काठमाडौं, १३ फागुन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी कार्यकालका लागि प्रकाश पाण्डे समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।
संघका वर्तमान प्रथम उपाध्यक्ष रहेका पाण्डेको नेतृत्वमा प्यानलसहितको उम्मेदवारी घोषणा भएको हो । एमाले नेता राजेन्द्र पाण्डेका पुत्र प्रकाश पुतलीसडकस्थित मेट एजुकेसन फाउण्डेसनका प्रबन्ध निर्देशक हुन् । एक दशकदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका पाण्डेले दैनिक नेपाल डटकमसँग कुरा गर्दै इक्यानलाई अझै समृद्ध, चलायमान र स्तरिय बनाउनका लागि आफूले उम्मेदारी दिएको बताउनुभयो ।
पाण्डे समूहको उपाध्यक्षमा विष्णुहरि पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराईले उम्मेदवारी दिने भएका छन् । यो समूहले कमन एजुकेसन फाउण्डेसनका सन्तोष प्याकुरेललाई महासचिवका उम्मेदवार बनाएको छ । दुई सचिवमा श्रीराम पौडेल र देवीदास भट्टराईलाई उम्मेदवार बनाइएको छ । कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बू र सह–कोषाध्यक्षमा रमेश वाग्लेलाई उम्मेदवार बनाइएको छ । गोविन्द अधिकारी, दीपकराज भुसाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ (बिके), प्रदीप मण्डल, प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, विदुरकुमार अर्याल र यज्ञविलाश पौडेललाई यो समूहले सदस्यको उम्मेदवारी बनाएको छ ।
पाण्डे समूहका एजेन्डा के ?
उम्मेदवारी घोषणासँगै पाण्डे समूहले इक्यानलाई समृद्ध र चलायमान बनाउन २१ बुँंदे एजेन्डा सार्वजनिक गरेको छ ।
वैदेशिक शिक्षाका लागि नयाँं गन्तव्यको पहिचान गरी व्यवसायिक गतिविधि बढाउने, विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गरी सभा, गोष्ठी तथा प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने, इक्यानको सुविधा सम्पन्न भवन निर्माणका लागि पहल गर्ने, शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिकालाई परिमार्जनका लागि पहल गर्नेलगायतका एजेन्डा सार्वजनिक गरिएका छन् ।
इक्यानको निर्वाचन यही फागुन १५ गते काठमाडौंमा हुँदै छ । निर्वाचनमा इक्यानका कूल ३ सय २९ सदस्यमध्ये २ सय ८९ जनाले भाग लिने बताइएको छ । निर्वाचनले इक्यानको दुई वर्षे नेतृत्वका लागि १८ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।












प्रतिक्रिया