काठमाडौं, २० माघ । शरीरमा छाला र टाउकोमा रौँ नभएका बागलुङ भीरगिठे–५ का ११ वर्षीय रमेश दर्जीको काठमाडौं मेडिकल कलेजमा उपचार सुरु भएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण परिवारले छोराको उपचार गर्न नसकेको समाचार गत ५ माघमा नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको थियो ।
त्यसपछि देश विदेशका समाजसेवी र काठमाडौंका विभिन्न अस्पतालले रमेशको उपचारमा चासो देखाएका थिए । काठमाडौं मेडिकल कलेजले उनलाई निःशुल्क उपचार गराउन बाग्लुङबाट ल्याएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उपचार सफल हुनेमा अस्पताल आशावादी
आइतबार अस्पताल भर्ना गरिएका रमेशको प्रारम्भिक उपचार सुरु भएको कलेजकी प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीले बताइन् । ‘हामीले प्रारम्भिक परीक्षण गरी भर्ना गरेका छौँ,’ उनले भनिन्, ‘थप परीक्षण गरी उपचार अघि बढाउँछौँ, उपचार सफल हुन्छ भन्नेमा आशावादी छौँ ।’
रमेशको उपचार अस्पतालकी छालारोग विशेषज्ञ डा. सविना भट्टराईको नेतृत्वमा भइरहेको छ। चिकित्सकले प्रारम्भिक चरणमा छालाबाहिर टाँसिएको पदार्थलाई निकाल्ने औषधि लगाउन सुरु गरिसकेका छन् ।
त्यसको असर पनि देखिन थालेको बाबु नन्दबहादुर दर्जीले बताए । प्रारम्भिक चरणमा बाहिर टाँसिएर रहेको फोहोरलाई सफा गरेपछि थप उपचार हुनेछ । फोहोर सफा गर्न प्रयोग गरेको औषधिले काम गर्न थालेको उनको भनाइ छ ।
उनका अनुसार औषधि लगाउन थालेपछि रमेशको अनुहारमा रहेको १० प्रतिशत फोहोर झरेर अनुहारको छाला देखिन थालेको छ । ‘दुई दिनमै अनुहारको फोहोर निस्कन थालेको छ,’ उनले खुसी हुँदै भने, ‘अब भने छोराको उपचार होला भन्ने आशा पलाएको छ ।’
उपचारमा संलग्न चिकित्सकहरूले पनि रमेशको उपचार सम्भव भएको बताएपछि दर्जी खुसी छन् ।
रमेश पहिले स्कुल जान्थे, अहिले सक्दैनन्
२०६१ सालमा जन्मेका रमेश हिँड्डुल गर्न र बोल्न सक्दैनन्, तर हेर्न र सुन्न भने सक्छन् ।
चिनेको मान्छेले बोलायो भने मात्र प्रतिक्रिया दिने गरेको बाबु नन्दबहादुर बताउँछन् । बागलुङ र बुटवलमा उपचार गराउन लैजाँदा शल्यक्रिया गरी छाला फेर्न चिकित्सकले दर्जी परिवारलाई सुझाब दिएका थिए ।
शल्यक्रिया गरी छाला फेर्नुपर्ने र त्यसका लागि ५–६ लाख रुपैयाँ लाग्ने बताएपछि दर्जी परिवार कतैबाट सहयोग पाइन्छ कि भन्ने आशामा बसेको थियो । रमेश सुरुमा आफैँ हिँड्थे । चार वर्षको हुँदा केही दिन स्कुल पढ्न पनि गए । तर, उमेर बढ्दै जाँदा न उनी स्कुल जान सके, न वरपर हिँड्डुल नै गर्न सक्छन् ।















प्रतिक्रिया