काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसमा शक्ति सञ्चय गरेर बसेको आरोप खेपिरहेका केन्द्रीय सदस्य खुमबहादुर खड्काले राजधानीमा भव्य भेला गरेका छन् ।
पर्ख र हेरको नीतिमा रहेका खड्काले आज आफू निकटका केन्द्रीय सदस्य, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला गरेका हुन् ।
भेलामा सहभागीहरूले आफूहरूको प्यानललाई सहयोग जसले गर्छ उसैलाई समर्थन गर्न सुझाव दिएको स्रोतले जनाएको छ । खड्का पनि आफ्नो प्यान बनाइ अत्याधिक नेताहरूलाई केन्द्रीय कार्यसमितिमा लैजाने तयारीमा छन् ।
यस पटक खड्काले महामन्त्रीमा उम्मेदवारी दिने मनस्थित बनाएका छन् । महाधिवेशन प्रतिनिधिहरूसँग उनले महामन्त्रीका लागि मत माग्ने गरेका छन् ।
खड्काले आफ्नो संयोजकत्वमा वार्ता समिति पनि बनाएका छन् । समितिमा केन्द्रीय सदस्य एवम् सांसद शंकर भण्डारी र नेतृ पुष्पा भुसाल सदस्य रहेका छन् । यो समितिले कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवासँग वार्ता गर्नेछ ।
यसैबीच, देउवाले आजै नेता खड्कालाई सानेपास्थिति निवासमा पुगेर भेट गरी सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । देउवाले आग्रह गरे पनि नेता खड्काले साथीहरूसँग सल्लाह गरी पछि जानकारी गराउने जवाफ दिएको स्रोतले जनाएको छ ।
यसअघि कार्यबाहक सभापति पौडेलले खड्कासँग भेट गरेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।
स्रोतका अनुसार नेता खड्काले कार्यबाहक सभापति पौडेललाई समर्थन गर्ने मनसाय बनाएका छन् । तर यस विषयमा खड्काले औपचारिक रुपमा केही बताएका छैन ।












प्रतिक्रिया