
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका दिनेशप्रसाद साह अहिले शरदसिङ भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसद हुन् । प्रमुख दलहरुले संविधानसभाबाट संविधान घोषणा गरेपछि आन्दोलनमा उत्रिएका साह संविधान संशोधनपछि पनि मधेसी जनताका माग पूरा नभएको बताउँदै आएका छन् । मधेस आन्दोलन, संविधान संशोधन र पार्टीको आगामी रणनीतिका सम्बन्धमा उनीसँग दैनिक नेपाल डटकमले गरेको कुराकानी–
विराटनगरको रानी भन्सार कार्यालयअगाडि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो माथिको हमलासँगै तपाईंहरुको आन्दोलन तुहिएको हो ?
राजेन्द्र महतो माथि भएको सांघातिक हमला राज्यको ज्यादतीको एउटा उदाहरण हो । यो घटनाको जति नै कडा शव्दमा भत्र्सना गरे पनि कम हुन्छ । अहिले उहाँ फेरि स्वस्थ भएर फर्किसक्नुभएको छ । हाम्रो आन्दोलन तत्कालका लागि केही मत्थर भए जस्तो देखिए पनि रोकिएको छैन । आन्दोलनलाई अझ सशक्त बनाउन अहिले शक्ति सञ्चयतिर लागेका कारण पनि धेरै गतिविधि हुन सकेका छैनन् । हाम्रो आन्दोलन जारी छ । आन्दोलन दबाउने नाममा सरकारले आक्रमणसमेत गर्न थालेको छ । यसको उदाहरण सद्भावनाका अध्यक्ष महतोमाथिको आक्रमणलाई लिन सकिन्छ । पछाडिबाट आक्रमण गर्नु राज्यको कायरता हो । हिम्मत भए मधेस आन्दोलनका लिडरहरुलाई राज्यले देशविद्रोहको मुद्दा चलाओस् ।
आन्दोलनकारी दलहरु नै चिराचिरामा विभाजित भएको देखिन्छ नि ?
मधेस आन्दोलनमा धेरै दल सहभागी छन् । विभिन्न दलले आन्दोलन गर्दा केही फरक विचारहरु आउनु सामान्य हो । विशेष गरी मधेसी गठबन्धन र मधेसी मोर्चाका तर्फबाट आन्दोलन भइरहेको छ । यसलाई दुई चिरा भन्न मिल्दैन । आन्दोलनकारी दलका मुद्दा एउटै छन् । आन्दोनलमा विभिन्न दल समावेश भए पनि मधेसी मोर्चा र गठबन्धनले गरेको हो यो आन्दोलन । यसलाई विभाजित भन्न मिल्दैन ।
राजेन्द्र महतो र उपेन्द्र यादव बीच फाटो आएको भनिँदैछ । वास्तविकता चाहिँ के हो ?
यो कुरा उहाँहरुलाई सोध्नुपर्ला । जहाँसम्म लाग्दछ, यो आन्दोलनलाई मत्थर पार्न कसैले चालेको चालबाजी मात्र हो ।
मधेस आन्दोलनको दोषी चाहीँ को हो नि ?
राज्यपक्ष । खासगरी तीन दल नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेता दोषी हुन् । तीन दल कति इमान्दार छ भन्ने कुरा त विगतमा १६ बुँदे सहमति गरी संविधान पास भयो । त्यो पछि के कस्ता खेल भए तपाईं हामीले देखेकै छौं । कुन बेला सहमतिको नजिक पुग्दछ, कुन बेला सहमति टुट्छ । त्यो केही भन्न सकिँदैन ।
आन्दोलन अब कति लम्बिन्छ ?
यो आन्दोलनको आयू राज्यले किट्नुपर्दछ । मधेसी दल र मधेसका सांसद आन्दोलनको आयू निर्धारण गर्ने स्थितिमा छैनन् । त्यो निर्धारण गर्न ठाँउमा छैनन् । मधेश आन्दोलन सुरु भएको लामो समय वितिसकेको छ । तर अहिलेसम्म आन्दोलनकारीले उठाएका माग सम्बोधन भएका छैनन् । जबसम्म मधेसी जनताले हक अधिकार पाउँदैनन्, तबसम्म यो आन्दोलन रोकिने अवस्थामा हुँदैन ।
सरकारसँग के कुरा सहमति भए आन्दोलन टुंगिन्छ ?
