काठमाडौं, ७ फागुन । राप्रपा नेपालका तीन जना मन्त्रीले स्थानीय विकास मन्त्रालयमा कसरी रजाइँ गरेका छन् भने यी साना उदाहरणले स्पष्ट देखाएको छ । ती मन्त्रीहरुले पदको दुरुपयोग गरेर दुई उपसचिव र एक शाखा अधिकृतलाई काजमा दोहोरो सुविधा दिइ राखेका छन् ।
काजमा आएका उनीहरुको हालिमुहाली बढेको देखेर जिम्मेवारी विहीन बनेका शाखा अधिकृत र उपसचिवहरुले ¥याल काड्ने गरेका छन् ।
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले उपसचिव दामोदर भारतीलाई निजी सचिव बनाएर दोहोरो सुविध दिइरहेका छन् ।
भारतीलाई बुढानीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको पनि जिम्मेवारी दिइएको छ । भारतीले मन्त्री थापाको निजी सचिवालय र कार्यकारी अधिकृतको तर्फबाट सेवासुविधा लिने गरेको स्रोतले जनाएको छ ।
त्यसै गरी राज्यमन्त्री कुन्तीकुमारी शाहीले पनि आफ्नै जिल्लाबासी गणेश शाहलाई आफ्नो निजी सचिवालयमा राखेकी छिन् । दैलेख जिल्लाको नारायण नगरपालिकाका कार्यकारी अधिकृत रहेका शाहलाई कुन्तीले दक्षिणकाली नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी दिएर आफ्नो निजी सचिवालयमा तानेकी हुन् । शाखा अधिकृत शाह कुन्तीका प्रिय पात्र कर्मचारी हुन् ।
सहायकमन्त्री विराजबहादुर विष्टले पनि उपसचिवलाई दोहोरो जिम्मेवारी दिएर निजी सचिवालयमा राखेका छन् । चागुनारायण नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेललाई सहायकमन्त्री विष्टले दोहोरो जिम्मेवारीसहित राखेको एक उपसचिवले बताए ।
स्थानीय विकास मन्त्रालयमा करिव २० जना शाखा अधिकृत र दश जना उपसचिवहरु कामविहीन बसेका छन् । उनीहरुको काम भनेको विहान साढे दश बजे मन्त्रालयमा आउने हाजिर गरेर क्यान्टिनमा गएर चिया पिएर घर जानेभन्दा अरु केही छैन ।
जिम्मेवारी माग्दासमेत स्थानीय विकासमन्त्री थापाले ती शाखा अधिकृत र उपसचिवहरुलाई उचित स्थानमा पठाउन नसकेको आरोप छ ।
ठूलाठूला भाषण गर्दै हिँड्ने गरेका मन्त्री थापाले आफैले नियम मिचेर कर्मचारीलाई राखेपछि स्थानीय विकास मन्त्रालयभित्र विरोध सुरु भएको छ ।












प्रतिक्रिया