२९ आश्विन २०८३, बिहिबार

सहर, सम्वाद र नयाँ पुस्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

लेखक
लेखक

हप्ताको ६ दिन मेरो दिनचर्या करिब–करिब एउटै हुन्छ । एक दिन मेरो कार्यालय विदा हुने भएकाले म बुधबारबाहेकका हरेक दिनको उस्तै यात्रामा हुन्छु । अनामनगरदेखि बानेश्वरमा रहेको कार्यालयका लागि सम्भवतः ५/१० मिनेटको फरक (अपवादबाहेक)को यात्रा उस्तै हुन्छन् । दैनिक साँझ ४ बजेको समय अनामनगर छाड्ने र त्यसको १० मिनेटको आसपास बानेश्वर पुग्ने मेरो दिनचर्या हो । म टेम्पुमा जाने भएकाले बानेश्वरको चौडा सडकको पारिपट्टिको कार्यालय जानका लागि दुई सय मिटरभन्दा बढि मेरो पैदलयात्रा हुन्छ । यहि यात्राका क्रममा एक÷दुई मिनेटको फरक चौडा सडक पार गर्नमा खर्चिनुपर्छ । किनभने यहाँ ‘स्काई व्रिज’को आवश्यकता देख्छु । अन्यथा जेब्रा क्रसिङमा हुलभन्दा हुलमा छिरेर अपरिचित अनुहारहरुसँग आँखाचार र धकमधक्का गरेर सडक काट्नुको विकल्प मसँग अहिलेसम्म छैन । जुनदिन बानेश्वरमा स्काई व्रिज बन्ला, त्यसवखत यो आलेखको औचित्य समयको अनुकुलतासँग मेल खाँदैन । मेरो यो दिनचर्यामा अनेक मान्छेका झुन्डहरुका अनेक कुराकानीहरु, खिसिपिटीहरुसँग मेरा आँखा र कानहरुले साउती मार्नु अस्वाभाविक होइन । समान घटना हुन् यी, सहरको पैदलयात्रीका लागि । कहिलेकाँही सार्वजनिक यातायातका अनौठा संवादले ध्यान खिच्छ, कहिलेकाँही सडकपेटीका जोडीको संवादसँग सामिप्य हुन्छन्, मतिष्कहरु, यात्रा निरन्तर एउटै भए पनि । यो निरन्तरतामा केही समय अघि एउटा फरक समूहको संवादले मेरो ध्यान खिच्यो । सायद त्यो समूह कुनै कलेजका ११/१२ कक्षामा पढ्ने विद्यार्थीको थियो । समूहमा केही किशोर त केही किशोरी थिए । र, संवादहरु गजवको हुँदै थियो । उनीहरुको संवाद सुन्दै म पनि पछि पछि लम्किरहेको थिएँ । उनीहरुले मेरो चालमा कुनै हेक्का राखेका थिएनन् र मैले उनीहरुको संवादमा राखेको चासोलाई बुझ्ने त कुरै भएन । संवादका विभिन्न चरण सुन्दै जाँदा दशकअघिको आफ्नो समय सम्झिनु मेरा लागि नयाँ थिएन । संस्मरणमा फर्किने र उनीहरुको संवादमा घोत्लिने निरन्तरता ममा जारी थियो । संवादकै क्रममा गललल.. हाँसेको समूहकी एक किशोरीले भनिन्– म भर्जिन छु । अगाडीको संवाद सुन्ने मौका पाइएन, मेरो कार्यालयको मुख्यद्वार आइसकेको थियो ।

