२४ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाले आफ्ना कार्यकर्तालाई यसरी निराश बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaकाठमाडौं, १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण असफल रहेको ठहर गर्दै आफ्ना आन्दोलनका कार्यक्रमलाई यथावत राख्ने निर्णय गरेको छ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको ठहर गरेको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको मधेसी मोर्चाले बिरोध गर्दै आएको छ ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठकले सचिवालय पनि गठन गर्ने निर्णय गरेको छ ।

सचिवालयमा राजेन्द्र श्रेष्ठ, मनीषकुमार सुमन, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, कौशलेन्द्र मिश्र र परमेश साह रहेका छन् ।

मधेसी मोर्चाले आफ्ना मागहरूका विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ । छ महिनादेखिको आन्दोलनका क्रममा माग सम्बोधन नभएपछि मधेसी मोर्चाले प्रधानमन्त्रीलाई ती माग पूरा गर्न दबाव दिने उदेश्यले ज्ञापन पत्र बुझाउन लागेको हो ।

इन्धनलगायत दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्थाको माग गरेको मधेसी मोर्चाले व्याज र कर मिनाह गर्न सरकारसँग माग गरेको छ । तराई मधेस आन्दोलनका बेला मधेसी मोर्चाले कर र व्याज मिनाह गर्ने आश्वासन दिए पनि सरकारले त्यो छुट दिएको छैन ।

मधेसी मोर्चाले आफ्ना कार्यकर्ताहरूको अहिले पनि धरपकड भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न माग गर्ने निर्णय गरेको महासचिव सुमनले बताउनुभयो । ‘हाम्रा कार्यकर्ता पक्राउ गर्ने तथा झठ्ठा मुद्दा लगाउने कार्य भएका छन् । त्यो रोक्नुपर्छ’, उहाँले भन्नुभयो ।

लामो समयपछि बसेको मधेसी मोर्चाको बैठकले कडा आन्दोलनका कार्यक्रम घोषणा गर्छ की भनेर कार्यकर्ताले आशा गरेका थिए । तर मधेसी मोर्चाले आफ्ना कार्यकर्तालाई निराश बनाएको छ ।