काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसको १३औँ महाविधेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा आज पनि विधान संशोधनको विषयले प्रवेश नपाउन सक्ने नेताहरूको भनाइ छ ।
संस्थापन समूहले १३औँ महाधिवेशनका लागि पदाधिकार बढाउन प्रस्ताव गरेको छ । तर नेता शेरबहादुर देउवा समूहले पदाधिकारी थपको विषयको विरोध गर्दै आएको छ ।
संस्थापनले आफ्ना नेताहरूलाई व्यवस्थापन गर्न पदाधिकारी बढाउने रणनीतिमा देखिएको छ । तर यो रणनीतिबाट सशंकित देउवा समूहले जसरी पनि विधान संशोधनको प्रस्तावलाई अगाडि बढ्न नदिने योजनामा लागेको स्रोतको भनाइ छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेलको नीति तथा कार्यक्रम मात्रैले प्रवेश पाउने एक नेताले बताए ।
अघिल्लो बैठकमा पौडेलको नीति तथा कार्यक्रमको भाषा पनि नमिलेको र अस्पष्ट रहेको भन्दै विरोध भएपछि आएका सुझावलाई समेटेर परिमार्जनसहित ल्याउने निर्णय भएको थियो ।
कांग्रेसको १३औँ महाधिवेशन चार दिनपछि सुरू हुँदैछ । कांग्रेसले अहिले तयारीको लागि तीब्रताका साथ जुटेको छ ।












प्रतिक्रिया