेका छन् । पिता गणेशमान सिंहको लिगेसी जोड्दै उनी आफ्नो उम्मेदवारीलाई प्राकृतिक ठम्याइरहेछन् । आफ्नै निवास चाक्सीबारीबाट उनी टीम निर्माणको अन्तिम गृहकार्यमा व्यस्त छन् ।
पार्टीका अर्का महामन्त्री कृष्ण सिटौला गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सच्चा विश्वासपात्र आफू भएकाले कोइरालाको लिगेसी आफूमा भएको दाबी गर्दै सम्पर्क कार्यालय खोलेर टीम निर्माणमा लागेका छन् ।
आफूलाई योग्य सावित गर्न एउटै समूहभित्र छौं भन्ने बिर्सेर पौडेल, सिंह र सिटौला एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने काममा लागेका छन् । सिटौलाले रामचन्द्रलाई पार्टी फुटाएको आरोप लगाइरहेका छन् भने सिंहले पौडेलमा नेतृत्व क्षमता नभएको तर्क गरिरहेका छन् । यी सभापति पदका आकांक्षीबीच एकले अर्कोलाई स्वीकार्ने सम्भावना देखिएको छैन । बरु हिजो भएको न्यानो सम्बन्ध पनि चिसिँदै गएको देखिन्छ ।
रामचन्द्र, प्रकाशमान र कृष्ण– यी तीनै जनाको थर कोइराला नभएको हुँदा यिनीहरुमध्ये को कति प्रतिशत कोइराला ? यो हिसाब निकाल्न यिनीहरुमध्ये कसले विगतमा कोइरालाई साथ र विश्वास बढी मात्रामा दिए, त्यसको नापतौल भइरहेछ ।
आफूलाई योग्य सावित गर्न एउटै समूहभित्र छौं भन्ने बिर्सेर पौडेल, सिंह र सिटौला एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने काममा लागेका छन् । सिटौलाले रामचन्द्रलाई पार्टी फुटाएको आरोप लगाइरहेका छन् भने सिंहले पौडेलमा नेतृत्व क्षमता नभएको तर्क गरिरहेका छन् । यी सभापति पदका आकांक्षीबीच एकले अर्कोलाई स्वीकार्ने सम्भावना देखिएको छैन । बरु हिजो भएको न्यानो सम्बन्ध पनि चिसिँदै गएको देखिन्छ ।
कोइराला समूहका पक्षधर कार्यकर्ताहरुको दबाब भने साझा उम्मेदवार बनाउनुपर्छ भन्ने छ । त्यसका लागि पौडेल, सिटौलादेखि लिएर त्रय कोइराला (सशांक, शेखर, सुजाता)का ढोका–ढोका पुगिरहेछन् । एकथरी कार्यकर्ताले भने कोइराला थरबाट साझा उम्मेदवार नभई नहुने तर्क अघि सारिरहेछन् । यसका लागि सशांक, शेखर, सुजातालाई मनाउन लागिपरेका छन् । तर समस्या के छ भने फलानो नै सभापतिको उम्मेदवार हुनुपर्छ भनेर कुनै एउटा नाममा सहमति जुटाउने कामको गृहकार्य भएको देखिँदैन । कारण कार्यकर्ता आफैं विभाजित छन् उपसमूहहरुमा । कोही कोइराला पक्षधर (पौडेल उपसमूह), कोही कोइराला पक्षधर (सिंह उपसमूह) र कोही कोइराला पक्षधर (सिटौला उपसमूह) छन् । कोइराला पक्षधर सुजाता वा शेखर वा सशांक उपसमूह पनि चर्चामा छन् ।
कोइराला पक्षधरहरुका यी उपसमूहहरुका बीच एकले अर्कोलाई स्वीकार्ने वातावरण तयार पार्ने नेताको अभाव देखिन्छ । सबै आ–आफ्नै तयारीमा देखिन्छन् । सशांक, शेखर र सुजाताको अहिले नै सभापति बन्ने चाहना नभएको महामन्त्री, उपसभापतिसम्मको मात्र आकांक्षा रहेको धेरैको बुझाइ छ । सुजाताबाहेक अरु कोइरालाले सभापतिको आकांक्षी भएको कुरालाई अगाडि ल्याएको पनि पाइएको छैन र त्यस्तो तयारी पनि देखिएको छैन । र यी त्रय कोइरालाबीच एकता पनि देखिँदैन । एकता हुँदो हो त साझा उम्मेदवार निर्माणमा यस्तो ढिलाइ हुने थिएन ।
कोइराला समूहको सभापतिको साझा उम्मेदवार बन्ने कार्य जतिजति ढिलो हुँदै जान्छ, उतिउति त्यहीभित्र एकअर्काबीच आरोपप्रत्यारोप बढ्दै जान्छ । विभिन्न पदका आकांक्षीहरुले पनि आफूलाई स्थापित गर्न अनेक फोहोरी खेल खेल्ने मौका पाउँछन् । जसको लाभ देउवा समूहलाई हुने निश्चित छ । र भइरहेको पनि रहेको छ । अचम्म त के छ भने, देउवाले सभापतिका प्रतिस्पर्धीहरुमाथि छुद्ररुपमा उत्रेर कुनै आरोप लगाएको देखिँदैन । बरु सम्मानपूर्वक स्थान दिन्छु भन्दै आएको सुनिन्छ । देउवाको शालीनता र अन्य सभापतिका आकांक्षीको छुद्रताकाबीच देउवाको लोकप्रियता अझ बढ्दै गइरहेको पाइन्छ । त्यसैले होला, अहिले मनोवैज्ञानिकरुपमा कार्यकर्ताहरु माझ देउवाले जितिसकेको अवस्था छ । कार्यकर्ताहरु भन्छन्– कोइराला समूहमा रहेका सभापतिका आकांक्षीहरुबीच बढेको दूरीले गर्दा त्यो समूह फुटेको ऐना जस्तै भइसकेको छ । अब त्यसलाई जोडेर जोड्न सकिँदैन । साझा उम्मेदवार त बनाउलान् तर यिनीहरुबीच घातअन्तर्घात नभई छाड्दैन ।
त्यसैले कतिपय संस्थापन पक्षकै कार्यकर्ता अर्थात् कोइराला क्याम्पकै नेतालाई पनि लाग्न थालेको छ अब देउवाको जितलाई कसैले रोक्न सक्दैन ।















प्रतिक्रिया