१५ कार्तिक २०८३, आइतबार

राष्ट्रिय यातायात महासङ्घका अध्यक्ष भण्डारीको निधनले कञ्चनपुरमा शोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-bhandari

भीमदत्तनगर, ४ फागुन । नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीको निधनले गृहनगर कञ्चनपुर शोकमा डुबेको छ ।

उहाँको काठमाडौँको त्रिपुरेश्वरस्थित काठमाडौँ अस्पतालमा हृदयघातका कारण सोमबार मृत्यु भएपछि कञ्चनपुरको निजी क्षेत्र कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, महाकाली सेती यातायात व्यवसायी समितिलगायत सङ्घसंस्था स्तब्ध भएका छन् ।

महाकाली सेती यातायात समितिका संस्थापकसमेत रहेका भण्डारी कञ्चनपुर उद्योग वाणिज्य सङ्घको संस्थापक सदस्य, यहाँस्थित होटल ओपेरा प्रालिका सञ्चालक तथा शिव शक्ति समूहलगायतका व्यावसायिक प्रतिष्ठानमा आबद्ध हुनुहुन्थ्यो ।

उहाँको निधनको शोकमा आज एक दिन भीमदत्तनगर बजार बन्द गर्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधव जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी महाकाली यातायात समितिका अध्यक्ष नवीन भट्ट नेतृत्वको एक व्यवसायीहरुको टोली पनि भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काठमाडौँ प्रस्थान गर्ने भएको छ ।

“भण्डारी सुदूरपश्चिमको मात्रै नभएर देशकै यातायात व्यवसायीको अभिभावक हुनुहुन्थ्यो ।” यातायात राष्ट्रिय महासङ्घका सुदूरपश्चिम क्षेत्रीय सचिवसमेत रहनुभएका माधव जोशीले भन्नुभयो–“देशभर छरिएर रहेका व्यवसायीलाई एउटै छाता सङ्गठनमा ल्याउने श्रय पनि उहाँलाई नै जान्छ ।”

भण्डारीले ०४०/४१ सालमा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली यातायातबाट यातायात क्षेत्रमा प्रवेश गरेको महाकाली यातायात समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिनुभयो । रासस