काठमाडौं, ६ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको सहकार्यमा विगत छ महिनादेखि तराईमा आन्दोलन गर्दै सद्भावना पार्टीले मुलुकको समग्र राजनीतिक विषयमा समीक्षा गर्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकमा मधेसी मोर्चाको आन्दोलन, नाकाबन्दी, पार्टीको गतिविधि र अन्य राजनीतिक विषयहरूमा गम्भीर समीक्षा हुने महासचिव मनीष सुमनले जानकारी दिए । ‘आन्दोलनको समीक्षा गर्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठक बोलाएका छौँ’, उनले भने, ‘अब नयाँ ढङ्गले अगाडि बढ्ने विषयमा कुराकानी हुन्छ ।’
मधेसी मोर्चामा आएको खटपट र भावी आन्दोलनलाई अन्य राजनीतिक दलहरूसँग कसरी अगाडि बढाउने भन्ने विषयमा पनि सद्भावना पार्टीले छलफल गर्नेछ ।
तराई मधेस आन्दोलनका क्रममा सद्भावना पार्टीको बैठक लामो समयदेखि बस्न सकेको छैन । पार्टीको बैठक नबोलाएको भनेर केही नेताहरूले अध्यक्ष महतोको आलोचना समेत गरेका थिए । आलोचनाबाट बच्न बैठक बोलाएको स्रोतको भनाइ छ ।












प्रतिक्रिया