काठमाडौं । झण्डै ४ बर्ष अघि, सुशील कोईरालाले प्रधानमन्त्रीको कुर्सी ताक्दै गर्दा हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोख्रेल उनकै नक्कल गरेर हाँस्य टेलिश्रृंखला मेरीबास्सैमा हिट भईसकेका थिए ।
नक्कली नेतालाई कलाकार बनाएर देशको बिग्रदो राजनीतिमाथि कथा बुन्दै आएका मेरी बास्सै निर्देशक सिताराम कट्टेलले राजा राजेन्द्रलाई चौरासीबाको नाम दिएर सुशील कोईरालाको नक्कल गर्न लगाएका हुन् । सुशील कोईरालाको नक्कल गर्दै हाँस्यकलाकारको रुपमा राजाराजेन्द्र पोखरेलले मेरी बास्सैमा उचाई बनाउँदै गर्दा कोईराला देशको प्रधानमन्त्री भए । राजा राजेन्द्र भन्छन् “यसपछि झन् चौरासीबा पात्रको चर्चा बढ्न थाल्यो । रेडियोको प्रस्तोता र स्टेजको कमेडी गर्दै आएकोे मेरा लागि यो फरक अनुभव त थिदै थियो । चौरासी बा भएर टिभीमा देखिन थालेपछि मेरो परिचयमा थप नाम जोडियो । दर्शक, पाठक र स्रोतामाझ म राजाराजेन्द्र त थिदै थिएँ । यो भन्दा पछाडि पनि जोडिन थाल्यो चौरासी बा, अनि म भएँ, राजाराजेन्द्र पोख्रेल चौरासी बा ।”
आज आर्यघाटमा पूर्व प्रधानमन्त्री स्व.सुशील कोईरालाको अन्तिम बिदाई हुँदै गर्दा उनकैै नक्कल गरेर चर्चा कमाएका राजा राजेन्द्रले कोईरालालाई यसरी सम्झिए ।
अनुहार मिलाउनै हैरानी
म स्टेजमा सबै नेताको क्यारिकेचर गथेँ । सुशील कोईरालाको क्यारिकेचर पनि । सिताराम कट्टेललाई, सुशील कोइरालाको अभिनय गर्ने मान्छे चाहिएको रहेछ । उनले मेरी बास्सैमा खेल्ने अफर गरे । हुन्छ त भनियो, दाह्रीआफैँ खोज्नुपर्ने । मेकअपम्यान गणेशसँग न्युरोड, भोटाहिटी, अशन डुलेँ । दाह्रीखोज्न समस्या । कर्लीदाह्री मात्रै भेटिने । सुशील कोईरालाको सिल्की दाह्री । त्यसमाथि पातलो । त्यसमाथि, पुरै अनुहारभरी । दाह्रीपातलो बनाउँदा, भित्रको जाली देखिने । बाक्लो बनाउँदा, कर्ली दाह्री म्याच नुहने । बढो मुश्किलले दाह्री बनाईयो । म कालो वर्णको । सुशीलदा गोरो वर्णको । मेकअप म्यानको पसिना छुट्थ्यो । मेरी बास्सैमा, तीन वटा चश्मा फेरेँ । उनको रोल निभाउँदा एउटा बुट्टे गलबन्दी लगाउनुपर्ने थियो । त्यो कहिल्यै छुटेन ।
सुटिङ गर्दागर्दै हातमा सुम्ला
एकचोटी चैँ नेताहरु पढ्न जाने, सर नआएर नेताहरुले ‘चीँ मुसी चीँ’ खेल्ने दृश्य थियो । सुटिङ गर्ने बेला मात्यो उमेरका नेताहरु ‘चीँ मुसी चीँ” खेलेको सम्झिएर एकदम हासो लाग्यो मलाई । हास्दाहास्दा सुटिङ नै गर्न सकिएन । पाँच–सात टेक गइसक्यो, हासै रोकिएन । त्यहीँ एउटा लौरो थियो, लौरले आफूले आफैलाई स्वाँटस्वाँट हिर्काएँ । त्यति गर्दापनि हासो रोकिएन । अनि त्यसपछि, हातको पछाडिपट्टी, पहिले सरले स्कूलमा कुट्नुभएको जस्तो, त्यहाँ लगातार ५,७ चोटी हिर्काएँ । त्यसपछि चैँ हातमा सुम्ला पनि बस्यो । अनि, हासो पनि नियन्त्रण गर्न सकियो ।
बल्छी ध्रुबेले धेरै पटक बोक्यो

संबिधानसभाको चुनाब दोस्रो, सकिएपछि बिजय जुलुस थियो । इकुडोलको डाँडामा विजयजुलुस । बल्छी ध्रुबेले मलाई बोकेर जुलुस हिड्नुपर्ने, अनि अरु पनि धेरै मान्छे । धेरै मान्छे भएपछि धेरै गल्ती हुन्छ । त्यहाँपनि धेरै टेक खाईयो । टेकदिदा, दिदा बल्छी ध्रुबे गलेर हैरान । गलेको झोँकमा काँधबाट खसियो भने ? तलतिर भीर छ फेरी । एकातिर बल्छी धु्रबेको माया लाग्यो । अर्कोतिर आफ्नै माया लाग्यो ।
सुशील कोईराला प्रधानमन्त्री भएपछि, चौरासीबा गाउँले प्रमुख भए । अनि, बल्छी ध्रुबे स्वकीय सचिव अर्थात पिए । उसले जहाँ लादा पनि बोकेरै लान्थ्यो । गाउँले प्रमुख जस्तो मान्छे बोक्नु भनेको त भाग्यको कुरा भन्दै बोक्थ्यो । तर, सुटिङ गर्दा चैँ सँधै हैरान । बल्छी ध्रुबे दुब्लो भएपनि, बलियो रहेछ भन्ने मलाई त्यही बेला थाहा भयो ।
प्रधानमन्त्री नै मै हुँ जस्तो पनि लाग्थ्यो
सिताराम कट्टेलले निर्देशन गर्दाखेरी, यस्तो भएन, फेरि गर्नुस्, हाउभाउ मिलेन, रि टेक गर्नुस्, डायलग यस्तो हो फेरि भन्नुस् भन्दा, यो फुच्चेले किनबाठो हुनु देशको ठूलो मान्छे मै छु भन्या जस्तो पनि लाग्थ्यो । मैले अभिनय गरेको हो भन्ने नै मैले भुल्थे र निर्देशकलाई नै फुच्चे ठान्थे । त्यो चैँपात्र सवार हुँदाखेरीको नतिजा हो । अनि डायलग पनि माथि नै परे हुन्थ्यो भन्या जस्तो हुने रहेछ ।















प्रतिक्रिया