
आँशुलाई थाम्न सकिँन, आफैंलाई धिक्कारेँ, समयको यो दौरानमा हुने परिवर्तनका खातिर के का लागि, सन्तुष्टि कि खोक्रो आडम्बर ! हिजोको त्यो स्वर्ग आज नर्क बनिसकेको रहेछ । आत्मा अनुभतिको यो रोदनलाई मल्हम लगाउन मँसगै कुनै पनि साधन थिएन । धुरुधुरु रोएँ, आत्मा नै भक्कानिएर आयो, त्यसलाई सम्हाल्न सकिनँ । यथार्थताभित्रको त्यो पल नै जीवनको साध्य रहेछ ! अरु सवै साधना मात्र !
गोरेटे बाटो, बाटोको बीचमा केही मानिसका त केही जनावरको पाईला, लाग्दथ्यो कुनै वेला यो बाटोले मानिसको यात्रामा सहजता थपेको थियो होला । कुनै दिन त्यही बाटो गरेर हजारौं यात्रीले आफ्नो गन्तव्य टोल्थे होलान् । त्यही बाटोका समिपमा देखिएका भत्किएका घरहरुले यही कुराको चित्रण गरिरहेको भान हुन्थ्यो । लामो दुरीमा देखिएका केही घरको अन्धभिडले कुनै जमानामा यहाँ वाक्लै वस्ती बसेको प्रतिक हुन्थ्यो । त्यही बाक्लो वस्तीको विच–विचमा भएका कहालीलाग्दो अवस्थामा रहेको खण्डहर घरहरुले झस्काईरहन्थ्यो । यी सवै दृश्यले एक्कासी मनमा धेरै कुराको तानोहरु मडारिन थाले । आत्मा भित्रभित्रै पोल्न थाल्यो । छट्पटाहट र उक्साहट, डर मिश्रित भावनाले मन नै उत्तेजित बनायो । श्वास बढ्न थाल्यो । सोचें, समय कति चाँडै बितिसकेछ । हिजोको त्यो मनोरम स्थान आज यति चाँडै उजाड बनिसकेछ । ढुङ्गाढुङ्गाको खण्डखण्डले बनाएको त्यो उकालो वाटो होस् वा आरोलो, पानी पँधेरा जस्तो लाग्ने ती स्थानहरु आज कहाली लाग्दो बनिरहेका छन् । मनभरि विभिन्न प्रकारका उकुशमुकुश भइरहेको थियो । हिजो भर्खर मात्र जस्तै लाग्दथ्यो त्यो ठाँउवाट वाहिरिएको । हावापानी, खानपिन, उव्जनी हरेक कुरामा अव्वल भए पनि महत्वाकांक्षी विचारका कारण हामी कहाँ रहेका छांै भन्ने कुरा सोच्न बाध्य बनायो । आफूलाई पर्दा पहाड देख्ने र अर्कालाई पर्दा तील सम्झने मानसिकताबाट हुर्किएका हामी, त्यही परिवेशमा गुज्रन पर्दा धेरै असहज बनिरहेको थियो । भौतिक शरीरलाई त्यो स्थानसम्म पु¥याउने यी पाङ्गाहरु अगाडि बढ्न पटक्कै मानिरहेका थिएनन् । तैपनि त्यो सवै अवरोधलाई चिर्दै गन्तव्यसम्म पुग्नुको विकल्प थिएन । मनभरि पीडा बोकेर पनि गन्तव्यमा पुगेर कतिबेला फर्कौं भन्ने मानसिकताले पिरोलेको थियो ।
जाडोको समय, विहानैको गन्तव्य, विहानीको त्यो चिसो स्याँठलाई त्यो उकालो वाटोमा सहजता थपे पनि शीतको त्यो अवरोधले वाटोमा देखाएको अवरोधको संकेतले कठोर बनाएको थियो । गोरेटो बाटो भरि उम्रिएका ती वोटविरुवालाई छिचोल्न सहज थिएन । दुवै खुट्टाको कामले साथ नदिँदा यी हातहरु पनि धर्तीमा टेकेर खुट्टाको त्यो कर्मलाई साथ दिइरहेका थिए । त्यति धेरै लामो बाटो तय गरिसक्दा पनि त्यो गोरेटो बाटोमा कसैसँग पनि भेट नहुँदा त्यहाँको वैरागीपनलाई उजागर गरिरहेको थियो । लामो उकालो घुम्ति, सिँढी पार गर्दै धेरै पर वल्ल गन्तब्यस्थल देखा प¥यो । गन्तब्यस्थलको दुरदृष्टिसँगै मनमा हलुका महशुश भएको अनुभुति भएको थियो । त्यसपछि मेरा नयनहरु गाँउतिर दौडन थाले । विगतका कुरा मानसपटलमा खेल्न थालिसकेका थिए । विगतका ती