काठमाडौं, ३ फागुन । ताप्लेजुङका महाधिवेशन प्रतिनिधि केशव दाहालको मोबाइलमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आइतबार दिउँसो ‘म्यासेज’ पठाउँदै भने, ‘म तपाईँको सम्पर्कमा रहिरहने छु ।’ म्यासेजमा उनले लेखेका थिए, ‘महाधिवेशन प्रतिनिधिमा चुनाव जित्नुभएकामा बधाई तथा शुभकामना ।’
आगामी २० फागुनबाट हुन गइरहेको कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने योजनामा रहेका वरिष्ठ नेता देउवाले आफ्नो नाम नै उल्लेख गरेर एसएमएस पठाएर बधाई सन्देश पठाइ महाधिवेशनमा सहयोग माग गरेपछि ताप्लेजुङका महाधिवेशन प्रतिनिधि निकै खुसी बने ।
‘मेरो मोबाइलमा शेरबहादुर देउवाको नामबाट म्यासेज आएको छ । म्यासेज पाएर म ज्यादै खुसी भएको छु,’ दाहालले भने । देउवाको नामबाट आएको म्यासेजले उनी देउवाप्रति यति धेरै प्रभावित बने की निर्वाचनमा देउवालाई नै सभापतिमा मत हाल्न आफू आतुर रहेको योजनासमेत सुनाए । ‘उहाँ (देउवा) ढुक्क भए हुन्छ, मेरो भोट उहाँलाई नै जान्छ,’ दाहालले भने । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया