काठमाडौं, १४ फागुन । नेपाली तयारी पोशाकलाई भन्साररहित पहुँच दिनेसम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन् । एक महिनापछि उक्त ऐन कार्यान्वयनमा आउनेछ।
‘नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृति प्रदान गरिएको छ’, कानुनबारे नेपालस्थित अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत वैशाखको बिनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरि उक्त कार्यक्रम तर्जुमा गरिएको छ।’
अमेरिकाका माथिल्लो र तल्लो दुवै सदनले पारित गरेको व्यापार सहजीकरण र प्राथमिकता सम्बन्धि विधेयकको ९१५ नम्बर वुदामा नेपाललाई दिइने सुविधा उल्लेख छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
विधेयकमा उल्लेख भएको हार्मोनाइन्जड सिस्टम (एचएस)कोडअनुसार नेपालको प्रतिष्पर्धात्मक क्षमता भएका अधिकांश उत्पादनले भन्साररहित सुविधा पाउनेछन् ।
‘एच एस कोड’ भनेको अन्तर्राष्ट्रिय भन्सार संगठनले वस्तुका लागि तोकिदिएको कोड हो । यसका आधारमा वस्तुको वर्गिकरण गरिन्छ ।
विधेयकअनुसार महिला र पुरुषले लगाउने कोट ब्लेजर, सर्ट टि सर्ट, भित्रि वस्त्र, टोपी ह्याट, उनी कपडा, पश्मिना आदिले भन्सार छुट पाउनेछन् ।
दूतावासको विज्ञप्ति अनुसार ६६ वटा यस्ता वस्तुले भन्सार नतिरि अमेरिकी बजारमा प्रवेश पाउनेछन् ।
कानुनअनुसार अमेरिकामा अघिल्लो बर्ष भएको कुल आयातको १ दशमलब ५ प्रतिशतसम्म नेपालबाट ल्याउन सकिने उल्लेख छ ।
तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी अर्यालका अनुसार ९ खर्बसम्म निर्यात गर्न सकिने सुविधा उपलब्ध भएको छ ।















प्रतिक्रिया