मसँग त्यो समूहको संवादमाथि घोत्लिनुको अर्को विकल्प थिएन । काठमाडौं सहर, यो धनाड्यहरुको समुदायको वर्चश्व र शासन भएको सहरका रुपमा व्याख्या गर्दैगर्दा उत्तरआधुनिक समाजको प्रतिविम्ब अगाडी राख्नु उपयुक्त ठहर्छ । जीवनको ढाँचा कोही यथार्थमा बाँचिरहेका हुन्छन्, कोही ढर्रामा गुजारिरहेका हुन्छन्, यो उत्तरआधुनिक सहरमा । बहुसंख्यक मान्छेहरु उत्तरआधुनिक बन्ने दौडमा भेटिन्छन् । अहिलेको पुस्ताको यो संवाद सहरको दौडमा सामान्य उद्धरण बन्न सक्छ । आउँदै गरेको पुस्ताको सडक संवादलाई गम्भिरताका रुपमा व्याख्या गर्नु पनि उपयुक्त हुँदैन, अति सरल भन्दै अपव्याख्या गर्नु पनि उचित हुँदैन । अनि के हुन्छ त ? यो युरोपियन कल्चरमा हुर्किएको समाजको प्रतिविम्ब, ‘सेक्सुअल कन्भर्सेशन’ सहरमा सामान्य हुँदै गएको उदाहरणका रुपमा व्याख्या गर्न मिल्दछ । तर के यो समाजको सरल संवादको आधारविन्दुभित्र पर्दछ त ? म यहि प्रश्नोत्तरभित्र रुमल्लिरहेको थिएँ ।

  • सम्भोगमा कहिले पनि सहभागी नभएको मानिसको अस्तित्वलाई ‘भर्जिनीटी’ भनिन्छ । ‘म भर्जिन छु’ भन्ने ल्याकत त्यसले मात्र राख्दछ जो उल्लिखित परिभाषाभित्र पर्दछ । मानिसको यस्तो अस्तित्वलाई सांस्कृतिक र धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिन्छ ।

  • उत्तरआधुनिक बन्ने ध्याउन्नमा हामीले हाम्रा पुस्ताको सरल संवादको भविष्यको दिशानिर्देश के हुने हो ? जसरी सडकमा खुलेआम आजको पुस्ता ‘भर्जिनीटि’को बारेमा व्याख्या गरिरहेका हुन्छन् के यो वातावरण घरभित्र पनि छ ?

  • आजको पुस्ता भोलिका लागि प्रगतिशील भविष्य बन्ने हो भने ताराहरुले डाहा गर्ने जुन बन्ने कोशिशमा लाग्नु अनिवार्य छ । उत्तरआधुनिक समाजको पछ्यौरी समातेर उडन्ते बन्नुभन्दा पनि भविष्य निर्धारणको मार्गलाई समात्नु बुद्धिमता हुनेछ ।

सम्भोगमा कहिले पनि सहभागी नभएको मानिसको अस्तित्वलाई ‘भर्जिनीटी’ भनिन्छ । ‘म भर्जिन छु’ भन्ने ल्याकत त्यसले मात्र राख्दछ जो उल्लिखित परिभाषाभित्र पर्दछ । मानिसको यस्तो अस्तित्वलाई सांस्कृतिक र धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिन्छ । खासगरी, अविवाहितका हकमा यसको व्याख्या महत्वपूर्ण हुन्छ । ‘भर्जिनीटी’को धारणा सामान्यतया नैतिक र धार्मिक रुपमा सामाजिक अस्तित्वसँग पनि जोडिएको हुन्छ । सामाजिक अस्तित्वको परिभाषा ति किशोरीलाई त पक्कै पनि थाहा थिएन, उनको अभिव्यक्ति र व्यवहारले देखाइरहेको थियो । तर, उनको यो व्यवहार भने उत्तरआधुनिक सहरको व्यथा थियो, यत्ति निर्णय गर्न भुलचुक हुनेछैन । तर, आजको पुस्ताले पनि सामाजिक अस्तित्व र सहरको व्यवहारिकतालाई बुझ्ने प्रयत्न अनिवार्य छ । लेखिका मलिना मारचेट्टाका अनुसार मानिसहरुले व्यक्तित्व गुमाउने क्रममा आफ्नो भर्जिनीटि पनि गुमाइरहेका हुन्छन्, जव उनीहरुले ठूलो सम्झौतामा हात हाल्छन् । यर्थात्, बस्तुगत रुपमा पनि भर्जिनिटी गुमाउनु सामान्य भइसकेको छ, जब लाभदायक सम्झौता अगाडि भेटिन्छन्, पाइन्छन् । ति किशोरीले भविष्य निर्माणको यात्रामा अहिले गुमाउनुपर्ने पनि केही थिएन, अझ केही वर्ष केही सम्झौता पनि आवश्यक छैन । आवश्यक छ, यो सहरको व्यवाहारिकता बुझ्ने शैलीमात्र ।