हाम्रा मुख्यगरी चार वटा कुरा छन् । सीमाकंन, नागरिकता, सामानुपातिक र समावेशी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण । यी चार वटा कुरा मिलाएपछि आन्दोलनको औचित्य सकिन्छ । ९२ प्रतिशतको सहमतिमा संविधान जारी भयो भनिएको छ । तर यहाँका नेताहरुले विश्वको उदाहरण पनि हेर्नुपर्छ । छिमेकी मुलुक पाकिस्तानमा सय प्रतिशतको सहमतिमा आएको संविधान कति समय टिक्यो ? असोज ३ गते जुन संविधान जारी गरियो । त्यसको चार महिना बित्न नपाउँदै संशोधन गर्नुपर्ने अवस्था आयो । नेपालकै इतिहास हेर्दा पनि १०÷१० वर्षमा संविधान परिवर्तन गर्ने परिपार्टी बसिसकेको छ । त्यो परिपाटीबाट यो संविधान पनि अछुतो रहेन । यो दुःखद पाटो हो ।
तपाईंहरुले उठाउनुभएका कतिपय माग राज्यले संविधान संशोधन गरेर सम्बोधन गरिसकेको छ । अब तपाईंहरुलाई के ले आन्दोलित बनाइरहेको छ ?
संविधान संशोधन भएसँगै संघीय समावेशी मधेशी गठबन्धनले मुलुक एकांकीरुपमा अगाडि बढ्न खोजेको ठहर गरिसकेको छ । संशोधनले आन्दोलनरत् पक्षका माग सम्बोधन नगरेकाले हामीले यसलाई हचुवाको भरमा भएको संशोधन भनेका छौं र किमार्थ पनि स्वीकार गर्न नसक्ने हाम्रो बुझाई हो । हाम्रो लागि भनेर गरिएको संशोधनमा हाम्रो सहमति र समर्थन अनिवार्य आवश्यक थियोे । तर त्यसो नगरि सरकार र प्रमुख राजनीतिक दलले आफैंले सम्वाद र सहमतिको वातावरणलाई अवरुद्ध गर्न खोजेका छन् ।
मधेसी दलहरुको कुनै एजेण्डा नै छैन । त्यही कारण एजेण्डा विनाको आन्दोलन कति समय लम्बन्छ भन्ने पनि स्पस्ट छैन भन्ने गरिन्छ नि ?
मेरो गोरुको वाह्रै टक्का जस्तो तर्क चाँही कसैले नगर्दा पनि हुन्छ । मधेसी मोर्चाको ११ बुँदे मागलाई एजेण्डाको रुपमा लिन सकिँदैन ? गठबन्धनको ९ बुँदे माग छ त्यसलाई एजेण्डाका रुपमा लिन सकिँदैन ?
व्यवसायिक पृष्ठभूमिको मान्छे राजनीतिमा आउनुभयो ? राजनीति र व्यवसायलाई कसरी सँगसँगै लैजाँदै हुनुहुन्छ ?
२०२७ सालमा नेविसंघबाट मेरो राजनीति सुरु भयो । २०४५ सालमा बुवा बित्नुभएपछि व्यवसायमा हात हालियो । त्यो बेलादेखि पैतृक कारोवार हाम्रो टाउकोमा आइपुग्यो । ५० वर्षसम्म घरका लागि काम गर्ने र त्यसपछाडि समाज र देशका लागि काम गर्ने हाम्रो सोच थियो । अहिले मेरो आफ्नै हातमा व्यवसाय छैन । दाजु–भाइले सम्हाल्नुभएको छ ।
समाजवादी पार्टीमा लाग्न के ले आकर्षण ग-यो ?
जुन मुद्धा लिएर सरदसिंह भण्डारीले पार्टीको स्थापना गर्नुभयो । उहाँ रक्षामन्त्री रहँदा १० हजार मधेसी सैनिकको सामुहिक प्रवेशको चार बुँदे सहमतिको मुद्धा उठाएर रक्षामन्त्रीको पद छाड्नुभएपछि मलाई त्यसले साह्रै प्रभावित पा¥यो । हामी छिमेकी जिल्लाका पनि हौं । पहिलादेखि नै चिनिआएको मानिस पनि भएकाले उहाँले नयाँ पार्टीको स्थापना गरेलगत्तै म त्यसमा संलग्न भएँ ।
पार्टी पूरै व्यक्तिवादी ढंगले चल्ने गरेको छ भन्ने गरिन्छ नि ?
जहाँ जसलाई जे भने पनि छुट छ । राष्ट्रिय मधेस समाजवादी पार्टी नियमसंगत ढंगले नै चलिरहेको छ । पार्टीको साइज सानो÷ठूलो हुनसक्दछ तर पार्टी नियम भन्दा बाहिर गएर चलेको छैन ।













प्रतिक्रिया