काठमाडौं, ३ फागुन । १ देखि १५ फागुनसम्म हुने कुलपूजाका लागि खसीको जोहो गर्न काठमाडौं आएका राउटेहरूले तीन लाख ४० हजार नगद बोकेर जंगल फर्किएका छन् ।
२७ माघमा काठमाडौं आइपुगेका राउटेका तीन मुखिया सूर्यनारायण शाही, वीरबहादुर शाही र डिल्लीबहादुर शाही पाँच दिनपछि आइतबार जंगल फर्किएका हुन् ।
काठमाडौंमा उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री र वनमन्त्रीलाई भेटे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अछामबाट २६ माघमा नाइट बसमा यात्रा सुरु गरेका राउटेका तीन मुखिया २७ गते बिहान काठमाडौं आइपुगे । उनीहरू बानेश्वरको एक होटेलमा बसे । खाना खाए । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो । १२:३५ बजे राउटेहरू कोइरालालाई श्रद्धाञ्जली दिन रंगशाला पुगे ।
पार्थिव शरीरलाई एक फन्को लगाएर श्रद्धाञ्जली दिए । उनीहरूले कोइरालाको निधनमा दु:ख व्यक्त गरे । ‘हामीलाई चार लाख दिएका थिए, तर मर्नुभएछ, नबितेको भए हुन्थ्यो, बित्नुभयो त भयो के गर्ने,’ पत्रकारलाई राउटे मुखियाले जवाफ दिए । पाँच मिनेट रंगशालामा रहेका उनीहरू होटेल फर्किएर आराम गरे ।
राउटेहरूलाई होटेल बसाइ मन परेन । खाना पनि मन परेन । उनीहरू राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीको डेरामा सरे । अधिकारीलाई राउटेहरू भान्जी भन्छन् । उनीहरूलाई काठमाडौं बसुन्जेल अधिकारीकै डेरामा बस्ने र खाने व्यवस्था भयो । उनीहरू ब्रोइलर कुखुराका मासु खाँदैनन्, खसीको मासु खाए ।
२८ माघको बिहान १०:३० बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई भेट्न उपराष्ट्रपति कार्यालय, बहादुरभवन पुगे । ‘हाम्रो पेट भोको छ, हाम्रो जनताको पेट भोको छ,’ सूर्यनारायण शाहीले उपराष्ट्रपतिसँग भने, ‘हामी यता आइसकेपछि जनताले आशा गरेको छ, केही पनि नलिएर गएपछि जनताले हामीलाई मार्छ, जनता र कुलदेउतालाई खुसी बनाउनुपर्छ हामीले ।’ राउटेहरूले उपराष्ट्रपतिसँग खसी मागे । खसीको संख्या किटान गरेनन् । उपराष्ट्रपतिले खसी किन्नलाई आफ्नो तलबको रकम भन्दै ३० हजार दिए ।
उपराष्ट्रपतिलाई भेटेपछि अपराह्न २ बजे सभामुख ओनसरी घर्तीलाई भेट्न राउटेहरू संसद् सचिवालयमा पुगे । सभामुखसँग पनि राउटेहरूले कुलपूजाका प्रसंग निकाले र खसी मागे । सभामुखले खसी किन्न सहयोग गर्न बचन दिइन् । राउटेहरूको अधिकार संविधानमै सुनिश्चित गर्ने प्रयत्न गर्ने बताइन् । र, आइतबार राउटेलाई खसी किन्न आफ्नो तलबबाट २० हजार रुपैयाँ सहयोग गरिन् ।
अपराह्न १२ बजे प्रधानमन्त्रीलाई भेट्न राउटेहरू प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘पाइन्ट, सर्ट लगाउनुपर्छ, म किनिदिन्छु लाउनुहुन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लगाएको कपडातिर संकेत गर्दै राउटेलाई सोधे । ‘बरु हामी यस्तै मर्ने हो, त्यो पाइन्ट लाउने होइन,’ राउटेले जवाफ दिए ।
राउटेले सर्ट पाइन्ट नलगाउने भएपछि उनीहरूले लगाउँदै आएको जस्तै कपडा किन्न ओलीले आफ्ना स्वकीय सचिवलाई पठाए । स्वकीय सचिवले न्युरोड गएर कपडा किनेर ल्याइदिए । प्रधानमन्त्रीसँग राउटेहरूले कुलपूजाका लागि खसी र चामल माग्न आएको बताए ।
‘आज शुक्रबार भइसक्यो, भोलि शनिबार भयो, आइतबार आउनु म खसी किन्ने व्यवस्था गरिदिन्छु’ भनेर ओलीले राउटेहरूलाई बिदाइ गरे । आइतबार प्रधानमन्त्री निवासमा बोलाएर राउटे मुखिया वीरबहादुर शाहीलाई प्रधानमन्त्रीका सहयोगीले तीन लाख नगद दिए, ‘खसी किन्नु’ भन्दै ।















प्रतिक्रिया