
– विमल योगी
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको १३ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आंकाक्षी खुल्न थालेका छन् ।
आगामी फागुन २० देखि २३ गतेसम्म महाधिवेशनबाट पार्टीको नेतृत्व लिन उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता देउवा आकांक्षी देखिएका छन् ।
यसैक्रममा विहीबार वरिष्ठ नेता देउवाले आफू सभापति पदमा उठ्ने घोषणा गरेका छन् । आफ्नै निवास बुढानिलकण्ठ दरबारमा कांग्रेस निकट केही पत्रकाहरुसँग अनौपचारिक छलफल गर्दै नेता देउवाले भने- सभापति म बन्छु । मलाई उपयुक्त हुन्छ । मैले इच्छा गरेको छु ।’
उनले यसविषयमा उपसभापति रामचन्द्र पौडेलसँग पनि कुरा गर्ने बताए । ‘पौडेलजी सँग कुराकानी गर्छु । उहाँलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु । म पार्टी हाक्छु । पार्टीलाई एकीकरण गर्छु । कार्यकर्तालाई न्याय दिलाउछु ।’

नेता देउवाले पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेर आफू सभापति बन्ने योजना सुनाए । उनले भने- ‘मेरो जात मात्रै कोइराला होइन् तर, म पनि कोइराला परिवारको सदस्य हुँ ।’
नेताहरु विमलेन्ध्र निधी, रमेश लेखक, पूर्ण बहादुर खड्का लगायतलाई अगाडि राखेर बुढानिलकण्ठ दरबार देउवाले आफूमाथि लगाइएको दरबारियाको आरोप खण्डन गर्दै भने- ‘जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालापछि म दोस्रो जननिर्वाचित प्रधानमन्त्री बने । पहिलोपटक उहाँ (विपी)लाई र दोस्रो पटक मलाई अपदस्थ गरियो । जेलमा हालेर नजरबन्दमा राखियो । म कसरी राजवादी भए । म दरबारिया होइन् ।’
नेता देउवालाई २०६१ साल माघ १९ पूर्वराजा ज्ञानेन्द्रले अपदस्थ गरी सत्ता हातमा लिएका थिए ।












प्रतिक्रिया