तुलसीपुर(दाङ), १५ फागुन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक रहेको बताउनु भएको छ ।
पत्रकार महास्घ दाङले आज घोराहीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले मधेशवादी दलहरुको असन्तुष्टि संबोधन गर्नका लागि सबै दलबीच समन्वय हुनुपर्ने बताउनुभएको हो ।
“मधेसवादी दलको असन्तुष्टि अझै पूर्ण रुपमा सम्बोधन भइसकेको छैन, त्यसका लागि सबै दलसँग समन्वय भइरहेको छ” – उहाँले भन्नुभयो ।
नाकाबन्दी लगभग खुलेको र असन्तुष्ट समूहहरुसँग सरकारले थालेको वार्ता सकारात्मक बन्दै गएकाले नयाँ संविधान कार्यान्वयन पाटो सहज बन्दै गएको सभामुख घर्तीको भनाइ थियो ।
सभामुख घर्तीले भन्नुभयो – “हामी सबैले धैर्य गरौँ, आशा गरौँ अनि विश्वास गरौँ । यिनै राजनीतिक दलले संविधान निर्माण गरेका हुन् । कार्यान्वयन गर्न पनि त्यसैगरी लाग्ने छन् ।”
सभामुख घर्तीले दाङको हवाई सेवालाई नियमित गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
जनतालाई सूचनाको हक दिलाउन सक्रियतापूर्वक लाग्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रम पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको थियो । रासस












प्रतिक्रिया