– घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य, नेकपा एमाले
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र विभिन्न समस्या विद्यमान छन् । तीमध्ये एक प्रमुख समस्या गुटबन्दी हो । जसका कारण पुराना नेताले अवसर पाएका छैनन् । जुनियर नेता धमाधम माथिल्लो पदमा पुगिरहेका छन् । तर, योग्यता र अनुभव भएका पुराना नेता अवसर नपाएर वर्षाैदेखि त्यही पदमा बस्न बाध्य छन् ।
यस्तै, गुटबन्दीको सिकार बनेका छन्– एमाले नेता घनेन्द्र बस्नेत । जो पाँच पटक नेकपा एमालेको केन्द्रीय सदस्य बनिसकेका छन् । अहिले पनि एमालेको केन्द्रीय सदस्य पदमै छन् । उनलाई पार्टीले उपभोक्ता हित तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी पनि दिएको छ । तर, उनी केन्द्रीय सदस्य पदबाट माथि उक्लिन सकेका छैनन् ।
अहिलेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै झापा आन्दोलनमा लडेका नेता घनेन्द्र एमालेका धेरै जेल बस्ने नेतामध्येका एक हुन । उनी राजनीतिक आस्थाका आधारमा १७ वर्ष जेल बसेका छन् । पहिलो पटक नख्खु जेल ब्रेक गर्ने उनलाई केहीले नेपालका नेल्सन मण्डेलासमेत भनेर चिनिन्छ ।
२००९ सालमा भोजपुरको कुलुङ गाविसमा जन्मिएका घनेन्द्रले जेलबाटै आफ्नो पढाई सकेका थिए । माध्यमिक तहसम्मको शिक्षा भोजपुरमै लिएका उनले आईएड वीरगन्जबाट पुरा गरे । २०२६ सालमा विद्यार्थीकालदेखि राजनीतिक जीवनको सुरुवात गरेका उनले अहिलेसम्मको यात्रालाई यसरी सुनाए–
म २०२६ सालमा विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको हुँ । २०२९ सालदेखि पार्टीमा आबद्ध भएँ । मेरो राजनीतिक जीवनको यात्रा वीरगन्जबाट सुरु भयो । त्यसबेला भारतमा नक्सलबादी आन्दोलन र चीनमा सांस्कृतिक आन्दोलन चलिरहेको थियो । दुबै आन्दोलनको प्रभावले नेपाली युवाहरुमा पनि क्रान्तिको प्रभाव परेको थियो । त्यसैबीचमा हामीले पनि युवा माझ राजनीति सुरु ग¥यौं । त्यो बेला झापामा नक्सलवादी आन्दोलन र सशस्त्र आन्दोलन सुरु हुन लागेको थियो । त्यहाँ साथीहरुले बोलाए । म वीरगन्जबाट झापा लागे । सिधै आन्दोलनमा सहभागी भए । कडा भूमिगत संगठनात्मक काम सुरु भयो ।
त्यसपछि म झापा संघर्ष कमिटीमा संगठित भएँ । त्यहाँबाट जिल्ला कमिटीमा सहभागी भएँ । त्यस क्रममा भूमिगत अवस्थामा २०३० साल कात्तिक ७ गते झापामा पक्राउ परें । हामीलाई झापा जेल, वीरगन्ज जेल हुँदै काठमाडौं जेल ल्याइयो । त्यसपछि नख्खु जेल लगियो । २०३३ साल चैत १२ गते हामी १५ जना साथी नख्खु जेलमा सुरुङ खनेर ‘जेल ब्रेक’ गरेर हिँड्यौं । चार दिनपछि पाँच जना साथी पक्राउ पर्यौं । नरेश खरेल र म पथलैया (बारा) मा पक्राउ पर्यौं । नारद वाग्ले, भिष्म धिमात र धर्म घिमिरे अलग–अलग ठाउँमा पक्राउ परे । तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेपछि हामीलाई वीरगन्ज जेलमा राखेर एक महिनासम्म यातना दियो । त्यसपछि काठमाडौं ल्याएर नख्खु जेलमा नेल हतकडीसहित गोलघरभित्र राखेर करिब अढाई वर्ष यातना दियो । त्यसबेलाको यातना अत्यन्तै कडा थियो ।
