
– नरेन्द्रसिह कार्की
दार्चुला, १५ फागुन । एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको संविधानलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाउँको नदुखाउन आग्रह गरे । प्रेस चौतारी नेपाल दार्चुलाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले बरिष्ठ नेता नेपाल यस्तो आग्रह गरेका हुन् ।
‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढिकरण अभियान’ अन्तरगत शुक्रबार दार्चुला पुगेका नेता नेपालले संविधान सबैले मान्य भएको भन्दै नेपालको संविधानलाई लिएर भारतीय पक्षले नाकाबन्दी गर्नु जायज नभएको बताए ।

यसैसाता नेपालका प्रधानमन्त्री केपी ओलीको भ्रमणमा ‘सहमतिको लागि प्रयास गर्नु’ भन्ने शब्दमा हस्ताक्षर नगरेको भन्दै संयुक्त विज्ञप्ती नआएको हुन सक्ने नेपालको भनाई छ । मैले संयुक्त हस्ताक्षर किन भएन भन्ने बारे बुझ्न त पाएको छैन, पत्रकार सम्मेलनमा नेता नेपालले भने, तर सबैलाई सहमतिमा ल्याउनुपर्छ भन्ने भारतको पुरानै भनाइ हो ।

उनले भारतले सोचे जस्तो नेपालमा कसैलाइ संविधानले छुटाएको छ भन्ने जस्तो आफु लाग्दैन । अहिलेको संविधान ९० प्रतिशत जनप्रतिनिधिले बनाएको भन्दै अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको बताए ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको शब्द सुदृढ भएको छ उनले भने । साना साना घट्नाहरुमा भारतले चासो दिदा नेपाल भारत बीच सामान्य सम्बन्धमा उतार चढाव भएको हो । उनले भारतलाई नेपालको सानातिना मामिलामा हात नहाल्न समेत सुझाव दिए । उनले देशले आर्थिक पुर्ननिर्माण, नवनिर्माणमा लाग्ने बेला भारतले नाकाबन्दी गर्नु ठिक नभएको भनाई थियो ।

नेता नेपाल शुक्रबार भारतीय मार्ग भएर दार्चुला पुगेका हुन् । उनी सँगै नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य एवं सांसद गणेशसिह ठगुन्ना लगायतका नेता दार्चुला पुगेका हुन् ।
यस्तै नेता नेपालले संविधान कार्यान्वय र राष्ट्रिय एकता सुदृढिकरण अन्तरगत दार्चुला खुलामञ्चमा भएको विशाल सभालाई सम्बोधन गरेका छन् । नेकपा एमाले दार्चुलाद्धारा आयोजित आम सभामा बोल्दै नेता नेपालले अहिलको संविधानले दलित, आदिबासी महिला, मुस्लीम मधेशी सबैलाई समेटेको बताए । अहिलको जस्तो समावेशी संविधान विश्वमै नभएको भन्दै उनले अब संविधानलाई कार्यान्वयनमा लिनुपर्ने बताए ।

उनले भने नेकपा एमाले ‘संविधान निर्माण पछि आर्थिक सामाजिक रुपान्तरण अभियान चलाउन चाहन्छ’, अब देशलाई विकास निर्माणमा अघि बढाउने अभियान हुनुपर्छ । नेपाली काग्रेस पनि महाधिवेशनपछि राष्ट्रिय सहमतिको सरकार समेटेर विकास निर्माण सहकार्य गर्छ उनले भने ।

उनले दार्चुलाको विकास निर्माणको पहिलो आधार सडक मार्ग हुने बताए । उनले जिल्लाको तीनै भू भागमा सडक मार्ग पुर्याउनेतर्फ अग्रसर हुने समेत बताए । दार्चुला तिंकर सडक निर्माणमा आफु प्रधानमन्त्री हुँदा १८ करोड बजेट विनियोजन गरेको स्मरण गर्दै उनले भने, अझ पनि जिल्लाको विकास समेट्न सडक मार्गमा बजेट लगाउनेतर्फ पहल गर्ने आश्वासन दिए ।

खुलामञ्चमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरुलाई नेता नेपाल लगायतका नेताहरुले अविर माला लगाएर स्वागत गरेका छन् ।

स्वर्गीय प्रेमसिह धामीको जिल्लामा तीन पटक पुगेका नेता नेपालले स्वर्गीय धामीको शालिकमा माल्यार्पण समेत गरेका थिए । नेता नेपालले आइतबार जिल्ला परिषद दार्चुलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया