७ कार्तिक २०८३, शनिबार

द रिभर ओभरसिजमा निगरानी, दर्जन युवा विचल्ली, मेनपावरको आडमा मानव तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The River Oversisकाठमाडौं, २१ माघ । बैधभन्दा अबैध तरिकाबाट बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको ‘द रिभर ओभरसिज’ ले कतारमा एक दर्जन युवालाई बिचल्ली बनाएको छ ।

बैदेशिक रोजगारको लागि गत महिना द रिभरबाट कतार पुगेका युवाका आफ्न्तले महानगरिय अपराध महाशाखा टेकुमा उद्दार गरी पाँउ भन्दै निबेदन दिएपछि यो कुरा बाहिर आएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

महाशाखाले द रिभरका सञ्चालक रघु पुरीलाई सोधपुछका लागि बोलाएको भएपनि उनी भने शक्ति केन्द्रबाट महाशाखाका प्रहरीलाई दबाब दिन थालेको छन् ।

बिभिन्न जिल्लामा अनुमति बिना नै शाखा कार्यालय बिस्तार गरेर पुरीले मेनपावरको आडमा मानब तस्करी गर्दै आएका छन् । मुख्य कार्यालय राजधानीको बत्तिसपुतलीमा रहेपनि ओभरसिजका सञ्चालक पुरीले आफ्नो शक्तिको आँडमा अबैध शाखा बिस्तार गरेका हुन ।

स्रोतका अनुसार पोखरा, भैरहवा, बुटवल, बिराटनगर, महेन्द्रनगर, चितवनलगायतका ठूला व्यापारिक शहरमा पुरीले दर्ता नै नगरी मेनपावरको काम सञ्चालन गरिरहेका छन् ।

केही महिनाअघि गैरकानुनी रुपमा मेनपावर चलाएको गोप्य सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोलीले बुटवलका आधा दर्जन मेनपावरमाथि छापा मारेको थियो । त्यसबेला पुरीको अबैध मेनपावरमा पनि छापा मारिएको थियो ।

टोलीले ६ वटा मेनपावरमा छापा मार्दा पुरीको द रिभर ओभरसिज सहित तीन वटा गैरकानुनी रुपमा सञ्चालन भएको पत्ता लगाएको थियो ।

राजधानीबाट गएको विभागको टोलीसँगै ईलाका प्रहरी कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि पनि थिए । सयुक्त टोलीले बुटवलमा सञ्चालित आधा दर्जन मेनपावरमाथि छापा मार्दा अवैध मेनपावरका धन्दा बाहिर आएको हो ।

छापा मार्ने क्रममा टोलीले दर्ता विना सञ्चालनमा रहेका मेनपावरका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

तर, मेनपावरका मुख्य सञ्चालकलाई भने टोेलीले ठूलै डिल गरेर छाड्यो । तत्काल द रिभर ओभरसिजका शेरबहादुर राना, सन्तबहादुर मगर, ओशो रिक्यूटिङ एजेन्सीका मिनबहादुर विक, माभिरा ओभरसिजका हरिप्रसाद न्यौपानेलाई पक्राउ गरे पनि तीनका अध्यक्षलाई भने ठूलै रकमको चलखेलपछि चोख्याइएको थियो ।

छापा मारिएको मेनपावर कम्पनी द रिभर ओभरसिजबाट रुपन्देही केरवानी उच्च माविको चारित्रिक प्रमाणपत्र २५ थान, विद्यालयको छाप, प्रधानाध्यापकको छाप र पाटन बहुमुखी क्याम्पसको छाप समेत प्रहरीले बरामद गरेको थियो ।

सो काण्डलाई प्रहरीले सार्वजनिक गरेपछि मुख्य सञ्चालक तथा अध्यक्ष पुरीलाई जोगाइएको रहस्य उजागार भएको हो । अबैध मेनपावरलाई बन्द गर्ने उद्देश्यले नभई टोलीले पैसा फिट्ने उद्देश्यले छापा मारेको हुँदा सोही अनुसार कारबाही नगरी छाडेको थियो ।

त्यस्तै माभिरा ओभरसिजले बाहिर टुर्स एण्ड ट्राभल्सको बोर्ड राखेर भित्रबाट बैदेशिक रोजगार एजेन्सीको काम गर्दै आएको छापा मारेपछि खुलेको थियो ।

द रिभर ओभरसिजका रघु पुरीलाई बचाउन बिभागबाट खटिएको टोलीले २५ लाखको चलखेल गरेको स्रोतको दावी छ । उता तत्काल अबैध भन्दै बिभागको टोलीेले छापा मारेका मेनपावरहरु पुनः सञ्चालनमा आएका छन् ।

पुरीको मेनपावर पनि बुटवलमा सञ्चालनमा आएको छ भने उनले पुनःअबैध शाखा अन्य जिल्लामा समेत विस्तार गर्न थालेका छन् ।

नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने शिखर ओभरसिजका सञ्चालक सुनिल रायमाझिसँग पनि उनको नाम जोडिँदै आएको छ । गत बर्ष नक्कली आईसी काण्डमा मुछिएपछि फरार रायमाझिलाई पुरीले भगाएको तत्कालिन समयमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएका थिए ।

पुरीलाई नेपाल प्रहरीका केही भ्रष्ट प्रहरीले संरक्षण दिएका कारण उनले अबैध धन्दा गरे पनि पटक–पटक बच्दै आएका छन् ।

पुरीले आफ्नो ओभरसिजको ११ औं बार्षिकोत्सव दरबारमार्गस्थित होटल अन्नपूर्णमा गत महिना मनाएका थिए । बार्षिकोत्सवमा तत्कालिन कृषिमन्त्री हरि पराजुली, पर्यटन मन्त्री दीपक अमात्य, विभिन्न राजनीतिक पार्टीका नेताहरुको समेत उपस्थिति थियो ।

उनीसँग अबैध हतियार समेत रहेका स्रोत बताउँछ । अबैध धन्दाबाट पुरीले दश बर्षको अबधिमा पचास करोड भन्दा बढी कालो धन थोपर्न सफल भएका छन् ।