काठमाडौं, २२ माघ । काठमाडौंको चोक–चोकमा कपडाको पोको बोकेर ८५ वर्षअघि घुमुवा व्यापार गर्ने भुरामल चौधरीले छोरा लुनकरणदासलाई सँगै घुमाउने गर्थे ।
जुद्धशमशेर राणाको शासनकालमा दरबारमा समेत कपडा लगेर बेच्ने भुरामलसँगै लुनकरणदास पनि पछि–पछि लाग्थे ।
सानैमा व्यापारको नसा चढिसकेका लुनकरणदासले बाबुको व्यापारलाई मात्र सम्हालेनन् संस्थागत गरेर आफू संस्थापक अध्यक्ष भएको चौधरी ग्रुपलाई बहुराष्ट्रिय कम्पनी बनाउन जगसमेत हालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफ्नो व्यापारको साम्राज्यलाई अन्तर्राष्ट्रियकरण गराउन योगदान पुर्याउने उनै लुनकरणदास चौधरीले आफ्नो व्यापारको सूत्र छोराहरूलाई छाडेर ९३ वर्षको उमेरमा बिहीबार सदाका लागि आँखा चिम्लिएका छन् ।
एउटै समूहभित्रको ४० उद्योग र त्यही उद्योगको माध्यमबाट विश्वबजारमा चिनिएको चौधरी ग्रुपको प्रमुख श्रेय लुनकरणदासलाई जान्छ ।
कपडा बोकेर बुबाले पसल सुरु गरेको र पछि त्यही कपडा पसललाई वार्षिक पाँच सय भाडा तिरेर अहिलेको विशालबजारको ठीकअगाडि व्यापार सुरु गरेका लुनकरणदासले बाबुको शेषपछि २३ वर्षको उमेरमा व्यापारमा नयाँ सोच बनाएका थिए ।
उनले भुरामल लुनकरणदास पसल र अरुण इम्पेक्सको नामबाट आफ्नो व्यापारलाई नेपालबाहिर जोडेका थिए । विराटनगरमा जुट उद्योग खोलेका चौधरीले विराटनगरबाट नै अमेरिका र युरोपमा जुट निर्यात गर्थे भने जापान र कोरियाबाट फेब्रिक आयात गर्ने गर्थे ।
मारवाडी समुदायमा चौधरी ग्रुपलाई नजिकबाट चिन्ने शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले लुनकरणदासको निधनले व्यापारको एउटा युगको अन्त्य भएको बताए ।
‘फुटकर र संस्थागत व्यापार गरेर त्यही व्यापारलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने एउटा नाम थियो लुनकरणदास चौधरी । उहाँको निधनले व्यापार र उद्योगको एउटा इतिहास सकिएको छ,’ उनले भने, ‘व्यापारलाई उद्योगमा रूपान्तरण गर्ने, निजी क्षेत्रको प्रेरणाको स्रोत र अभिभावक मानिनुभएको उहाँको निधनले निजी क्षेत्र स्तब्ध छ ।’
काठमाडौंको मखन टोलमा १९७९ मा जन्मेका चौधरीले उद्योग र व्यापारमा नयाँ–नयाँ योजना बनाउँदै लगे । ०२१ मा मोडर्न होजियारी उद्योग प्रालि स्थापना गरेर उच्च गुणस्तरको होजियारी सामानको उत्पादन थाले । जसको ब्रान्ड राखे राइनो ।
त्यही राइनोले विदेशी आयातीत फेब्रिकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्यो । त्यही वर्षमा चौधरीले नेपाल स्पिनिङ बेभिङ एन्ड निटिङ उद्योग स्थापना गरे ।
त्यसले विदेशबाट आयातीत ऊनी धागोबाट विभिन्न आधुनिक लत्ताकपडाको उत्पादन गरिन्थ्यो । त्यसको दुई वर्षपछि उनले वीरगन्जमा रत्न स्टेनलेस स्टिल उद्योग स्थापना गरे, जसले विभिन्न आधुनिक भाँडाहरू उत्पादन थालेको थियो ।
उनले पशुपति बिस्कुटको पनि स्थापना गरेका थिए । उद्योग चलाउनुअघि र व्यापारपछिको लुनकरणदासको अर्को कर्म थपिएको थियो– निर्माण व्यवसाय ।
उनले ०१४ मा काठमाडौं–त्रिशूली सडकमा सब कन्ट्याक्टरका रूपमा काम गरेका थिए । त्यस्तै उनले युनाइटेड बिल्डर्स नामको निर्माण कम्पनीसमेत स्थापना गरेका थिए ।















प्रतिक्रिया