
काठमाडौं, ६ फागुन । शुक्रबार दिउँसो भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीको संख्या थपिर्एको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिकाका साथ उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल हुनुहुनेछ ।
यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनुहुनेछ । नेपाल र भारतस्थित नेपाली दूतावासबाट गरी भ्रमण दलमा कुल ५२ जना रहनुहुने परराष्ट्रमन्त्रालयका सचिव शंकर वैरागीले जानकारी दिनुभयो । यसअघि नेपाली टोलीमा ४६ जना राखिएको थियो ।
सचिव वैरागीले सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनःनिर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदान, बहुप्रतिष्ठित पञ्चेश्वर जलविद्युत आयोजनाको शीघ्र सञ्चालन आदिबारे छलफल हुने जानकारी दिनुभयो ।
भारतमा के–के गर्दैछन् ओली ?
प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ । भ्रमण कार्यक्रमानुसार प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नुहुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ ।
यस्तै उहाँले भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । उहाँ प्रमुख भारतीय सञ्चारमाध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नाका साथै गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यबारे जानकारी लिनुुहुनेछ ।












प्रतिक्रिया