२९ आश्विन २०८३, बिहिबार

उज्यालो तिम्रो अधिकार हो माइली !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anita Lama– अनिता लामा

बुबा बितेको हो की, उनको खुशी बितेको हो उनलाई अहिले पो चिमोटिरहन्छ बितेको समयले । मनमा तमाशा बन्छ बचपनका ती केही झल्याक झुलुक दृश्यहरू ! माइलीका लागि जीवनकै महत्वपूर्ण फ्ल्यास ब्याक बनेका छन् ती अवोध क्षणहरू ।

धमिलो लाग्छ उनलाई यो फागुनको उज्यालो घाम पनि । उज्यालो आफ्नो भागमै छैन जस्तो लाग्छ उनलाई । उनी उजेली छन् तर समय निकै अँध्यारो घोइरो परेको छ उनका लागि ।
कुराकानीको बीचमै उनी स्तब्ध भइन् पूर्वी दिशामा फर्किएकी उनी मुहार चिउँडोमा र हत्केलामा गला थामिरहीन् । बर्रर बग्यो पीडाको नदी च्यापु हुँदै । उनको घर परिवारका बारेमा र उनकै बारेमा पहिलो चोटी यो सोधनी र कुराकानी भएको रहेछ मबाट ।

पीडाका समयमा सम्झिएको हिस्सा उनी मलाई भन्दै गईन र भनाइसँगै उनको गला र गाला पनि सफा हुँदै गयो, आकाश उघ्रिए जस्तै ।

‘बुबा मलेशिया जानुभएको थियो, आमा, दिदी र म भक्तपुरमा डेरामा बस्थ्यौं । हामी दिदी बहिनी स्कुल जान्थ्यौं । आमाले स्याहार, सुसार गर्नुहुन्थ्यो । बुबाले खर्च पठाउनुहुन्थ्यो । खोइ के भएको हो अचानक हाम्रो घरमा । बुबा मलेशियाबाट आउनुभयो र हामीलाई गाउँमा जाऊँ भन्नुभयो । हामी कोही पनि गाउँमा गएनौं । ममीले पठाउनु भएन । बुबाले फेरि बोलाउनु भा’छ गाउँ भन्ने समाचार आयो र हजुरआमा लिन पनि आउनुभयो । हजुर आमाले असाध्यै माया गर्नुहुन्थ्यो बुबा र हामीलाई । हामी कोही पनि गएनौं । त्यसको एक दिनपछि बुबा रूखमा झुण्डेर मरेको भन्ने खबर आयो । हामीलाई लिन हजुरआमा गाउँबाट आफैं आउनुहुँदा र कतिचोटी बुबाले बोलाउनु हुँदा हामी छोरीहरु एक जना मात्रै गएको भए नि बुबाको मृत्यु हुने थिएन । बुबा बितेपछि फूपुले हामीलाई ममीसँगबाट लिएर आउनुभयो । म, मेरो दिदी र सानो भाइ थियो । हामीलाई गाउँमा लगेको भनेर ममीले को–को केटा मान्छेहरु पठाउनुभएको थियो । तेरो ममीले गुण्डा पठाएको तिमीहरुलाई उठाउन भन्थे गाउँमा । खोइ को मान्छेहरु हो, थाहा छैन । के के भएको हो त्यसपछि केही थाहा छैन । अहिले मम्मी कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन । अर्कै मान्छेसँग गएको भन्थे अहिले त्यो मान्छेसँग पनि छैन रे भनेको अस्तिनै कता कताबाट सुनेको थिए । कता विदेशतिर छ रे नि भन्छन् । खोइ कस्तो माया नलागेको होला ? त्यतिबेला म २ कक्षामा र दिदी ३ कक्षामा पढ्थ्यौं । गाउँमा आएर मैले ३ र दिदीले ४ कक्षा पढ्दै थियौं । फुपुले बनेपामा लिएर आउनुभयो । बनेपामा फूपुको होटल छ । मम, चाउमिन, भात बिक्री गर्ने । फूपुले स्कुल पढाउनुभयो तर होटलको कामले गर्दा कहिले दिदी कहिले म गरेर पालोपालो स्कूल जान्थ्यौं । अहिले दिदी कता पो होली ? किन भागीछ भनेको होटलको काममा यस्तो दुःख हुने रहेछ । अहिले दिदी नि कहाँ छिन् केही थाहा छैन ।’ (माइलीको आँखा फेरि जलमग्न हुन्छ ।)

