काठमाडौं, ११ फागुन । सरकारले कक्षा ११ र १२ को परीक्षाफल पनि लेटर ग्रेडिङ प्रणालीबाट प्रकाशित गर्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमै पत्रकार सम्मेलन गरी उच्च माध्यमिक तहको परीक्षाफल पनि ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले यसअघि नै एसएलसी परीक्षालाई ग्रेडिङ प्रणालीबाट प्रकाशित गर्ने निर्णय गरेको थियो । मन्त्री पोखरेलले कक्षा ११ र १२ पनि विद्यालय तहकै संरचना भएकाले सोही अनुसार नतिजा प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो ।
मन्त्री पोखरेलले ग्रेडिङबाट नतिजा सार्वजनिक गर्ने घोषणा गरे पनि कतिवटा ग्रेड राख्ने भन्ने निर्णय भने भई नसकेको जानकारी दिनुभयो । एसएलसीमा ९ वटा ग्रेडको व्यवस्था गरिएको छ । मन्त्री पोखरेलले परिषद्को बोर्ड बैठकले ग्रेडका विषयमा सुझाव दिन सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको बताउनुभयो ।
यसैबीच शिक्षा मन्त्री पोखरेलले कक्षा ११ र १२ मा आगामी शैक्षिक सत्रबाट दूर र खुला शिक्षा पद्धति पनि लागू गर्ने जानकारी दिनुभयो । उहाँले ११ र १२ कक्षामा दूर र खुला शिक्षा पद्धतिबाट पठनपाठन सञ्चालन गर्ने विषयमा कार्यविधि बनाउन शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको बताउनुभयो । हाल विद्यालय र विश्वविद्यालय तहमा मात्र दूर/खुला शिक्षा पद्धतिबाट पठनपाठन हुने गरेको छ ।












प्रतिक्रिया