काठमाडौं, २९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेका छन् ।
पार्टीको निर्णयअनुसार केन्द्रीय सदस्यद्वय रिजवान अन्सारी र राजकुमार यादवलाई निष्काशन गरिएको शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा अध्यक्ष यादवले हस्ताक्षर गरेका छैनन् । यादवले आफ्ना महासचिव रणध्वज कन्दङवालाई विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएका छन् ।
‘पार्टी विरोधी गतिविधि गरेको हुनाले पार्टीको निर्णय बमोजिम आजैको मितिदेखि निजहरुलाई पार्टीबाट निष्काशन गरिएको यसै विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष यादवले पार्टीमा निरंकुशता लादेको भन्दै अन्सारीले आफ्नै नेतृत्वमा समानान्तर पार्टी गठनको अभियान चलाएपछि संघीय समाजवादी फोरम नेपाल विभाजनको संघारमा पुगेको थियो । दुई केन्द्रीय सदस्यको कारबाहीसँगै पार्टीबाट केही नेताहरू टुक्रिएर बाहिरिने पक्का भएको छ ।












प्रतिक्रिया