त्यहीबेला चीनका कम्युनिष्ट नेता तेङसियापिङ नेपाल आए । सरकारले हामीलाई पनि जेलको गोलघरबाट बाहिर निकाल्यो । हामीले जेल यातना बन्द माग गर्दै अनशन शुरु गर्यौं । त्यसपछि २०३६ सालको जनआन्दोलनले वातावरण खुकुलो बनाउन सहयोग पु¥यायो, र सरकारले पनि नेपाली कांग्रेसलगायतका थुप्रै राजनीतिक बन्दी रिहा ग¥यो । तर, हामीलाई छोडेन । हामी पनि राजनीतिक बन्दी हौं छोड्नुपर्छ भनेर हामी अनशन बस्यौं । तर पञ्चायती सरकारले सुनेन । नख्खु जेलमा ५९ दिनसम्म कैदीबन्दीको अधिकार मागेर पिकेटिङ गर्दै नाराबाजी गर्यौं । हाम्रो दबाब ज्यादै बढेपछि केहीलाई सरकारले छाड्यो । तर, म लगायत केहीलाई भ्रदगोल जेलमा सारियो । २०४६ साल पुस १९ गते संयुक्त जनआन्दोलन सुरु हुनुभन्दा केही अगाडि आममाफी दिएर हामीलाई पनि छाडियो । त्यसबेला मोहनचन्द्र अधिकारी, नरेश खरेल र म लगायतका साथी छुटेका थियौं ।
जेलबाट छुटेपछि हामी पहाडि क्षेत्रतर्फ लागेका थियौं । बहुदलीय व्यवस्थाको माग गर्दै २०४६ साल फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलन घोषणा भयो । तर, मलाई फागुन ४ गते नै पञ्चायती सरकारले भोजपुरमा पक्राउ गर्यो । आन्दोलनको तयारीका लागि गाउँ गएका बेला मलाई घरबाटै पक्राउ गरी भोजपुर जेलमा राखियो । म जेलमा भए पनि बाहिर भने जनआन्दोलन चर्किंदै गयो । चैत २७ गते जनआन्दोलन सफल भयो, बहुदलीय व्यवस्थाको घोषणा भयो र हामी २८ गते जेलबाट छुट्यौं ।
बहुदल आएपछि म नेकपा एमालेको कोशी अञ्चल कमिटीमा संगठित भए । संखुवासभाको एमाले पार्टी सचिव बनें । र जनआन्दोलनको सफलतापछि कोशी अञ्चलमा व्यापक राजनीतिक विचार प्रचार प्रसार गरें । कोशी अञ्चल कमिटी दुरुस्त गर्ने काम सचिव भएर गरें ।
जनआन्दोलनपछि २०४८ सालमा भएको आम निर्वाचनमा मलाई पार्टीले संखुवासभा क्षेत्र नम्बर २ को टिकट थियो । म सांसदमा निर्वाचित भएँ । त्यसपछि तुरुन्तै पार्टी केन्द्रीय कमिटी सदस्य बने । साथै कोशी अञ्चल सचिव भएर पनि जिम्मेवारी निर्वाह गरें ।
२०४९ सालको पार्टीको पाँचौ महाधिवेशनमा म केन्द्रीय कानुन विभागमा सदस्य बनें । २०५४ को छैठौं महाधिवेशनबाट फेरि केन्द्रीय कमिटीमा निर्वाचित भएँ । २०५१/५२ मा एमालेको लोकप्रिय सरकारका बेला म उच्चस्तरीय भुमि सुधार आयोगको सदस्य बनें । आयोगले देशभर अध्ययन गरेर भूमि समस्या र त्यसको समाधानबारे सरकारलाई प्रतिवेदन बुझायो ।
त्यसपछि जनकपुर अञ्चलको इन्चार्ज बनें । पार्टीले २०५६ सालमा भएको निर्वाचनमा मलाई भोजपुरबाट उम्मेदवारी दिन लगायो । म भोजपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएँ । त्यो क्रममा मेची अञ्चल इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरें । फेरि २०६२/६३ को जनआन्दोलनको सफलतापछि कानुन विभाग प्रमुख भएर पार्टीमा काम गरें । माधव नेपाल नेतृत्व सरकारका बेला बैज्ञानिक भुमिसुधारसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष बनेर काम गरें । सरकारलाई सुझावसहितको प्रतिवेदनसमेत बुझाएँ ।
सातौं महाधिवेशनबाट पनि केन्द्रीय कमिटीमा चुनिए । आठौं महाधिवेशनपछि केन्द्रीय सल्लाहकार कमिटीको सदस्य रहें । नवौ महाधिवेशन पश्चात अहिले म केन्द्रीय सदस्य तथा उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको प्रमुख भएर काम गरिरहेको छु ।
