२४ कार्तिक २०८३, मंगलबार

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष भण्डारीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinesh Bhandari Ktmकाठमाडौं, ४ फागुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको हृदयघातका कारण निधन भएको छ ।

अध्यक्ष भण्डारीको सोमबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं हस्पिटलमा उपचारका क्रममा ६ बजे निधन भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘महासंघका राष्ट्रिय अध्यक्ष दिनेश भण्डारी ज्यूलाई असहज भएपछि परिवारजनले तत्काल त्रिपुरेश्वरस्थित अस्पताल पुगाउनु भएको थियो’, सिटौलाले भन्नुभयो, ‘सोह हस्पिटलमा उपचारका क्रममा भणडरी ज्यूको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।’

भण्डारीको शवलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । भण्डारीका छोराछोरीहरू विदेशमा रहेकाले उनीहरूको प्रतिक्षामा शवलाई केएमसीमा राखिएको महासचिव सिटौलाले जानकारी दिनुभयो ।

अध्यक्ष भण्डारीका पत्नीसहित ३ छोरी र १ छोरा हुनुहुन्छ । बैतडी जिल्लामा २०११ सालमा जन्मिएका भण्डारीको पुरानो घर कञ्जनपुर जिल्लाको महेन्द्रनगरमा हो । हाल उहाँ नयाँबानेश्वरमा घर बनाइ बसोबास गर्दै आउनु भएको थियो ।

यातायातको क्षेत्रमा लोकप्रिय व्यवसायीका रुपमा चिनिएका अध्यक्ष भण्डारीले महासंघको नेतृत्व ३ पटक सम्म लिनुभएको थियो । उहाँलाई यातायात व्यवसायी र मजदुरहरूको आग्रह एवम् दबावमा तेस्रो पटक अध्यक्ष बनाइएको थियो ।

यसैबीच महासंघले अध्यक्ष भण्डारीलाई अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम बनाउँदैछ । महासचिव सिटौलाका अनुसार भण्डारीको शवलाई महासंघको केन्द्रीय कार्यालयमा बालकुमारीमा राखेर श्रद्धाञ्जलि दिने तयारी गरिएको छ ।

त्यसैगरी महासंघको सोमबार राति बसेको आकस्मिक बैठकले महासंघको झण्डा आफ्ना कार्यालयहरूमा १३ दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । महासंघले आफ्ना कार्यालयहरू ३ दिनसम्म बन्द गर्ने निर्णय गरेको सिटौलाले बताउनुभयो ।

यातायात व्यवसायी तथा महासंघका अध्यक्ष भण्डारीको निधन भएपछि आफन्त र शुचेच्छुकहरू श्रद्धाञ्जलिका लागि केएमसी अस्पताल सिनामंगल पुग्ने क्रम बढेको छ । अस्पताल परिषरमा शुभेच्छुकहरूको भीड बढ्न थालेको सिटौलाले बताउनुभयो । (तस्बिर सौजन्य सरोज सिटौला)