भर्जिनीटी, यो व्याख्या सेक्ससँग जोडिएको हुन्छ । सेक्स त्यस्तो विषय हो जुन संसारमा सवैभन्दा बढि बिक्री हुन्छ । तर, यो विषयलाई कसरी बुझ्ने र कसरी बुझाउने नयाँ पुस्तालाई ? भन्ने दूरीका कारणले गर्दा यस्ता संवादहरु पैदलयात्री किशोरकिशोरी नजिक छन् । स्वभाविक हो, उमेरको तरंगसँग झन्कारका रुपमा सेक्स संवाद निक्कै पेचिलो भएर आउँछ तर संस्कारलाई जीवित राख्नका लागि पनि एउटा समुदायको परिवारले आफ्नो सन्तानको अहिलेको एटिच्युडमा ध्यान दिन जरुरी छ । जीवन भनेको एउटा पुस्तकालयजस्तै हो, जहाँ हर साइजका पुस्तक समावेश हुन्छन् । यो भिडमा मान्छेले आफ्ना अनेक कुराहरु विर्सिरहेका हुन्छन्, छाडिरहेका हुन्छन् किताबी ज्ञानसँगै जसरी भर्जिनीटि पनि हराइरहेको हुन्छ । तर, अब हराउन दिन हुँदैन । दुई धारमा विभाजित विश्व समुदायलाई व्याख्याका हिसावले हेर्ने हो भने पूर्वीय बजारले पश्चिमा बजारसँगको स्पर्धा कति हदसम्म गर्ने ? कुन विषयमा गर्ने भन्ने बहस छ । पश्चिमा खुला समाजले प्रतिपादन गरेको सेक्ससँग सम्बन्धित संवादको आन्तर्यलाई बुझेर बहसमा ल्याउने की, नबुझी भएका संवादहरुलाई अर्थपूर्ण बनाउन अझ थप शिक्षा दिने भन्ने बहस चल्नुपर्छ । भनिन्छ– भर्जिनीटि भनेको सुरक्षा जस्तै हो । जति सुरक्षाहीनको महसुस हुन्छ, असुरक्षित भएको भान हुन्छ भर्जिनीटिलाई पनि त्यसैसँग जोड्दा हुन्छ । तर, यो एकदमै नीजि मामला हो । तपाईंले कोही भर्जिन छ की छैन भनेर यत्तिकै फैसला दिन सक्नुहुन्न । यो एउटा सरल व्याख्या हो । तर, उत्तरआधुनिक बन्ने ध्याउन्नमा हामीले हाम्रा पुस्ताको सरल संवादको भविष्यको दिशानिर्देश के हुने हो ? जसरी सडकमा खुलेआम आजको पुस्ता ‘भर्जिनीटि’को बारेमा व्याख्या गरिरहेका हुन्छन् के यो वातावरण घरभित्र पनि छ ? तपाईंको कलेजका कक्षाहरुमा यस्तो खुला बहस छ ? कुनै विशेष कार्यक्रम, पारिवारिक समारोहमा यस्तो संवादहरुले मौका पाइरहेका छन् ? मलाई लाग्छ– संवाद सम्भवप्रायः छैन । यसो नहुनुको अर्थ हो, हामी आडम्बरी उत्तरआधुनिक समाजमा दौडिरहेका छौं । घरभित्रको निषेधको संवादले सडकमा स्थान पाइरहेका छन्, जहाँ सुन्नेले जिब्रो टोक्नु अस्वाभाविक होइन । तर, हामी यस्तो खुला समाजको परिकल्पना गरौं, व्यवहारिक समाजको खोजी गरौं जहाँ खुला बहस पनि होस् र संवादहरु पनि सरल बनुन् । त्यसका लागि परिवारदेखि शिक्षालय र समाजको पनि उत्तिकै भूमिका हुन्छ । नकी, एउटा सामान्य झुन्डमा खुलेर बोल्ने स्वतन्त्रता मात्र होइन, यसबारेमा बहस नै चल्नेछ । र, यस्ता संवाद सामान्य ठानिनेछन्, स्टेटमेन्टहरु सरल लाग्नेछन् की ‘म भर्जिन छु । म भर्जिन छैन ।’

