काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको महाधिवेशन आउन छ दिन मात्रै बाँकी रहेका बेला शुक्रबार रातिसम्म समीकरणले आकार ग्रहण गर्न थालेको छ ।
संस्थापन समूहले उम्मेदवारीका विषयमा लगभग अन्तिम निर्णय नजिक पुगेपछि समीकरणले नयाँ आकार पाउन लागेको हो ।
संस्थापनबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलले उम्मेदवारी दिने गोप्य सहमति भएको छ । बिहीबार राति कांग्रेस नेता रामशरण महतको महाराजगञ्जस्थित निवासमा बसेको गोप्य बैठकले संस्थापनबाट सभापतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
संस्थापनमा पौडेलको महामन्त्रीको उम्मेदवार बिपी पुत्र डा. शशांक कोइरालालाई उठाउने सहमति भएको स्रोतले दाबी छ । योसँगै संस्थापन दुई समूहमा विभाजन भएको छ । संस्थापन समूहको यो विभाजनले वरिष्ठ नेता शेरबहादुर देउवा समूहलाई फाइदा पुग्ने कांग्रेसका जानकारहरूको भनाइ छ ।
संस्थापन समूहकै नेतृत्व गरेर महामन्त्री कृष्णप्रसाद सिटौलाले अर्को समूह गठनको तयारी गरेका छन् । स्रोतका अनुसार सभापतिमा सिटौलाको उम्मेदवारी पर्ने निश्चित प्रायः छ । सिटौलाको समूहबाट महामन्त्रीमा युवा नेता गगन थापाले उम्मेदवारी दिने पक्का भएको स्रोतको भनाइ छ ।
देउवा समूहले पनि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । देउवाले सभापति उम्मेदवारी दिने यसअघि बताइ सकेका छन् । उनको समूहबाट महामन्त्रीमा अर्जुन नरसिंह केसी रहनेछन् । देउवा समूहका महामन्त्री केसी र सिटौला समूहका महामन्त्री गगन थापा नाताले ससुरा–ज्वाइँ पर्छन् ।












प्रतिक्रिया