२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा क–कसले बाँढ्दै छन् पैसा, कसले कुन पद ताके ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, ११ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन दुई साता मात्रै बाँकी रहँदा बार्गेनिङ गर्ने समूहको ठूलै ताँती बनेको छ । विशेष गरेर बार्गेनिङमा वरिष्ठ नेता शेरबहादुर देउवामा भन्दा पनि संस्थापन समूहमा धेरै छन् ।

देउवा समूहमा महामन्त्रीको राम्रो उम्मेदवार नरहेको भन्दै संस्थापन समूहबाट चोर्ने तयारी गरेको स्रोतको भनाइ छ । देउवा समूहमा नेताहरू थोरै रहेका कारण पनि व्यवस्थापन गर्न सजिलो भएको हो । देउवा समूहले अर्जुन नरसिंह केसी, कृष्णप्रसाद सिटौलाको कार्ड खेली रहेको छ । यो खेल संस्थापन समूहले मज्जैले बुझेको छ ।

तर संस्थापनमा कसलाई नेता मान्ने विषयमै विवाद छ । कार्यबाहक सभापति रामचन्द्र पौडेललाई नेता मान्न कोही तयार छैनन् । तर सभापतिमा पौडेलले यस पटक छाड्ने मनस्थितिमा छैनन् । पौडेललाई हराउन विशेष गरेर अहिलेका महामन्त्री सिटौला खुलेरै लागेको स्रोतले जनाएको छ ।

देउवा समूहमा जान खुट्टा उचालेर बसेका डा. शेखर कोइराला पर्ख र हेरको नीतिमा छन् । उनले आफू महामन्त्रीमा उम्मेदवारी दिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । आफूलाई जसले महामन्त्रीमा सहयोग गर्छ उतै जाने डा. कोइरालाको योजना छ ।

संस्थापन समूहका महामन्त्री प्रकासमान सिंहका साथै सिटौला पनि सभापतिको दाबी गरेर उपसभापति ताकिरहेका छन् । बरिष्ठताले सिंह अगाडि छन् । सिंहलाई रोक्न पनि सिटौलाले अनेकौ बखेडा झिकिरहेको आरोप छ ।

सिंहलाई टक्कर दिने गरी सिटौला पनि मैदानमा उत्रिएपछि संस्थापन समूहलाई झन समस्या भएको हो । सिटौला सभापतिमा उम्मेदवारी घोषणा गरेर अन्त्यमा महामन्त्री भएपनि हुन्छ भन्ने अवस्थामा छन् ।

सुजाता कोइराला र डा. शशांक कोइराला पनि हेर र पर्खको नीतिमा देखिएका छन् । सुजाताले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि कोइराला परिवारको विरात थाम्न पदमा मोलमोलाइ गर्न सक्ने एक नेताले बताए ।

विपी पुत्र डा.शशांकले अहिले मुख खोली हालेका छैनन् । तर उनी पनि समयको पर्खाइमा छन् । नेता तथा कार्यकर्ताको दबाब डा. शशांकलाई सभापतिमा उम्मेदवारी दिनुपर्नेमा छ ।

आफ्नो पक्षमा माहोल बनाउन महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरूलाई सिटौलाले पैसा बाँड्न सुरू गरेको आरोप छ । हुन त यो आरोप सिटौलालाई भन्दा पनि बढी वरिष्ठ नेता देउवालाई लागेको छ । सिटौलालाई लैनचौरबाट भारु आउन थालेको आरोप एक कांग्रेसी युवा नेताले लगाएका छन् । ती युवा नेताले भने, ‘सिटौलाजीसँग लैनचौरको प्रसस्त पैसा छ । उहाँले खर्च गर्न सुरू गरिसक्नु भएको छ ।’

नेता देउवाले जिल्ला सभापतिमा उम्मेदवार बन्नका लागि न्यूनतम पाँच लाखसम्म वितरण गरेको आरोप एक केन्द्रीय सदस्यले लगाए । खर्चका मामिलामा अलि उदार देखिएका देउवाले महाधिवेशन प्रतिनिधिलाई सुन्धारा र नयाँ बसपार्कका राम्रा होटेल बुक गराइ सकेका छन् । बेलुका–बेलुका ती होटेलहरूमा देउवा समूहका प्रतिनिधिहरूभन्दा धुपौरेहरूको बढी जमघट हुने गरेको छ ।

देउवाको सम्पर्क कार्यालय
देउवाको सम्पर्क कार्यालय

सबैको ध्यान पुग्ने गरी देउवाले नयाँ बानेश्वरमा आलिसान घरलाई सम्पर्क कार्यालय बनाएका छन् । त्यस घरमा आफू बस्ने कोठासम्म पुग्न अनुमति लिनुपर्ने व्यवस्था देउवाले मिलाएका छन् । घरको सबै खर्च काभ्रे स्थायी घर भएका एक जना तरुण दलका केन्द्रीय सदस्यले लिएका छन् ।

सभापतिका अर्का उम्मेदवार पौडेलले अनामनगरको एउटा दुलोमा सानो सम्पर्क कार्यालय बनाएका छन् । त्यो कार्यालयमा पनि पौडेल आक्कल झुक्कल पुग्ने गरेका छन् । खर्चका मामिलामा पौडेल अलि अनुदार छन् । पौडेलले सभापतिमा उम्मेदवार बन्न मनग्य पैसा संकलन गरेको छन् । रकम संकलनकै लागि पौडेलले खाता पनि खोलेका छन् । तर खर्च भने थोरै गरेको आरोप छ । पौडेललाई विदेशबाट अलि धेरै पैसा आएको स्रोतको भनाइ छ ।

देउवालाई एनजिओ र आइनजिओले पैसा लगानी गरेको स्रोतको भनाइ छ । नेता देउवालाई मुक्त कमैया र मुक्त कमलरीको एनजिओ चलाएर अकुत कमाएका कांग्रेस सांसद डिल्ली चौधरीले ठूलो सहयोग गरेका छन् । यसवफत देउवाले चौधरीलाई केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै मन्त्री बनाउने आश्वासन दिएका छन् ।

हुन त देउवालाई उनकै पत्नी आरजु देउवाको एक दर्जन एनजिओहरूले पनि सहयोग गरेको रहस्य खुलेको छ । नेता देउवालाई ठेकेदार र ठूला कर्मचारीहरूले पनि ठूलो सहयोग गरेको स्रोतले जनाएको छ । देउवा पत्नी आरजुले सांसद चौधरीलाई मन पराउँदिनन् ।

उता, महामन्त्री ताकेर सानेपामा अड्डा जमाएर बसेका कांग्रेस नेता खुमबहादुर खड्का यस पटक देउवालाई सहयोग गर्ने पक्षमा छैनन् ।

संस्थापन समूहमा बसेर जाँदा बार्गेनिङ गर्न सकिने र आफ्नो टिमलाई धेरै जिताउन सकिने विश्लेषणसहित बसेको स्रोतले जनाएको छ । खड्का आफू एक्लैभन्दा पनि टिम बनाएर केन्द्रीय कार्यसमितिमा हालिमुहाली गर्ने पक्षमा छन् ।