Maili
(माइली)
‘म फेरि आपा (माइलीको ठुलोबुबा) ले भनेर गाउँमा गएँ । ४ कक्षा पढें । भाइ पनि पढ्दै थियो । दिदी फुपुको होटल छाडेर भागिछ । दिदी भागेपछि तँ पनि बिग्रन्छेस् भनेर मलाई के–के भन्न थाले । मान्छेहरुले दिदी जस्तै बिग्रने भनेर कताकता के के कुराहरु गरेको सुन्न थालें । दिदीसँग भेट नभएको धेरै वर्ष भयो, एकचोटी आउँदा पोइला गएकी केटी आइ भन्दै सबैले घृणा गरे । फूपुको होटलमा म फेरि पुगें । ५ कक्षा भर्ना भएर जाँच पनि दिएँ, पास भएको छ भन्थे साथीहरुले । रिजल्ट लिन जान पनि पाएको छैन । खाली तँ बिग्रन्छेस, दिदी जस्तै हुन्छेस् भन्नुहुन्छ सबैले ।’

वर्ष १५ की माइली । उनैले याद गरेकी भएर । नत्र जन्म मिति थाहा छैन उनलाई । शायद ७ वर्षकी थिएँ की बुबा बित्नु हुँदा भन्छिन्, त्यति नै वर्ष भयो भाँडा माझ्न र मम बटार्न थालेकी फूपुको होटलमा । आफ्नै दुःखजिलो जीवनमा भदैनीहरुको पालनपोषण पनि त कठिनै थियो नि फूपुलाई । त्यसैले माइलीको अबोध काल बाध्यताको शिकार बन्यो । कलिलो समय फूपुसँगैको कठिन जीवनमा मम, चाउमिनभन्दा दायाँबायाँ फर्किनै सकेन, चाहेन वा चाहनेहरू भएनन् । काभ्रे खार्पाचोकको घर धेरै टाढा र दुर्गम पनि होइन । ३ घण्टामै पुगिन्छ । खार्पाचोकको सुख्खापाखा र घर भन्दा झिलिमिली बनेपा माइलीको उधुम रोजाई पनि होइन । तर कुराकानी गर्दै जाँदा मेरो मन भित्रै भने उधुम मच्चाइरहेको थियो– के यो बलशाली समयले माइलीको भविष्य उनकी ममी र दिदीभन्दा फरक हुन दिँदैन ? फरक पार्न सक्दैनौं ? उनका लागि ममी, दिदी, फुपुको होटल या त्यो भन्दा अलग आफ्नै बाबुको हालत नै अन्तिम बिकल्प हो त ? डर र भर दुवै पैदा भएको महशुश भयो मलाई जब उनले भनिन् – ‘म पढ्छु । मलाई अंग्रेजी सजिलो लाग्छ । म्याथ चाहिँ निकै गा-हो लाग्छ । म स्कूलमा गएर मेरो ५ कक्षाको रिजल्ट लिएर आउँछु ।’ तिमी पढाई पूरा गर्न तयार होउ भन्ने मेरो वाक्यमा उनको तिब्र प्रतिबद्धता झल्किएको देखेर गदगद् भएँ म । तर अन्धा समयले उनकै ममी र दिदीकै संक्रमणमा परुन् भन्ने कपट बुनिरहेको त छैन भन्ने प्रश्नले पनि म घेरिएँ ।

Maili With Her Brother
(माइली उसको भाइसँग)

कस्तो निर्मम हुन्छ समय कहिले त । भर्भराउँदो फूल फक्रिनबाट किन निषेध गरेको होला !

यो निषेधको निषेध द्वन्द्ववादले यहाँनेर मलाई असाध्यै जटिलता भयो र अवरूद्ध मार्ग तोड्न निकै जोड कोशीसमा रहेको गला फिजाइ दिएँ अनि भिजाइ दिएँ लछप्पै खार्पाचोकको फुस्रा डाँडा र अठोट लिएँ । बगाइदिन्छु ती सबै पुराना पीडाहरू, उठाइदिन्छु परिवर्तनको जग । सँगै आँसु पुछ्यौं हामीले ।

फूपुको खटनपटन पनि त्यति बोझिलो लाग्दैन उनलाई । गाउँको आपाआमा (ठूलो बुबा र ठूली आमा) को निर्दोष माया तर गाउँमै अभ्यस्त वहाँहरुको जीवनले पनि उनलाई गाउँमै फर्केर बस्न मनले नचाहेको पनि होइन तर परिवर्तनको मार्ग पूर्णिमामा चन्द्रमा हेर्दै आउने समयको धैर्य गरिन् उनले । शीतल, सौहार्द चन्द्रमाले औंशीको कालो विपरीत पूरै पृथ्वी चम्काउँछ । बस् माइली ‘उडी छुनु चन्द्र एक’ तिम्रो निष्ठा र सहनशीलताले समय एक दिन तिम्रो हत्केलामा बिसाउनेछ चन्द्रमा सहित । म यही आशा र प्रतिबद्धता गर्दछु ‘उज्यालो तिमी जस्तै माइलीहरुको अधिकार हो, माग होइन ।’

प्रतिक्रियाका लागि : [email protected]