भर्खरै यो वर्षको भ्यालेन्टाइन पनि सकिएको छ । यी सम्वादका प्रतिविम्ब र परिवारका दायित्व एकातिर छँदै छ, खुलेर रमाएको सहरको अर्को पाटो पनि त्यति नै भयानक छ । सहरमा लोकतन्त्र वा स्वतन्त्रता दिवस भन्दा पनि यौवन बिसाउन सक्ने दिवसको महत्व ज्यादा हुन्छ । त्यसकारण यही वर्षको १४ फेबु्रअरीले भरिएको जोडीयुक्त सहर, भरिभराउ रेष्टुरेन्ट र प्रेमपार्कहरुले नयाँ पुस्ताको जीवन स्वतन्त्र भएको पुष्टि त गरेकै थियो तर अधिक स्वतन्त्रता भएको पुष्टि पनि ग¥यो । पूर्वीय संस्कृतिलाई विर्सिएर पश्चिमा संस्कृतिको सूचकांकलाई माथिल्लो विन्दुमा राख्नका लागि अहिलेको पुस्ता अघि सरेको छ । चाहे त्यो संवादको विषयमा होस् या भल्गर बन्दै गएको भ्यालेन्टाइन अथवा ख्रिष्टमसहरुमा हुन् । अतः समाज, सहर र देशको भोलिको प्रतिविम्ब आजको व्यवहारले नै देखाउँछ । हामी त्यस्तो उत्तरआधुनिक समाजतिर नलम्किऔं जहाँ हाम्रा खोजहरुभन्दा ज्यादा आयातित मानसिकताको चर्चा ज्यादा हुनेछ । हाम्रो सांस्कृतिक बनोट भन्दा हामी आयातित कर्ममा बढि तल्लिन हुनेछौं । आजको पुस्ता भोलिको नीतिनिर्माता र मुलुकको भविष्य पनि भएका कारणले परिवार, समाज, समुदाय र मुलुककै लागि पनि आत्मसमिक्षा गर्दै अघि बढ्ने हो की ? अन्ततः आजको पुस्ता भोलिका लागि प्रगतिशील भविष्य बन्ने हो भने ताराहरुले डाहा गर्ने जुन बन्ने कोशिशमा लाग्नु अनिवार्य छ । उत्तरआधुनिक समाजको पछ्यौरी समातेर उडन्ते बन्नुभन्दा पनि भविष्य निर्धारणको मार्गलाई समात्नु बुद्धिमता हुनेछ । त्यसैले म लेखक ग्रे एलनसँग सहमति राख्दै अपिल गर्छु, नयाँ पुस्ता चम्किलो जुन बन्नसक्छन्, जसलाई मधुरा ताराहरुले डाहा गर्नेछन् । हामी यही बाटोतिर लम्किऔं, परिवार, समाज र मुलुक हर क्षेत्रले यहि विषय ध्यानमा राखौं ।