पलहरुले सम्झेर मन चञ्चल हुन थाल्यो । यात्राको समय लामै भए पनि मन र मस्तिष्क भने त्यही गन्तव्यमा पुगेर स्वर्गभोग गरिसकेको थियो । यात्रा छोटिँदै जाँदा त्यही यथार्थतालाई आत्मसात गर्न आतुर अभिलाषाहरु विस्तारै भत्कन थाले । घरनजिकैको चौताराले वाल्यकालमा सधैं बसेर शितलता मेटाउने ती साधनहरुको दृश्यावलोकन गर्न थाले । हिजोको त्यो हरियाली चौतारा आज पात विनाको खण्डहर जस्तै बनिसकेको रहेछ । हिजो शितल दिने त्यो चौतारा आज दुर्घटना निम्त्याउने साधन वनिसकेको रहेछ । मानव जातिको साथ विना एउटा वृक्ष पनि कहाली लाग्दो वन्ने रहेछ भन्ने दृष्टान्त त्यो रुख बनेको रहेछ । कसैको माया र साथ नहुदाँ कोही पनि रहन, फल्न र फूल्न सक्दैन रहेछ भन्ने कुराको आत्मावोध हुन पुग्यो । हिजो बाघचाल खेल्ने चौताराका ढुङ्गाहरु आज कहाँ पुगे, त्यसको जानकारी कसैलाई छैन । वरिपरिका वार्दलीहरु भत्केर लडिरहेका दृश्यले साँच्चै पोलिरहेको थियो । उजाडै उजाड त्यो दृश्यले भित्रदेखि नै दुखी तुल्यायो । हिजोसम्म जतिवसे पनि नअघाउने त्यो चौतारोको हविगतले सामिप्यता महशुश गराए पनि त्यो प्रदान गर्ने हैसियत मसँग थिएन । त्यसैले छिटोछिटो पाईला अगाडी वढाए ।
हिजोसम्मको पानीको पधेँरा आज अत्यन्तै टाढाको आभास भइरहेको थियो । गन्तब्यस्थलको नजिक पुग्दा आँखा रसाएर आए । लाग्दथ्यो त्यो घर पनि रोइरहेको छ । त्यो घरले पनि मेरो प्रतिक्षा गरिरहेको छ । मेरो मायाको आभास गरिरहेको छ । म आउने बाटो नियाल्दा आँखा पनि विझाईसकेको छ । निर्जिवको संज्ञा दिए पनि त्यो निर्जिव होईन, वोल्न नसके पनि र वोध गर्न नसके पनि अन्तरआत्मा रोएको छ । अनायासै मेरो प्रवेशले उसमा पनि खुशीको वहार छाएको छ, खुशीसँगै दुःखका पलहरु पनि जोडिएर आएको भान उसलाई भएको छ र त्यो मधुर भेटमा पनि सुक्कसुक्क रोईरहेको छ । नजर भरि टिल्पिएको आशुँका थोपालाई पुछ्दै भित्र छिरेँ । अन्धकार, निष्पट । मन नै भक्कानिएर आयो । हिजोसम्म त्यही भित्र वाहिर रहेर सुनौलो जिन्दगीका कल्पना गर्ने स्थान आज भत्किएको, छानो, चुहिएको, गाह्रोले कसैको पनि माया र सामिप्यता नपाउँदा ढल्ने अवस्थामा पुगेको छ । त्यही चारखुट्टे, जहाँ हामी भौतिक शरीरलाई अड्याउने गर्दथ्यौ । भुईंको त्यो चिसोमा गडेर भाँचिएको त्यो अवस्थामा नै अवरोलाई पन्छाउँदै म त्यो खोपीमा पुगे । जुन खोपीमा बसेर म अध्ययन गर्दथे । तर अचम्म त्यो खोपी त ढलिसकेको रहेछ । आशुँलाई थाम्न सकिनँ, आफैंलाई धिक्कारे, समयको यो दौडान मा हुने परिवर्तनका खातिर के का लागि, सन्तुष्टि कि खोक्रो आडम्बर ! हिजोको त्यो स्वर्ग आज नर्क बनिसकेको रहेछ । आत्मा अनुभतिको यो रोदनलाई मल्हम लगाउन मँसगै कुनै पनि साधन थिएन । धुरुधुरु रोए, आत्मा नै भक्कानिएर आयो, त्यसलाई सम्हाल्न सकिन । रुदाँ पनि अपनत्वको अनुभुति भइरहेको थियो । जे जस्तो भए पनि आत्मा आत्मा नै रहेछ, परिवर्तन जे जति भए पनि यथार्थतालाई तिलाञ्जली दिनु भनेको क्षणिक रहेछ । यथार्थताभित्रको त्यो पल नै जीवनको साध्य रहेछ ! अरु सवै साधन मात्र !















प्रतिक्रिया