
– विमल योगी
काठमाडौं, २९ माघ । प्रमुख तीन दल र पाँच महिनादेखि आन्दोलनरत मधेसी मोर्चाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सैद्धान्तिक सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रमुख तीन दलका शीर्ष नेता र मोर्चाको कार्यदलका सदस्यहरु(दोस्रो तहका नेताहरु)को बैठकले मधेस आन्दोलनका माग सम्बोधन गर्ने तथा सीमाकंनको विवादलाई राजनीतिक संयन्त्रबाट समाधान गर्ने सैद्धान्तिक सहमति भएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- प्रधानमन्त्रीको भारत भ्रमणका अगाडि मधेसका माग र सीमाकंनको विषयलाई टुंग्याउने गरी तयारी सुरु भएको छ । राजनीतिक संयन्त्र बनाउने कुरामा मोर्चा सकारात्मक छ । पर्सीसम्म औपचारिक सहमति हुन्छ ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि छलफल गरेर सबै विषयमा एकप्रकारको सहमति भइसक्ने विश्वास व्यक्त गर्नुभयो । आजको बैठकमा मधेसका माग तथा सीमाकंनबारे व्यापक छलफल भएको थियो ।
बैठकपछि मोर्चाका तर्फबाट सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर सीमांकन टुंग्याउने सैद्धान्तिक सहमति भएको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो- ‘एक दुई दिनभित्र टुंग्याउने किसिमले मोटामोटी सहमति भएको छ । आज सकारात्मक छलफल भएको छ । अब दुबै पक्ष गृहकार्य गर्छाै । र पर्सीसम्म मुर्त रुप दिन्छौं ।’
उहाँका अनुसार आगामी फागुन २ गतेभित्र सबै विषयमा टुंगो लगाउने तयारी तीन दलले गरिरहेको र मोर्चा पनि आन्तरिक गृहकार्यमा जुटेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेबाट झलनाथ खनाल, भीम रावल, कांग्रेसबाट रामचन्द्र पौडेल, शेर बहादुर देउवा, मोर्चाका तर्फबाट हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, रामनरेश राय यादव लगायतको सहभागी हुनुहुन्थ्यो ।












प्रतिक्रिया