राजनीतिमा उतारचढाव भइरहँदो रहेछ । म अहिलेसम्म पार्टी केन्द्रीय कमिटीको सदस्यसम्म मात्रै छु । त्यसका अनेकौ कारण छन् । पहिलो पार्टीभित्र रहेको गुटबन्दी नै हो । त्यसपछि पक्षधरता, उचित छनोट, कामको ठीक मुल्यांकन गर्ने परिपाटीको अभाव । एमालेमा लामो समयदेखि यही अभाव खड्गिरहेको छ ।
गुटबन्दीपूर्ण प्यानलवादको परिणाम स्वरुप कमजोर मानिस अगाडि बढ्ने परिपाटी छ । कयौं इमान्दार सिनियर व्यक्तित्व पछाडि परेका छन् जसमा म पनि परेको छु । झापा आन्दोलनका सहकर्मीमध्ये प्रधानमन्त्री बनेको यो पहिलोपल्ट हो । केपी ओली नै पहिलो व्यक्तित्व बन्नुभयो । हामी एउटै आन्दोलनबाट आयौं । तर, अब केपी ओली हामीभन्दा अगाडि हुनुहुन्छ । उहाँहरु (केपी ओली, सिपी मैनाली र राधाकृष्ण मैनाली) १४ वर्षमै जेलबाट छुट्नुभयो । हामी १७ वर्षमा छुट्यौं । त्यसैले उहाँहरुले धेरै अवसर पाउनुभयो । नेतृत्वमा पुग्नुभयो । आन्दोलनको एउटै बाटोबाट आए पनि उहाँ सर्वाेच्च पदमा हुनुहुन्छ ।
सवाल के हो भने पार्टीमा स्वस्थता, स्वच्छता, विवेक र मुल्यांकन गर्ने परिपाटी खस्किँदै गएको छ । यसलाई दुरुस्त नगर्ने हो पार्टी रहँदैन । कयौं अवसर पैदा हुन्छन् । ती अवसर बारम्बार एउटै व्यक्तिले पाउँदा नराम्रो सन्देश जान्छ । पार्टीका लागि ज्यान दिनेहरुको अपमान हुन्छ । नेताको नेतृत्व अनुकुल हुनु वा नहुनुले अवसर प्राप्ति, नेता कार्यकर्ताका बीचमा विवेकको कम ख्याल गर्ने, योग्यता क्षमता भन्दा अन्य कारणले व्यक्ति छनोट हुनुले आन्दोरलन र पार्टीलाई क्षति गर्छ । यस्तो हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।
विद्यमान गुटबन्दी, पक्षधरताका आधारमा गरिने विभेद र दिइने जिम्मेवारी जस्ता विषय हानीकारक हुन भन्ने मान्यता राख्छु । पार्टीभित्र रहेका यी कमीकमजोरी सुधार गर्नुपर्छ । पार्टी नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्छ । नीति निर्धारण गर्ने कुरामा सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको परिपाटीलाई स्थापित गर्नुपर्छ । पार्टीभित्र हुर्किदै गएको गलत संस्कृति निरुत्साहित गर्न वैचारिक नैतिक प्रशिक्षण व्यापक रुपमा सञ्चालन गर्नुपर्छ ।
कार्यकर्ताको कामको मुल्यांकन परिभाषित जिम्मेवारीका आधारमा गर्ने परिपार्टी बसाल्नुपर्छ । पार्टीको जिम्मेवारीमा बसेकाहरु सम्पूर्ण कार्यकर्ताको नेता बन्न सक्नुपर्छ । जिम्मेवारी दिएका बेला उसले समाज र पार्टीमा गरेको योगदानलाई आधार बनाइनुपर्छ ।
वास्तवमा यसरी अगाडि जाने हो भने नेकपा एमालेको भविष्य उज्ज्वल छ । आमुल परिवर्तनका निम्ति नेतृत्व गर्नसक्छ । यदी यसो नगर्ने हो यी भनिएका कामहरु पुरा गर्न सकिँदैन् ।
अन्तिममा मुलुक अहिले ज्यादै कठिन अवस्था छ । भूकम्पपीडित जनता मधेस आन्दोलनले झन पीडित भएका छन् । वर्तमान सरकारले यी सबै कुरालाई देशको हितमा जनताको हितमा राष्ट्रियताको सम्बद्र्धन र संरक्षणको पक्षमा सबै दलको राजनीतिक सहमति बनाएर उपयुक्त निकास दिनुपर्छ ।
राजनीतिक क्रान्ति धेरै भए अब नेकपा एमालेले आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गर्नुपर्छ । त्यसको नेतृत्व अहिलेको सरकारले नै लिनुपर्छ ।
प्रस्तुति : कमलराज भट्ट













प्रतिक्रिया