काठमाडौ, ५ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदूत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए ।
उनले भने– ‘पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फ्रुटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’
राजदूत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने- ‘हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भूकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’
राजदूत रेले प्रगाढ सम्बन्ध भएका दुई मुलुकवीच अलि अलि समस्या आउनु स्वभाविक भएको भन्दै सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरु अझै बलियो बनाउने पक्षमा रहेको बताए ।
उनले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुर्ननिर्माणको विषयमा ठोस धारणा आउने भन्दै सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे ।
राजदूत रेले सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखवीच र्भरहेको छलफल सकारात्मक भएको भन्दै पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भए पछि आफै अन्त्य भएर जाने दावी गरे ।
राजदूत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपी उनले यी विषय नेपालको आन्तरिक मामिला भएको बताए ।
यस्तो छ रहस्यः
रिपोर्टर्स क्लबमा आज भारतीय राजदूतले बोलेका कुरालाई मध्यनजर गर्ने हो यसपालीको भारत भ्रमणमा पनि नेपालले केही न केही गुमाउने निश्चित छ भने भारतले ठूलै सफलता हात पार्ने देखिन्छ । त्यहीकारण काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासमा राजदूत खुसीले गदगद भएका छन् ।
प्रधानमन्त्री ओलीलाई चीन जान रोकेर पहिला भारत भ्रमणमा लैजानु, नेपालका नदीनालामाथि आँखा गाडेको र त्यसलाई जलविद्युत उत्पादनको बहानामा असमान सन्धि सम्झौताको तयारी लगायतका विषय निकै महत्वपूर्ण मानिएको छ ।












प्रतिक्रिया